बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सांसद विनोद चौधरीको पहलमा बर्दघाटमा नमुना औद्योगिक ग्राम शिलान्यास

शुक्रबार, १२ माघ २०८०, १९ : ४७
शुक्रबार, १२ माघ २०८०

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमुना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्का लगायतका गृहकार्यपछि शुक्रबार उक्त औद्योगिक ग्रामको शिलान्यास भएको छ ।

चालू आर्थिक वर्षमा उक्त ग्रामका लागि बजेट विनियोजनसँगै स्थानीय तहमा तयारी समेत अगाडि बढेपछि नवलपरासीका लागि यो महत्त्वपूर्ण परियोजनाका रुपमा अगाडि बढेको छ । सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमुना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । आफू निर्वाचित भएको एक वर्षमै उनले उक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याएका छन् । 

नमुना औद्योगिक ग्राम नवलपरासी जिल्लाकै एकीकृत सुविधा उपलब्ध हुने नमुना औद्योगिक ग्रामका रुपमा स्थापना गर्न लागिएको छ । यस ग्राममा स्थानीय युवाका सृजनशील उद्यमशीलता र स्थानीय कच्चा पदार्थमा आधारित सिपलाई उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग(एसएमई) भिलेजका रुपमा पनि चिनिनेछ । बर्दघाट नगरपालिका वडा नं ५, खजुरा खोला क्षेत्रमा करिव १८ विगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हँुदैछ । यस परियोजनाका लागि १७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यो परियोजना बहुबर्षिय परियोजनाका रुपमा आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

उक्त परियोजनाको एक समारोहबिच शुक्रबार शिलान्यास गरिएको छ  । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् । 

उक्त अवसरमा बोल्दै मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमुना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफूले पहल गर्ने पनि मन्त्री रिजालले बताए । 

शिलान्यास कार्यक्रममा बोल्दै सांसद चौधरीले आफूले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिवद्धताहरूलाई एक एक गरी पूरा गर्ने सिलसिलामा नमुना औद्योगिक ग्राम सोही प्रतिबद्धता कार्यान्वयनको अर्को महत्त्वपूर्ण चरण भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप