आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
विमानस्थलमा कुटपिट

प्रहरी–निजामती कर्मचारी कुटाकुट प्रकरणको छिनोफानोमा बिलम्ब, छानबिन समितिको म्याद थप

कर्मचारीहरू कालोपट्टी बाँधेर काम गर्दै
सोमबार, १५ माघ २०८०, १५ : ३४
सोमबार, १५ माघ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको कुटपिट प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । घटना छानबिन गर्न गठित समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरूसँग बयान लिइरहेको छ ।

बयान सकिए लगत्तै घटनाको प्रतिवेदन बुझाउने समितिको तयारी छ । प्रतिवेदनले दिएको तथ्यको आधारमा संलग्न कर्मचारीहरूलाई कारबाही गर्ने मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । 

गत माघ १२ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए । समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप–सचिव कुलबहादुर जिसी सदस्य छन् ।

३ दिनको समय पाएको समितिले घटनामा संलग्नहरूसँग बयान लिने र क्लोज सर्किट (सीसी) क्यामराको फुटेज विश्लेषण गरिरहेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई थप एक दिनको समय दिइएको छ । 

जसअनुसार घटनाको छानबिन प्रतिवेदन समितिले मंगलबार बुझाउनेछ । भट्टराईले रातोपाटीसँग भने–‘आज ३ दिन भयो तर, समय अपुग भएका कारण उहाँहरूले भोलि मात्र प्रतिवेदन बुझाउने भन्नुभएको छ ।’  

गृह मन्त्रालयमा प्रहरी र अध्यागमनका कर्मचारीलाई समितिले बयान लिइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीहरू कालोपट्टी बाँधेर काम गरिरहेका छन् । विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले विरोध स्वरूप ‘कालोपट्टी’ बाँधेर काम गरिरहेको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले रातोपाटीलाई बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तान र चेकजाँच गर्ने प्रहरीबिच विवाद हुँदा शुक्रबार प्रहरीले उनलाई कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरू भने छायालालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रञ्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।

उनीहरू बिच विवाद भएसँगै पुगेका प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङको समूहले मोक्तानलाई निर्घात कुटपिट गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा देखिन्छ ।

त्यसपछि सीसीटिभी रुममा प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमालसँग गएका कर्मचारीले सई प्रकाश चौधरीलाई कुटपिट गरेको प्रहरीका अधिकृतहरू बताउँछन् । छायालाल अराइभलबाट डिपार्चरतिर जाँदा सो घटना भएको हो । मेटल डिटेक्टर भएको स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरू बिच विवाद भएको थियो ।

भिजिट भिसा प्रकरणमा ‘घुस’ लिएको आरोपमा १८ मङ्सिरमा अध्यागमन अधिकृत नरवीर खड्कालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेपछि प्रहरी र अध्यागमनका कर्मचारीको बिचमा दरार आएको जानकारहरू बताउँछन् । प्रहरीको अनुसन्धानमा भिजिट भिसामा सेटिङ मिलाएर विदेश पठाउनेमा ताराबहादुर कुँवरसहित थप अधिकृतहरू संलग्न देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप