शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
रुग्ण उद्योग

विराटनगर जुटमिल चलाउन तत्काल ३० करोडभन्दा बढी लगानी आवश्यक

बुधबार, १७ माघ २०८०, १० : १३
बुधबार, १७ माघ २०८०

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउने बताएका छन् । त्यसका लागि अध्ययन समितिले प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । तर, वर्षौं अघि बन्द भएको विराटनगर जुटमिलको अवस्था भने दयनीय छ ।

जुट मिल परिसर साँझ पर्नासाथ भुत बङ्गलाजस्तो हुन्छ । जुटमिल क्षेत्र ठुलो जङ्गल जस्तो देखिन थालेको छ । जुटमिलको सुरक्षाका लागि लगाइएका पर्खाल भत्किएका छन् । लागु औषध प्रयोगकर्ता र चोरी चकारी गर्नेहरुको ओहोरदोहोर यस क्षेत्रमा चलिरहन्छ ।

मिलभित्रका मेसिनरी पार्टपुर्जा चोरी भइरहने गरेको त्यहाँ खटिएका सुरक्षा गार्डहरु नै बताउँछन् ।

जुटमिलका पूर्व सञ्चालक समिति सदस्य नविन कार्कीले सरकारले तत्कालका लागि चाहिने रकम लगानी गर्ने हो भने मिल सञ्चालन हुन सक्ने अवस्थामै रहेको बताए । ‘मिल चल्न सक्छ । तर, तत्कालका लागि ३० करोडभन्दा बढी लगानी गर्नुपर्छ,’ उनले भने ।

Biratnagar Jutmill (2)

सरकार साँच्चै विराटनगर जुटमिल चलाउन चाहन्छ कि यो एउटा राजनीतिक स्टन्टमात्रै हो भन्नेबारे अहिले बहस भइरहेको छ । सरोकारवालाहरूका अनुसार विराटनगर जुटमिल चलाउनु भनेको सरकारका लागि फलामको चिउरा चपाउनुसरह हो । ‘भित्र गइसक्नु छैन । मिल चल्छ जस्तो पनि लाग्दैन’, पूर्व कर्मचारी तारानाथ तिम्सिना भन्छन्, ‘जुटमिलको ५ अर्ब रुपैयाँ भन्दा बढीको सम्पत्ति हडप्ने षड्यन्त्र मात्रै भइरहेको छ ।’

यता, जुटमिलका पूर्व अध्यक्ष बसन्त वन भने सरकारले जुटमिल चलाउन बजेट दिनु नपर्ने तर सहजीकरण गरिदिए चल्ने बताउँछन् । ‘२० देखि २५ टनको उत्पादन गर्न सक्छ । मेसिनहरू सामान्य मर्मत गरेर चलाउँदा नै भइहाल्छ । व्यावसायिक हिसाबले एकदमै राम्रो छ,’ वन भन्छन्, ‘व्यावसायिक हिसाबले चलाउने हो भने विभिन्न विकल्प छन् । स्ट्राटेजिक पार्टनर खोजेर चलाउँदा पनि भयो । आफैँले लोनको व्यवस्था गरेर चलाए पनि भयो । सरकारले बजेट राखेर चलाउनै पर्दैन ।’

विराटनगर जुटमिल सञ्चालन आफैँमा कष्टकर छ । त्यसको भौतिक संरचना पनि नष्ट भइसकेको छ । उद्योगको बिल्डिङ पनि छैन । सामानहरू पनि छैन । सिल्भरले बनेका, कपरले बनेका महत्त्वपूर्ण मेसिन सबै चोरी भइसकेका छन् । त्यहाँ ठूलो संरचनामात्रै बाहिरबाट देखिन्छ ।

Biratnagar Jutmill (4)

विगतमा भएका प्रयासहरू

तत्कालीन वाम गठबन्धनबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका मातृका प्रसाद यादवले २०७५ वैशाख २२ गते विराटनगर जुटमिल भ्रमण गर्दै तत्काल उद्योग सञ्चालन गर्ने बताए ।

तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले पनि जुटमिल सञ्चालन गर्ने बताएका थिए । तर, उनको पालामा नियुक्त भएका जुटमिलका अध्यक्ष निलहरि काफ्ले विवादित बन्दै बाहिरिनु परेको थियो ।

त्यसको ६ महिनापछि अर्थात् २०७५ असोज ३० गते जुटमिल प्रशासनले मिल सञ्चालन भएको भन्दै केही उत्पादित वस्तु बिक्रीको तयारी भएको प्रचारमा ल्यायो । उक्त सामान उत्पादन हुनुभन्दा १० वर्ष अगाडि नै जुटमिल बन्द भइसकेको थियो । उत्पादन बन्द भएको १० वर्षपछि उत्पादित २४ टन जुटको सुतली बिक्री गर्ने मिलले जनाएको थियो । तर, जुटमिल बन्द भयो । त्यहाँ ल्याइएका कच्चा जुट खेर गयो । सर्भिसिङ गराएर चल्न थालेका मेसिन अहिले बन्द भए ।

Biratnagar Jutmill (9)

फेरि शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला २०७९ साउन १० गते तत्कालीन उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुले जुटमिल चलाउने तयारी भएको बताए र उद्योगको भ्रमण गरे । तर, जुटमिल अहिलेसम्म चलेको छैन । चल्ने सुरसार पनि देखिँदैन ।

४६ बिघा क्षेत्रफलमा फैलिएको विराटनगर जुट मिलको विभिन्न स्थानमा  ६९ बिघा जमिन छ । अहिले दैनिक १० जना सुरक्षा गार्डले जुट मिलको सुरक्षा दिइरहेका छन् । तर, अन्य कर्मचारीले काम छोडेको दुई वर्ष पुग्न लाग्यो ।

काम छोड्नु अगाडिसम्मको ४६ जना कर्मचारी तथा कामदारको ४ करोड १० लाख रुपैयाँ जुटमिलले भुक्तानी दिन बाँकी छ । अहिले जुट मिल सञ्चालक समितिसमेत छैन । विराटनगर जुटमिलको सञ्चालक समितिमा सरकारबाट ३ जना रहने र निजी शेयर धनीका तर्फबाट ४ जना रहने व्यवस्था छ ।

विराटनगर जुट मिल वि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको छैन । पर्याप्त मात्रामा कच्चापदार्थ आपूर्ति, पाटपूर्जाको उपलब्धता र केही प्राविधिक जनशक्ति थप भए दैनिक १५ देखि २० टन उत्पादन सजिलै गर्न सक्ने बताइन्छ । विराटनगर जुटमिलको ५ अर्ब रुपैयाँ सम्पत्ति हडप्ने षड्यन्त्र भएको भन्दै जुटमिल बचाउ अभियान समितिले पटकपटक आन्दोलन पनि गर्दै आएको छ ।

थप तस्विरहरु -

Biratnagar Jutmill (3)Biratnagar Jutmill (5)Biratnagar Jutmill (6)Biratnagar Jutmill (7)Biratnagar Jutmill (8)Biratnagar Jutmill (10)Biratnagar Jutmill (11)Biratnagar Jutmill (12)Biratnagar Jutmill (13)Biratnagar Jutmill (14)Biratnagar Jutmill (15)Biratnagar Jutmill (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप