आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेशसभा

बागमती प्रदेशसभाको ६ वर्ष : ७८ कानुन बने, ४७ मूल ऐन पारित

स्थायी र स्वकीय सचिवालयका कर्मचारीलाई विशेष पोसाक
शुक्रबार, १९ माघ २०८०, ०७ : ००
शुक्रबार, १९ माघ २०८०

मकवानपुर । बागमती प्रदेशसभाको ६ वर्ष अवधिमा ७८ वटा कानुन निर्माण भएको छ । प्रदेशसभाको छैटौँ अवधिमा सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि अपरिहार्य ९९ वटा कानुन मध्ये ७८ वटा कानुन मात्रै बनेको हो ।

सो अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ वटा विधेयक मध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ वटा विधेयक मध्ये ७७ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएको छ भने एउटा विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता भएको छ ।

प्रदेशसभाको ६ वर्षको अवधिमा मूल ऐन ४७ वटा रहेका सचिवालयले जनाएको छ भने ३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका छन् । सो अवधिमा २० वटा संशोधन सहित ऐन पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएका छन् ।

प्रदेशसभाको ६ वर्षको अवधिमा १३ वटा अध्यादेशहरू जारी भएका छन् भने १० वटा मात्र प्रतिस्थापन विधेयक दर्ता भएको सचिवालयले जनाएको छ । प्रतिस्थापनका लागि प्राप्त विधेयक मध्ये ६ वटा अध्यादेशले ऐनको रुप लिएको छ । सो अवधिमा ४ वटा अध्यादेशका प्रतिस्थापन विधेयकहरू फिर्ता भएका छन् भने ३ वटा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका छन् । सो अवधिमा २ वटा कार्यविधि एक नियमावली र एक नियमावली संशोधन पारित भएको छ ।

सचिवालयका अनुसार प्रदेशसभाको ६ वर्षको अवधिमा १६ पटक शून्य समयको कार्यसूची रहेको छ भने ३३ वटा विशेष समय, मुख्यमन्त्रीसंगको प्रश्नोत्तर १५ पटक, मन्त्रीको जवाफ २ पटक, सार्वजनिक महत्वको प्रस्ताव २ र ध्यानाकर्षण तथा सङ्कल्प प्रस्ताव १÷१ वटा पारित भएको छ ।

दोस्रो कार्यकाल: कानुन निर्माणमा सुस्त

प्रदेशसभाको दोस्रो कार्यकालमा पनि कानुन निर्माणमा निकै सुस्त देखिएको छ । प्रदेश सभाको संसदीय समितिले अझै नेतृत्व पाउन नसकेको अवस्थामा कानुन निर्माण प्रक्रिया न्यून रहेको हो ।

दोस्रो कार्यकालका लागि भएको निर्वाचन पश्चात् गत २०७९ पुस १८ मा पहिलो बैठक सञ्चालन भएको प्रदेशसभाको २ वटा अधिवेशनमा ५६ वटा बैठक सञ्चालन भएको छ । सो अवधिमा प्रदेशसभाबाट ८ वटा विधेयक पारित भएको छ भने पारित विधेयक मध्ये ७ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । एउटा विधेयक प्रदेशसभामा पुनर्विचारका लागी फिर्ता आएको छ ।

सो अवधिमा प्रदेशसभाबाट ४ वटा मूल ऐन सम्बन्धी विधेयक र ३ वटा संशोधन विधेयक पारित भएको छ । प्रदेशसभाबाट २ वटा सालवसाली विधेयक पारित भई कार्यान्वयनमा आएका छन् । यस अवधिमा प्रदेशसभामा पेस भएका १२ विधेयक मध्ये ३ वटा संसदीय समितिमा विचाराधीन अवस्थामा रहेको छ भने एउटा सचिवालयमा रहेको छ ।

प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नव प्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न विधेयक, २०८० समितिमा विचाराधीन अवस्थामा छ भने प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने संसद्मा दर्ता भएर रोकिएको छ ।

१८ सांसदको मात्र उपस्थिति

प्रदेशसभाको वार्षिक उत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रदेशका ९ मन्त्री उपस्थित भए भने अधिकांश सांसदहरू अनुपस्थित भएका । ३ मन्त्रीले प्रदेशसभाको वार्षिक उत्सवमा उपस्थित जनाएनन् भने १८ जना मात्र सांसद कार्यक्रममा उपस्थित भए । प्रदेशसभाको ८१ जना सांसद कार्यक्रममा उपस्थित थिएनन् ।

सरकारका वन तथा वातावरण मन्त्री मसिना खड्का, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा र आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले कार्यक्रममा उपस्थित जनाएनन् । प्रदेशसभा सांसद तर्फ कांग्रेस, माओवादी र एमालेका १८ जना सांसद मात्र कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा एकीकृत समाजवादी, राप्रपा, नेमकीपा र हाम्रो नेपाली पार्टीका सांसदको उपस्थिति शून्य थियो । उपस्थित भएका मध्ये बढी मात्रामा कांग्रेस र एमालेका सांसद थिए भने माओवादी केन्द्रका सांसदको सङ्ख्या न्यून थियो ।

स्थायी र स्वकीय सचिवालयका कर्मचारीलाई विशेष पोसाक

वार्षिक उत्सवको अवसरमा प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीहरूलाई विशेष पोसाकको व्यवस्था गरिएको थियो । प्रदेशसभामा कार्यरत स्थायी कर्मचारी र सभामुख तथा उपसभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूलाई विशेष पोसाक सचिवालयले व्यवस्था गरेको हो ।

सचिवालयले स्थायी र सभामुख तथा उपसभामुखको सचिवालयमा कार्यरत पुरुष कर्मचारीहरूका लागि दौरा सुरुवाल र कोटको व्यवस्था गरेको थियो भने महिला कर्मचारीका लागि साडी, ब्लाउज र कोटको व्यवस्था गरिएको थियो । प्रदेशसभा सचिवालयमा कार्यरत करारका कर्मचारीलाई भने पोसाकको व्यवस्था गरिएको थिएन ।

त्यसो त प्रदेशसभामा कार्यरत कर्मचारीको लागि हरेक वर्ष १० हजार रुपैयाँको पोसाक भत्ता समेत व्यवस्था गरिएको हुन्छ । तर, सचिवालयले वार्षिक उत्सवको विशेष अवसरमा सीमित कर्मचारीहरूलाई पोसाकको व्यवस्था गरेको हो । सचिवालयले ती कर्मचारीहरूका लागि काठमाडौँबाटै सो पोसाक तयार पारेर ल्याएको हो ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार सचिवालयले विशेष समारोहका लागि उक्त पोसाकको व्यवस्था गरेको हो । सो विषयमा आफूलाई जानकारी नभएको र सचिवालयमा बुझ्न उनले आग्रह गरे । ‘सचिवालयले पोसाक व्यवस्था गरेको हो । कसरी गरियो जानकारी भएन । सचिवालयका सचिवलाई सोध्नुपर्छ ।’ उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप