सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारिता सही मार्गमा हिँडे समाज र देशलाई सही दिशानिर्देश गर्छ : उपप्रधानमन्त्री खड्का

पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ विमोचित
शनिबार, १३ माघ २०८०, १५ : १२
शनिबार, १३ माघ २०८०

काठमाडौँ । पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तक सार्वजनिक गरिएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पु्रस्तक विमोचन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता सही मार्गमा हिँडे मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने बताएका छन् । 

‘हरेक क्षेत्रजस्तै पत्रकारिता क्षेत्रका पनि आप्mनै मूल्य–मान्यता, सिद्धान्त र आदर्श रहिआएका छन्, जसलाई सही रुपमा व्यवहारमा कार्यान्वयन गर्नु पर्दछ,’ उनले भने, ‘तर बेलाबखत अपवादका रुपमा पत्रकारितामा केही कमजोरी र त्रुटिहरू देखिने गर्दछन् । जो हामी सबैले देख्दै, भोग्दै र महसुस गर्दै आएका छौं ।’ 

सञ्चार क्षेत्रले सत्य–तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रदान गर्ने आप्mनो मूलधर्मबाट विचलित हुन नहुने उनको भनाई थियो ।

खड्काले कोभिड–१९ को विश्वव्यापी महामारीपछि नेपाली सञ्चार क्षेत्र पनि आर्थिक रुपमा निकै ठूलो संकटमा रहेकोले संकटबाट सञ्चार क्षेत्रलाई कसरी माथि उठाउने भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताए । लोकतन्त्रको सारथिको रुपमा रहेको सञ्चार जगतलाई विशेष महत्त्व दिँदै सरकारले नीति, कार्यक्रम र योजना तय गर्ने उनले बताए ।

पुस्तक २०७२ सालमा कर्णाली प्रदेश सीमांकनसँग जोड्रिएको आन्दोलन र पत्रकारितासँग सम्बन्धित छ । खड्काले २०७२ साउन अन्तिम साता प्रदेशको सीमांकन हुँदा प्रमुख राजनीतिक दलहरूबिच सुर्खेतलाई राजधानी बनाउने विषयमा कुनै विवाद नरहेको स्मरण गरे ।

‘सुर्खेतलाई राजधानी बन्नु हुँदैन भन्नेमा कोही पनि थिएनन्,’ उनले भने, ‘तैपनि आन्दोलन भयो, ठूलो क्षति भयो ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ पत्रकार किशोर नेपाल, महासंघका पूर्वअध्यक्षहरु सुरेश आचार्य, धर्मेन्द्र झा र महेन्द्र बिष्टलगायतले पुस्तकाकारे धारणा राखेका थिएँ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका सेजुवालद्वारा लिखित पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो । पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड रहेका छन् । ‘आधारभूत सिद्धान्तमै खेलाँची’ शीर्षकको ‘सन्दर्भ’ खण्डमा नेपालको मात्र होइन, विश्वकै पत्रकारिताले बेलाबखत आप्mनो आधारभूत सिद्धान्तमा खेलबाड गर्ने गरेको उल्लेख छ । अन्तर्राष्ट्रिय पत्रकारिताका चर्चित कमजोरी यस खण्डमा रहेका छन् । यसका साथै नेपालको पत्रकारितालाई ऐतिहासिक कालखण्डमा पक्षधरता र पूर्वाग्रहले कसरी गाँजेको थियो भन्नेबारे लेखिएको छ । अनि प्रमुख अखबारका मुख–पृष्ठ (फ्रन्ट पेज) मा प्रकाशित गलत समाचारका केही दृष्टान्त पनि उल्लेख गरिएका छन् ।

‘देशको सीमांकन बदल्ने आन्दोलन’ शीर्षकको ‘उपकथा’ खण्डमा २०७२ साउन २२ देखि भदौ ४ (१५ दिन) सम्म सुर्खेतलाई केन्द्र बनाएर चलेको सीमांकन आन्दोलनले देशको प्रस्तावित ६ प्रदेशको सीमांकनलाई बदलेर ७ प्रदेश बनाएको उल्लेख छ । आन्दोलनको उठान, त्यसको प्रभाव र परिणामबारे यस खण्डमा लेखिएको छ ।

पुस्तकको ‘मूलकथा’ खण्डमा (सीमांकन) ‘आन्दोलनको कसीमा मिडिया’ लाई राखिएको छ । सीमांकन आन्दोलनमा खास गरी सुर्खेती मिडियाको भूमिका कस्तो रह्यो भन्नेबारे यस खण्डमा उल्लेख गरिएको छ । स्थानीय पत्रिकाका पहिलो पृष्ठ (फ्रन्ट पेज) कति असन्तुलित, अधिक पक्षधर र पूर्वाग्रही थिए भन्नेबारे १५ दिनकै समाचार अध्ययन गरी विश्लेषणात्मक रुपमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप