आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु कामदारको सहयोगमा नेपालीको समूहद्वारा भारतमा लुटपाट

बिहीबार, ११ माघ २०८०, १४ : ३९
बिहीबार, ११ माघ २०८०

भारत । पाँच जना नेपालीको एक समूहले भारतको केरलास्थित एक घरमा नगद र गहना लुटपाट गरेको छ । भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार हरिहरपुरममा घरको मालिकलाई बेहोस पार्ने खाना खुवाएर मंगलबार राति उनीहरूले लुटपाट गरेका हुन् ।

श्रीदेवी अम्मा नाम गरेकी महिलाको घरबाट उनीहरूले ३० हजार भारतीय रुपैयाँ नगद र हाल परीणाम नखुलेको सुनका गहना चोरी गरेको बताइएको छ । भाग्ने क्रममा दुई जना शङ्कास्पदलाई भने स्थानीयले पक्राउ गरेर प्रहरी कहाँ बुझाएका छन् । 

ऐरुर प्रहरीले पक्राउ पर्नेमा ४२ वर्षीय जनक साह र ४८ वर्षीय राम कुमार रहेको बताएको छ । यद्यपि उनीहरूसँग कुनै दस्ताबेज नभएकाले प्रहरीले उनीहरूको नाम पुष्टि गर्न बाँकी रहेको बताएका छन् ।

प्रहरीका अनुसार श्रीदेवीको घरमा काम गर्ने नेपाली महिलाको सहयोगमा सो लुटपाटको योजना बनाइएको थियो । प्रहरीले काम गर्ने महिलाको नाम पनि पुष्टि गर्न सकेको छैन । 

उनी १५ दिनअघि मात्र श्रीदेवीको घरमा काम गर्न आएकी थिइन् । हाल फरार रहेका व्यक्तिले नै उनलाई काममा पठाएर लुटपाटको योजना बनाएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

लुटपाटको समयमा घरमा श्रीदेवीसहित उनकी बुहारी दीपा र नर्स सिन्धु रहेका थिए । हाल बैंग्लुरुमा कार्यरत श्रीदेवीका छोराले घरमा फोन गरेपछि घटनाबारे खुलासा भएको थियो । कसैले फोन उठाएपछि उनले खतरा महसुस गर्दै छिमेकीलाई खबर गरेका थिए ।

राति करिब ११ बजे ती छिमेकी श्रीदेवीको घर पुग्दा केही व्यक्तिहरू घरबाट भाग्दै गरेको देखेका थिए । लगत्तै उनले अन्य छिमेकीलाई सहयोग मागेर दुई जनालाई पक्राउ गर्न सफल भएका थिए ।

घरमा श्रीदेवीसहित अन्य दुई जना बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई अस्पताल पुर्‍याइएको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप