शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

झापाका तीन स्थानमा बिओपी स्थापना

बुधबार, १७ माघ २०८०, २२ : ३१
बुधबार, १७ माघ २०८०

झापा । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले झापाका तीन स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् ।  आपराधिक गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले स्थापना भएका बिओपीको आज उद्घाटन गरिएको छ ।

 कचनकवल गाउँपालिका–४ डाँगीबारी, गौरीगञ्ज गाउँपालिका–४ अन्तामारी र गौरीगञ्ज–२ लालमाटीस्थित बिओपीको सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गरे । 

बिओपी निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । डाँगीबारी बिओपीका लागि उपेन्द्रप्रसाद आचार्यले सात कठ्ठा, लालमाटीका लागि विनिता नेम्वाङले सात कठ्ठा र आल्तामारीका लागि बबिताकुमारी साहले पाँच कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका गणपति देवराज अर्यालले जानकारी दिए ।

गणपति अर्यालका अनुसार डाँगीबारीमा निर्मित व्यारेक तथा कार्यालय भवन रु ८३ लाख ७२ हजार ७९३ को लागतमा, अल्तामारीको रु ८३ लाख ४४ हजार २५९ र लालमाटीको भवन रु एक करोड ९७ लाख ७५ हजार ६४० लागतमा निर्माण भएको हो ।

बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले हाल देशभरका सीमा क्षेत्रमा दुई सय ५० बिओपी रहेकामा त्यो सङ्ख्या बढाएर पाँच सय पुर्याउने लक्ष्य रहेको बताए । उनले बिओपी निर्माणसँगै जिल्लामा शान्ति सुरक्षा कायम गर्न, सीमा अतिक्रमण रोक्न, अन्तर–सीमा अपराध नियन्त्रण गर्न, सीमास्तम्भको रेखदेख, अवैध निकासी पैठारी नियन्त्रण गर्न सहज हुने बताए ।

झापामा एक सय ४४ किलोमिटर लामो भारतसँगको खुला सीमाना छ । दुई देशबीच नौ सय ९५ सीमा स्तम्भ, चार सीमा सुरक्षा गुल्म र १७ बिओपी छन् । पोखरेलले झापामा १५ बिओपी थप्न प्रस्ताव गरिएको, सीमास्तम्भको अभिलेखीकरण,मर्मतसम्भार,दशगजा अतिक्रमण नियन्त्रणलगायत काम गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप