आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

ईपीएस भाषा परीक्षाका लागि डेढ दशकमा साढे ७ लाख नेपालीको आवेदन

१ लाख १० हजारभन्दा बढी पुगे कोरिया
आइतबार, १४ माघ २०८०, २० : ३८
आइतबार, १४ माघ २०८०

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ । 

पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्दै आएको छ । त्यसका लागि नेपालमा भाषा परीक्षाको कक्षा सिक्छन् । भाषा परीक्षा सिकेर भाषा परीक्षा दिएर पास भएको खण्डमा नेपालीहरू कोरियामा रोजगारीका लागि जान पाउँछन् । 

यो क्रम विगत १६ वर्षदेखि निरन्तर चलिरहेको छ । कोरोना महामारीको समयमा रोकिएको थियो । त्यो बाहेक भने हरेक वर्ष कोरियाले नेपालसहित विभिन्न १६ देशबाट श्रमिकहरू लगिरहेको छ । नेपालबाट हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया पुगिसकेको ईपीएस कोरिया शाखाको तथ्यांक छ । हाल ४५ हजारको हाराहारीमा नेपालीहरू कोरियामा कार्यरत छन् । 

कोरियन भाषा परीक्षाका लागि सन् २००८ देखि सन् २०२३ सम्मको तथ्यांक हेर्दा ७ लाख ९९ हजार १६७ जनाले आवेदन दिएका छन् । जसमा ५ लाख ८५ हजार ९८९ जनाले परीक्षा दिएका छन् । आवेदन दिएका ७ लाख ९९ हजार १६७ मध्ये १ लाख ६४ हजार ७१६ जनाले हालै मात्रै आवेदन फारम भरेका हुन् । उनीहरूको परीक्षा मिति यकिन भइसकेको छैन । 

तीमध्ये ९६ हजार २२१ जना पास भएका छन् । त्यसमध्ये ८५ हजार ९३६ जनाले कोरियामा काम गर्न जानका लागि भन्दै जब एप्लिकेशन फर्म भरेका छन् । ईपीएस कोरिया शाखाको तथ्यांक अनुसार हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया पुगेर काम गरिसकेका छन् । 

केही समय अगाडिको रेकर्डमा १ लाख १ हजार २६८ जना कोरियामा पुगेको देखिएको हो । तर, हालसम्म १ लाख १० हजारभन्दा बढी कोरिया पुगिसकेका छन् । उनीहरूको विवरण अद्यावधिक गर्न बाँकी छ । 

eppp

ईपीएस कोरिया शाखाका अधिकृत कमल श्रेष्ठका अनुसार भाषा परीक्षाका लागि आवेदन दिँदा २८ अमेरिकी डलर आवेदन शुल्क तिर्नुपर्छ । त्यो हाल खल्ती मार्फत अनलाइन पेमेन्ट गर्नुपर्छ । 

त्यो पैसा ईपीएस कोरिया शाखाले सिधै कामदार छनोट गर्ने कोरियाको सरकारी निकाय एचआरडी कोरियालाई पठाउँछ । र परीक्षा सम्पन्न भएपछि एचआरडीले ८ डलर ईपीएस कोरिया शाखालाई फिर्ता पठाउँछ । 

हालसम्म वैदेशिक रोजगारीका लागि कोरिया जान आवेदन दिएका ७ लाख ९९ हजार जनाले २ करोड २३ लाखभन्दा बढी अमेरिकी डलर विदेश पठाएका छन् । त्योमध्ये ६३ लाख ९३ हजार डलर एचआरडीले नेपाललाई फिर्ता पठाएको छ ।

एचआरडीले नेपाललाई फिर्ता गर्ने रकम ईपीएस शाखा कार्यालयको कोषमा जम्मा हुने गरेको छ । कार्यालयले आफ्नो सञ्चालन खर्च त्यही पैसाबाट बेहोर्ने गरेको छ ।  हालसम्म कोषमा २५ करोडको हाराहारीमा रकम जम्मा भएको ईपीएसले जनाएको छ ।  

कोरिया जाँदा झण्डै २ लाख खर्च : 

ईपीएस मार्फत कोरिया जाँदा सरकारी तहबाट पठाइन्छ । सरकारले शून्य लागत तथा न्यूनतम १० हजार रुपैयाँ शुल्क लिएर मात्रै कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने दाबी गर्दै आएको छ । तर, कोरियामा भने सरकारी तरहबाट नै जाँदा पनि झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको छ । 

२८ डलर आवेदन शुल्क, ६३ डलर पूर्व प्रस्थान अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, हवाई टिकट लगायतमा झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको हो । 

श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले कोरियामा पठाउँदा झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको बताए । हाल हवाई भाडा मात्रै ८९५ अमेरिकी डलर तिर्दै आएका छन् । यसअघि १२०० अमेरिकी डलर भाडा तिर्दै आएका थिए । गत २०७९ को माघबाट लागूहुनेगरी भाडा घटाइएको थियो । 

हाल हवाई भाडा, आवेदन शुल्क लगायत गरेर हाल २ लाख रुपैयाँ तिर्दै आएका हुन् । यसका अलावा ईपीएस भाषा पढ्नको लागि नेपालीहरूले दसौँ हजार रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालमै सञ्चालित भाषा कक्षा सेन्टरहरूले प्रति व्यक्ति १० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेका परीक्षार्थीहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप