सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मिस वर्ल्ड

‘मिस वर्ल्ड’ उपाधि जित्छु भन्ने विश्वास छ : प्रियंकारानी जोशी

बुधबार, १७ माघ २०८०, ०९ : ००
बुधबार, १७ माघ २०८०

काठमाडौँ । ७१ औँ ‘मिस वर्ल्ड’ प्रतियोगिता फेब्रुअरी १८ देखि मार्च ९ सम्म भारतमा आयोजना हुँदैछ । दिल्लीस्थित जी–२० सम्मेलनको आयोजनास्थल भारतमण्डपमा उद्घाटन हुने प्रतियोगितामा विश्वका सुन्दरीहरूको जमघट हुनेछ ।

दिल्लीमा आठ दिन र त्यसपछि मुम्बईस्थित रिलायन्स जिया कन्भेन्सन सेन्टरमा फाइनल ‘इभेन्ट’ हुने प्रतियोगितामा नेपालबाट मिस नेपाल वर्ल्ड–२०२२ प्रियंकारानी जोशीले प्रतिनिधित्व गर्दैछिन् । उनी नेपालको एक्लो सहभागी हुन् । यसअघिका सहभागीले भन्दा जोशीले तयारीका लागि केही लामो समय पाएका कारण पनि यो पटक विगतको तुलनामा फरक नतिजा आउने अपेक्षा गरिएको छ ।

७१ औँ मिस वर्ल्डका लागि भइरहेको तयारी र लक्ष्यका विषयमा प्रियंकारानी जोशीसँग रातोपाटी संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, मिस नेपाल वर्ल्ड–२०२२ प्रियंकारानी जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • ‘मिस वर्ल्ड’ आयोजनाको मिति नजिकिँदै गर्दा सहभागीको रूपमा कति उत्साहित हुनुहुन्छ ?

– म त एकदमै उत्साहित छु । यो मेरो दुई वर्षदेखिको पर्खाइ हो । मैले मिस वर्ल्डको सपना भने १५÷१६ वर्ष अगाडि देखेको थिएँ । आफ्नो एउटा सपनाले आकार लिँदै गर्दा नर्भस पनि भइँदो रहेछ, साथै धेरै उत्साहित छु ।

  • सानैदेखिको सपना भएपछि तयारी पनि राम्रो गर्नुभयो होला नि ?

–म २०२२ को मिस नेपाल हो । त्यो समयदेखि अहिलेसम्म मिस वर्ल्डकै तयारीमा खर्चिएँ । मिस वर्ल्ड जस्तो प्लेटफर्ममा देशको प्रतिनिधित्व कसरी गर्ने भनेर पहिलादेखिको सहभागी हेर्दै आउँदा त्यहाँ जानु र आउनुभन्दा पनि उपलब्धि हासिल गर्नु ठुलो कुरा भयो । त्यसैले कसरी आफू अगाडि बढ्नुपर्छ भन्दा मैले ५ विधा पाएँ । ती ५ विधामा अब्बल गर्न सकियो भने उपाधि हासिल गर्न सकिने रहेछ । त्यसमा पहिलो कन्टिनेन्टल ब्युटी विथ पर्पस हो । यसमा विगतमा पनि नेपाल अब्बल रहँदै आएको छ । त्यसैले यसका लागि यो पटक एउटा बत्तीको प्रोजेक्ट गरेर आयआर्जन समेत सिकाएको छु । अर्काे टप मोडल, जसका लागि धेरै अभ्यास गरेकी छु । तेस्रो स्पोर्ट्स च्यालेन्ज हो । यसका लागि जिम जाने, एक्सरसाइज गर्ने, डाइटिङ गर्ने लगायतबाट आफूलाई फिट राखिरहेकी छु । चौथो मल्टीमिडिया च्यालेन्ज हो । यसका लागि पनि मोबस्टार एपबाट भोट हुन्छ । त्यो भोटको आधारमा अगाडि बढ्न सकिन्छ । त्यसको प्रचार गरेकी छु । पाँचौँ ‘हेड टु हेड’ च्यालेन्ज हो । यसका लागि ‘जी– ट्वान्टी’ समिटको कुर्सीमा नेपालाई कसरी फिट ल्याउन सकिन्छ भन्ने विषयमा मेरो तयारी छ ।

  • यसअघिका सहभागीको तुलनामा मिस वर्ल्डका लागि तपाईंले लामो प्रतीक्षा गर्नुपर्‍यो । यसले अप्ठ्यारो भयो कि सहज ?

– त्यो त हो । पहिला त केही नराम्रो लागेको थियो । किनभने एक वर्षमा सकिने प्रतियोगिताका लागि २ वर्ष खर्च गर्नुपर्‍यो भनेर । अध्ययन र अन्य काममा अप्ठ्यारो पर्छ कि जस्तो लागेको थियो । फेरि नेपालको प्रतिनिधित्व गर्ने कुरा हो, यसमा थप समय मिल्नु भनेको तयारी गर्ने पर्याप्त समय प्राप्त हुनु हो । यो राम्रो उपलब्धि हासिल गर्ने अवसर पनि हो भनेर ठानेँ ।

मैले अहिले तयारी गरेको कन्टिनेन्टल ब्युटी विथ पर्पस पहिलेको जस्तो थोरै समय पाएको भए अहिलेजस्तो राम्रो हुँदैन थियो । समय पाएका कारण आय आर्जनको बाटो देखाउन समेत सफल भएँ । समय लामो भएकोमा दुःखी छैन । तयारी राम्रो गर्न पाएँ, खुसी छु ।

  • त्यसो भए यो पटक ‘मिस वर्ल्ड’को उपाधि नेपाल भित्रिने आश गर्न सकिन्छ ?

– म जित्छु नै भनेर सहभागी हुन लागेकी हो । मेरो कोसिस शत प्रतिशत उपाधि दिलाउने रहन्छ । प्रतियोगिता हो । अहिले नै यसै भन्न सकिन्नँ । बेस्ट दिन्छु र उपाधि जित्छु भन्ने आत्मविश्वास मभित्र छ ।

  • प्रतियोगितामा भाग लिँदै गर्दा प्रेसर फिल भएको छ कि ?

– मेरो सबैभन्दा ठुलो च्यालेन्ज र प्रेसर भनेको विगतका उपलब्धि हो । हाम्रो देशले पहिलो पटक सहभागी हुँदै गरेको भए मलाई कुनै प्रेसर हुँदैन थियो । यसअघिका सहभागीले विभिन्न उपलब्धि हासिल गरेका छन् । त्यो उपलब्धि जोगाउँदै पहिलेको भन्दा राम्रो गर्नुपर्ने चुनौती छ । त्यसैले मैले धेरै प्रेसर महसुस गरेकी छु ।

priyanka rani joshi 2

  • विगतका कमी कमजोरीतिर नियाल्नु भयो ?

–यसअघिका सहभागीले यो प्लेटफर्ममा नराम्रो गरेका छैनन् । मैले भनेको ५ विधामा ३/४ वटामा समेत उपलब्धि हासिल गरेको देखिन्छ । तैपनि उत्कृष्ट १० भित्र नपर्दा किन नपरेको हो भन्ने हुँदोरहेछ । प्रतिस्पर्धा हो, कसरी जज हुन्छ, थाहा हुँदैन । तर नेपालबाट उडेर दिल्ली पुगेदेखि नै म बेस्ट दिने कोसिस गर्छु ।

  • देशकै प्रतिनिधित्व गर्न पाउँदाको अनुभव सुनौँ न ?

– मिस नेपाल हुने बित्तिकै मानिसको हामीलाई हेर्ने नजर फेरिन्छ । माया, साथ र हौसला मिल्छ । हामीमा थप जिम्मेवारी आएको भान हुन्छ । मिस नेपालमा त धेरै माया पाइन्छ भने मिस वर्ल्डमा जाँदा कति माया पाउँछु भन्ने म सोच्नै सक्दिनँ । उहाँहरूको मप्रतिको भरोसाले गर्दा ठुलो भारी मैले बोकेको छु भन्ने लाग्छ ।

  • यो त विश्वमा देश चिनाउने एउटा अवसर पनि हो । यसको सदुपयोग कसरी गर्नुहुन्छ ?

– भौगोलिक रूपमा हाम्रो देश सानो भए पनि हाम्रो मन एकदमै ठुलो छ । त्यसैले मेरो नेपाल चिनाउने थिम शान्ति हुनेछ । बाहिरका मानिसले हेर्दा सगरमाथाको देश, बुद्धको देश भनेर हेर्नुहुन्छ होला । तर ठुलो कुरो भनेको हामी पिसफुल छौँ । जति नै दुःख आए पनि सगरमाथाको अगाडि उभिँदा दुःख सानो देखिन्छ । हामी जति नै डिस्टर्ब भए पनि गौतम बुद्धको सिद्धान्त फलो गर्‍यौँ भने शान्ति मिल्छ । यो भाव बुझाउन सकियो भने नेपाल सफल हुने देख्छु ।

  • विभिन्न देशका सहभागीहरूका लागि पनि छुट्टै केही छ कि ?

–जति देशबाट सहभागी हुन्छन्, ती सबैलाई नेपालको बारेमा बुझाएर भ्रमणको निम्तोसहित नेपालको सौन्दर्य, कल्चर र हेरिटेजको प्रचार गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप