सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नियात्रा

तुइन चुँडिएर ढुङ्गोझैँ खस्ने भयौँ हामी कर्णाली नदीमा...

शनिबार, २० माघ २०८०, १५ : ०५

संस्कारको झिरमा उनिएका रङ्गहरू गाढा छन् अझै अनकन्टार प्रदेशमा ।

तुइनमा झुन्ड्याइएको फलामको पेरुङ्गोमा राजन रावत, म र हुम्लाका एक पत्रकार बसेका थियौँ । त्यो पेरुङ्गोलाई वारि ल्याउनुपरे वारिको मान्छेले, पारि लानुपरे पारिको मान्छेले तान्नुपर्ने रहेछ । बस्ने मान्छेले पनि तुइनमा समातेर पेरुङ्गो ठेल्नुपर्ने रहेछ ।

‘लौ डुबेर मरिने भयो सर । चारमध्ये तीन बोल्टु खसिसकेछन् । चौथो पनि आधा खुस्किसकेछ । बाँकी भाग खुस्केपछि पेरुङ्गोसहित ढुङ्गोझैँ खस्ने भयौँ हामी कर्णालीमा,’ कालोनीलो बन्नुभयो राजनजी । 

‘तुइनबाट खस्न लाग्यौँ ?’ तीनैजनाले चिच्यायौँ । वारिपारिका साथीहरूले गर्न सक्ने केही थिएन । 

तीन भाइले हातले ठोकिरह्यौँ हुकलाई । छिप्रापट्टिका मित्रहरूले तानिरहनुभयो छिटोछिटो । 

आखिर ज्यान कर्णालीलाई सुम्पनुपर्ने भो ! यस्तै सोचेर पारुलाई सम्झेँ, छोराछोरी, आमाहरू र दाइ–भाउज्यूलाई सम्झेँ । कर्णालीले लगेको खबर मात्र पाउने भए सबैजनाले । जिन्दगीको नियतिमाथि टीठ लाग्यो । नजिकै आएर मृत्युले निल्न थाल्योजस्तो लाग्यो । मृत्यु त्यही तुइनमा हामीसँगै चढेको रहेछ जस्तो लाग्यो ।

karnali (2)

मृत्युलाई भेटेपछि जिन्दगीको अन्तिम क्षण पनि सकिन्छ । 

मृत्युलाई काँधमा बोकेर तुुइन तर्दै छौँ हामी ।

लौ डुबेर मरिने भयो सर । चारमध्ये तीन बोल्टु खसिसकेछन् । चौथो पनि आधा खुस्किसकेछ । बाँकी भाग खुस्केपछि पेरुङ्गोसहित ढुङ्गोझैँ खस्ने भयौँ हामी कर्णालीमा ।

बर्बरी आँसु झरे दुई मित्रका आँखाबाट । शून्य–शून्य बन्न थाल्यो मेरो दिमाग ।

ब्वाङ्ग पेरुङ्गो झरेपछि पो देखियो संसार । छिप्रापट्टिको किनारमा पुगेपछि पेरुङ्गो खस्यो । एक सेकेन्डअघि खसेको भए कर्णालीमा हेलिने रहेछौँ ।

मृृत्युले छाडेको पक्का भएपछि जीवनै झलमल भएझैँ भयो । मृत्यु अनिश्चित छ र पो आनन्द छ जीवनमा । मृत्युका मिहीन गीतहरू अनुभूत गरिरहुन्जेल गति र खुसीको सञ्चार भइरहन्छ जीवनमा । 

जीवनको अघिल्तिर मृत्यु हारेको खुसियालीमा उत्तानो परेर चौरमा पल्टियौँ तीनैजना । साथीहरूले धेरै लामो श्वास फेरे ।

खार्पुनाथ र छिप्रा जोड्न पहिले पक्की पुल बनाइएको रहेछ कर्णालीमाथि । तीन वर्षअघि जनयुद्धका बेला नष्ट पारिएको रहेछ । जनयुद्धको नाममा विकट ठाउँको पुल उडाएपछि सुविधा के पाऊन् बिचरा जनताले ।

गन्तव्य छिप्रासम्मको छ । उद्देश्य छ, अनन्तेपूर्णिमामा लाग्ने मेला हेर्ने ।

‘हजुर जसरी पनि जानुपर्छ अनन्तेपूर्णिमाको मेला हेर्न छिप्रामा । यो हुम्लीहरूको सबैैभन्दा ठूलो चाड हो, हुम्लाको संस्कृति बुझ्ने यो राम्रो अवसर पनि हो,’ डीएसपी मणिजङ्ग हमाल दम्पतीले निम्ता गर्नुभएथ्यो पाँच दिनअघि नै । देश परदेश पुग्नेहरू पनि खुसी साटासाट गर्न फर्कने रहेछन् अनन्तेपूर्णिमामा । त्यही जात्रामा भाग लिन काठमाडौँदेखि पुग्नुभएको रहेछ मणिजीहरू पनि । 

युवतीले मुखभरि घाँसको मुठो च्यापिन् । चार हात खुट्टा टेकिन् र बोलिन्, ‘म जनावर जत्तिकै अज्ञानी हुँ । मलाई केही थाहा छैन । जसरी हुन्छ मेरी सौतालाई भगाइदेऊ ।’

कर्णाली नदी तरेपछि अर्कोपट्टि उकालो चढ्नुपर्ने रहेछ छिप्रा जानका लागि । बिहान ९ बजे नै सिमकोटबाट ओरालो झरेका हामीहरू साँझ ५ बजेतिर उकालो चढिरहेछौँ । बायाँतिर खार्पुनाथ मन्दिर देखियो कर्णाली किनारमा । खार्पुनाथ अघिल्तर उत्तरतिरबाट झरेको दोज्यामखोला कर्णालीमा मिसिएको छ ।

मणिजीहरूको घर छिप्रामै भएकाले त्यो जात्रा हेर्ने राम्रो अवसर थियो मेरा लागि । संस्कृतिमै त लुकेको हुन्छ मान्छेको जीवन दर्शन र जीवनस्तरको दर्पण ।

कर्णाली नदी तरेपछि उकालो चढ्नुपर्ने रहेछ छिप्रा जानका लािग । दोज्याम खोला आफैँ विशाल, विशाल कर्णालीमा मिलेपछि पनि कर्णालीको आकारमा खासै परिवर्तन देखिँदैन । ‘एकमा एक थप्यो एक नै’को सिद्धान्त प्रमाणित गरिरहेछ कर्णालीले । वरिपरि हरिया डाँडाहरू छन् सुलुत्त परेका । चरा समेत गुल्टेलान् जास्तो लाग्ने ती भीरहरूमा घोडा र गाईहरू चरिरहेका देखियो । हाम्रै बायाँपट्टि पहाडको बिचबाट एउटा गोरेटो झरिरहेछ छड्के पटुकीजस्तो ।

karnali (3)

कर्णाली नदी छाडेर डेढ घन्टा उकालो चढेपछि भीरको सानो थाप्लोमा भेटियो गाउँलेहरूको भीड । हुम्ला पुगेपछि पहिलोपटक एकै ठाउँमा त्यति ठूलो भीड देखेको थिएँ मैले । डाँडाफैया, बुराउँसे, दार्मा, ठेहे, श्रीनगरदेखिका मान्छेहरू भेला भएका रहेछन् त्यहाँ । भीरमै टाँसिएको रहेछ लोहासुर मन्दिर । मन्दिर वरिपरि रगत लछप्पै थियो । बलि दिएका बोकाहरू भने ओसारिसकेका रहेछन् मन्दिरबाट ।

मन्दिर अघिल्तिर ठुल्ठुलो स्वरमा झगडा चर्किरहेको छ । जात्रालुहरू डाँडा–डाँडाबाट झगडा हेरिरहेछन् । दलित र गैरदलितबिचको झगडा रहेछ त्यो । भाद्र पूर्णिमाको दिनमा पर्ने अनन्तेपूर्णेमा दलितहरूले बाजा बजाउने परम्परा चल्दै आएको रहेछ । अब आइन्दा हामी बाजा बजाउन सक्तैनौ भनी दलितहरूले अडिग लिएपछि दिउँसैदेखि मारामार चलेको रहेछ ।

धामीले अनेकौँ मन्त्र फलाके, अनेकौँ तन्त्र गरेझैँ गरे, त्यसपछि घोषणा गरे, ‘मेरो मन्त्रको प्रभावले यो आइमाईको सौताले आजै लोग्ने छाडेर हिँड्छे, अब कोही पनि यिनको सौता बनेर आउन सक्तैन ।’ परर्र ताली बज्यो ।

नेपालमा जात्रामा प्रायः झगडा सबैै ठाउँमा पर्छ । प्रायः सुरपानी पिएर जात्रामा जाने भएकाले पनि झगडा पर्नु स्वाभाविक हो । लोहासुर मन्दिरबाटै सुरु हुने रहेछ छिप्रा गाउँ । त्यहीँ भेटिनुभयो मणिजङ्ग हमाल र भाउज्यू । मसँगै सिमकोटबाट गएका जङ्ग रोकाया, राजन रावत, कृष्णा रोकाया, विशाल बोहरा, दानसिंह रावलहरू र मणिजीले गाउँलेहरूलाई भेला गराउनुभयो । ‘अरु नै दिन छलफल गरौँला । जात्राको दिन झगडा गरेर टाढा टाढादेखिका पाहुनाहरूलाई खल्लो नपारौँ’ भनेपछि सबैको चित्त बुझ्यो । दमाहा, ट्याम्को, सहनै, ढोलक, झ्याली घन्कन थाले । धामीहरू नाच्न र काम्न थाले । त्यो जात्रामा धामी नाचले प्रधानता पाउँदो रहेछ । धामीहरूले माथि सेतो भोटो र बख्खु, तल सेतै पेटिकोटजस्तो कपडा पहिरिँदा रहेछन् । सबैै धामीले सयपत्री फूलको माला पहिरेका छन् । उनीहरूको टुपी तीन–चार हातसम्म लामो हुने रहेछ । त्यसलाई तारले बानेर महादेवको जटाझैँ बेर्ने चलन रहेछ । वेशभूषा, हाउभाउ र चर्तिकलाले समाजका अरु सदस्यभन्दा बेग्लै र विशेष देखिँदै छन् । सामान्यभन्दा फरक नदेखिएपछि कहाँ पर्छ र अरुको नजर ? 

साँझ पर्न लागिसकेको छ । पाँचजना धामीलाई व्यथा देखाउनेहरूको धुइरो चलिरहेछ । बोक्सी लागेका कारण जहान परिवारको स्वास्थ्य बिग्रिएको, पाल्तुपशु र खेतीपाती राम्रो नभएको गुनासो धामीसमक्ष पोख्नेहरू खचाखच छन् । धामीसँग न्याय माग्दा र ज्यानको स्वस्थताको कामना गर्दा मान्छेहरू प्रायः मुखमा घाँस च्यापेर पशुवत अज्ञानी भएको शैलीमा प्रस्तुत हुँदा रहेछन् । धामीले चामल र फूल छरेर देवता बक्ने रहेछन् र काम्दै सबैै समस्या दूर गराइदिने वचन दिँदारहेछन् । धामीहरू हुम्लाका विभिन्न मन्दिरको प्रतिनिधित्व गरेर त्यहाँ भेला हुने रहेछन् । उनीहरू देवताका साक्षात् रूप हुन् भन्ने विश्वास रहेछ हुम्लीहरूमा ।

मरन्च्यासे, जिउभरि मैयलका कान्ला र पाटाले घेरिएका ‘देवता’हरूको सुल्फाको सुरमा सन्कने बानी हुँदो रहेछ । मान्छेले आफूजस्तै बनाउने त हो नि देवता पनि । देवताले पनि त्यही समाजकै रीतिथितिमा ल्याइरहने त हो तरङ्ग । म देवता भनिएकाहरूको जीर्णता देखेर चकित परेँ । ‘तपाईंमा साँच्चै देवताको अंश छ ?’ मैले प्रश्न गर्दा प्रश्नको ओइरो लाग्ने आशंका पलायो एक धामीमा । यो छलफल गर्ने विषय होइन भनेर टारेँ । मसँग छलफल गर्ने इच्छा नै देखाएनन् उनीहरूले । धर्माधिकारीहरू तर्कको सामु पर्न कमै चाहन्छन् ।

karnali (6)

अलि तल्लापट्टि चौडिलोमा पाँच युवती र ११ युवाहरू देउडा नाचिरहेका रहेछन् । महिला र पुरुषहरू गोल परेर देउडामा जीवनका सुखदुःखहरू, घर–परिवार, माइत–मावलका होँची अर्घेलीहरू, अभावका शृङ्खलाहरू, माया–प्रेमका उत्तारचढावहरू, बिदेसिनुपर्नाको पीडा, गोठालो जाँदा र घरखेत गर्दाको अप्ठेरोहरूलाई गीतको माध्यमबाट व्यक्त गरिरहेछन् । देउडा नाच्ने र जात्रामा जाने प्रायः सबैै महिलाले टाउकोमा टोप (निधारमाथि कपालमा लगाउने सुनफूल), घाँटीमा जाल (घाँटीमा बाँध्ने बुनेको पोतेको माला), छातीमा कम्पनीमाला (सुकी, पाँचनी जस्ता सिक्काको माला) पहिरेका छन् । प्रायः सबैैले ऊनी बर्को ओढेका छन् । मखमली चोलो र पेटिकोटजस्तो फरिया (जसलाई ‘दौडा’ वा ‘आङ्गो’ भनिदो रहेछ) पहिरेका महिलाहरूको अनुहारमा खुसीको चमक छ । खुट्टामा प्रायः स्पोर्ट सुज छ । पुरुषहरूले कमिज–सुरुवाल र ज्याकेट लगाएका छन् । कतिपय मान्छेहरू नाम मात्रको कपडा पहिरेर उपस्थित भएका छन् ।

‘केही जात्रालु सम्पन्नजस्तै लाग्छ हगि ?’ मैले स्थानीय शिक्षकसमक्ष खसखस राखेँ ।

‘यो त यिनीहरूको जिन्दगीभरिको एकजोर कपडा हो सर, पटकपटक फेर्न कहाँ सक्तछन् र यिनीहरूले,’ भित्र अभाव भए पनि अरुको अघिल्तिर सम्पन्नता देखाउनैपर्ने नेपाली प्रवृत्तिको हाबी रहेछ त्यहाँ पनि ।

साँझ घर्किंदै गएपछि जात्रालु धुइरो पनि छिप्रा गाउँमा पस्यो । ३०–३५ घरहरू पुटुक्क उमे्रका कन्ने च्याउ जसरी जोडिएर बसिरहेका रहेछन् छिप्रामा । पीडा र दुःखका कोलाज देखिन्छन् गाउँका सबैै घरहरू । नाम मात्रका छन् घर । ठण्डीको साम्राज्य निर्बाध चलिरहेछ चोटा कोठामा । रित्ता चोटा, कोठाहरू गाँस र कपासको आह्वान गरिरहेछन् । घर त बिलौना सम्झने चौतारो बनेको छ । व्यथा खोस्रने खोरिया भएको छ । घरमा हुम्ली शैली हुने नै भयो । तीन खण्डका छन् घरहरू । सबैभन्दा तल्लो खण्डमा गाईवस्तुका लागि गोठ, बिच खण्डमा भातभान्सा र परिवारका सदस्यहरूको ओछ्यान । माथिल्लो खण्ड पाँडमा पाहुना राख्ने दुई–तीन कोठाहरू र अघिल्तिर माटो बिछ्याएको समथर छाना । जोडिएका घरहरू भएकाले गाउँलेका लागि छाना नै बाटो हुने रहेछ । आँगनभरि भेडा पाल्ने र बलेसीमै मान्छेले दिसा गर्ने चलन सामान्य मानिदो रहेछ ।

karnali (4)

कुुटुक्क काट्यो पेट ।

‘यहाँ दिसा गर्ने ट्वाइलेट छैन ?’ जात्रामा निकै चल्ता पुर्जा देखिएका एक युवकसँग सोधेँ । 

उनी एकछिन अक्कबक्क परे । ‘ए पाइखाना हो ? गाउँमा एउटा त छ तर अलि पर छ,’ उनले भने ।

‘लौ न जाउँ’— बच्चा जसरी खुरुन्धान गरेँ मैले । उनी अघिअघि म पछिपछि । गाउँको माझमा एउटा ट्वाइलेट रहेछ, कुनै गैरसरकारी संस्थाले निर्माण गरिदिएको । ट्वाइलेटमा ढोका रहेनछ । गारोमा टाँसेर प्यान राखिएकाले बसेर दिसा गर्न नमिल्ने । ट्वाइलेट भरिएको रहेछ दाउराको खलियोले । ट्वाइलेट वरिपरि दिसापिसाब, त्यसमाथि हरिया झिँगाहरूको भुनभुनले १५ कदम वरैबाट सिकसिकोले जिउ चिलाउन थाल्दो रहेछ ।

‘यस्तोमा त कसरी दिसा गर्नु नि !’ मैले बोलेँ ।

‘भएको यस्तै हो सर, यहाँभन्दा त पाखामा जानु नि,’ उनले भने ।

‘लौ ट्वाइलेट नभई दिसा नगर्ने हो भने डुबिने रहेछ भाउँटोमा,’ सोच्दै अलि पर्तिर गएँ र रुखको छेकोमा हल्का भएँ ।

छिप्रा पहाड नै पहाडको काखमा रहेकाले अद्भुत शान्ति छ । तलतिर उत्तरबाट दक्षिणतिर अनवरत बरिरहेको कर्णालीको सुसाइले फिजाइरहेछ नूपुर ध्वनि ।

गाउँको सबैैभन्दा ठूलो घरको छानामा एकातिर धामीहरू जोखना हेरिरहेछन्, अर्कोतिर देउडा चलिरहेछ । धामीहरू बेरिएको टुपीमाथि एउटा कपडा बेरेका छन्, जसलाई मथेरो भनिदो रहेछ । हातहातमा घण्ट र त्रिशूल छ उनीहरूको । बाजा बजिरहेछ । धामीहरू नाचिरहेछन् । कोही धामीहरू जोखना हेरेर मान्छेको भविष्य बताउँदै छन् ।

एउटी झन्डै ३० वर्षकी महिला क्वाँ क्वाँ रुन थालिन् । उनका आफन्तहरूले सम्झाउन थाले, ‘पीर नगर ।’ उनका लोग्ने कामको सिलसिलामा विगत तीन वर्षदेखि मुम्बईमा गएका रहेछन् । धामीले हात हेरेर भने, ‘तिम्रो लोग्नेले दुई वर्षअघि अर्की पत्नी ल्याइसके अब फर्कन्नन् ।’ कोकोहालो हालेर रोइन् तिनी । उनका आफन्तले धामीलाई पुकारे । अक्षता पैसा चढाए । युवतीले मुखभरि घाँसको मुठो च्यापिन् । चार हात खुट्टा टेकिन् र बोलिन्, ‘म जनावर जत्तिकै अज्ञानी हुँ । मलाई केही थाहा छैन । जसरी हुन्छ मेरी सौतालाई भगाइदेऊ ।’ धामी कामेर चार हात माथि उफ्रिए । उनको टुपी फुकेर आइमाईको जस्तै फिँजारियो । उनले अनेकौँ मन्त्र फलाके, अनेकौँ तन्त्र गरेझैँ गरे, त्यसपछि घोषणा गरे, ‘मेरो मन्त्रको प्रभावले यो आइमाईको सौताले आजै लोग्ने छाडेर हिँड्छे, अब कोही पनि यिनको सौता बनेर आउन सक्तैन ।’ परर्र ताली बज्यो । सबैैमा खुसी छायो । धामीको जय–जयकार गरियो । केहीबेरपछि मुम्बईमै बस्ने अर्का युवक गाउँ आइपुगेछन् । उनी त्यही जात्रामा उपस्थित भए । सबैैले ती महिलाको लोग्नेले सौता ल्याएको कुरा सोधखोज गरे । ‘हामी एकै घरमा बस्छौँ, उनले कुनै स्वास्नी भित्र्याएका छैनन् । यो बकबास मात्र हो,’ उनले भने । गाउँलेहरूले उनको भन्दा धामीकै बढी विश्वास गरे । सबैको मुखबाट निस्कियो, ‘धन्न देवलदेवीले धामीलाई देखाइहालिछन् र मात्र, नत्र अर्की सौता बेहोर्नपथ्र्यो बिचरीले ।’

नाटकको एक शृङ्खला प्रस्तुत गर्ने, कुनै व्यवधान देखापर्ने स्थितिमा तुरुन्तै अर्को शृङ्खला सिर्जना गरेर अघिल्लो व्यवधान दैवी शक्तिले हटाइदिएको घोषणा गर्ने गज्जबको रीत हुँदो रहेछ धामीहरूको । बिचरा सोझा मनुवाहरू त्यो सब देवता खुसी हुनु र नहुनुको खेल हो भन्ने विश्वासमा बज्रलेप भइरहेछन् । छाना छानामा उभिएर नाचगान र धामीको चर्तिकला हेर्नेहरूमा हँसिमजाक चलिरहेछ । गाउँका भद्र भलादमी भन्नेहरूलाई राडीमाथि राखिएको छ । गाउँलेहरूको अनुहारमा देखिन्छ भित्रैदेखिको निखार खुसी ।

karnali (1)

‘तम हो नेपालबाट आया ?’ ( नेपालबाट आएका तिमी हौ ?) एउटी बूढी आमैले च्याप्पै हात समातेर सेता अक्षताको टीका र धूपीको प्रसाद लगाइदिनुभयो । मैले आमा सम्झिएँ र ढोगिदिएँ । अझैसम्म काठमाडौँलाई नेपाल भन्ने चलन रहेछ । नेपालबाट एउटा मान्छे आउँदै छन् भन्ने हल्ला चलेको रहेछ । त्यसपछि त मलाई घेर्ने र हेर्नेहरूको धुइरो नै चल्यो । बूढाबूढी, तरुनातरुनी, बच्चाबच्ची सबैैका आँखा मैमाथि खनिएका छन् । मानौँ कुनै अर्कै ग्रहबाट आएको प्राणी हुँ म ।

क्यामेरा झिकेर तस्बिर खिच्न के थालेको थिएँ जात्रालु सबैैले घेर्न थाले मलाई । 

‘ऊ फोटो खिच्न थाल्या छन्,’ हल्लाखल्ला हुन थाल्यो ।

क्यामेराको लेन्सबाट छिर्न तँछाडमछाड भयो । खिचिएको तस्बिर स्क्रिनमा देखाइदिएपछि त झन् तस्बिर खिचाउने र हेर्नेको ठेलमेल भयो । कोही दिदी बहिनीहरूले पूजा गरे क्यामेरालाई, फूल अक्षता चढाए, लेन्समा फोहोर पर्ला कि भन्ने डरले आत्तिएँ म । दुई धामीहरू पटुर्नै (काम्नै) छाडेर तस्बिर खिचाइमागे । 

‘महाभारतकालमा युद्धका तस्बिरहरू हेर्दै धृतराष्ट्रलाई बताउँदै गरिएको थियो अचेल यहीँ आइपुग्यो यो चलन,’ एक धामीले गाउँलेहरूलाई बताए । 

‘यो देवताले नै बनाएका हुन्, धेरै धर्मात्माले मात्र यस्तो भाँडो पाउँछ,’ उनी व्याख्या पो गर्न थाले । 

‘यो देवता होइन मान्छेले बनाएको हो, यो पाउन भगवानको आशीर्वाद होइन पैसा भए पुग्छ,’ मैले बताएँ ।

हुम्लालाई ढपक्कै ढाक्यो जूनले । जूनको उज्यालोमा मुस्काइरहेछ छिप्रा गाउँ । पहाडहरूको फेदमा रहेकाले गाउँको वरिपरि बारी छ । बारीभरिका मकै, कोदो र सूर्यमुखीहरूको स्पन्दन चलिरहेछ जूनका किरणहरूमा मिसिएर । अघिल्तिर उभिएका डाँडाहरूले साँघु¥याएका छन् आकाशलाई । विशाल कर्णालीको उच्छलनले मीठो सपना खोजिरहेछ । जून नै उच्छट्ट मातिएजस्तो लाग्छ कर्णालीमा डुबुल्किन पाउँदा । कर्णाली, हावा र देउडाको समवेत स्वरहरू बिस्तारै फैलिँदै गइरहेछन् अग्ला अग्ला डाँडाका चुचुराहरूसम्म ।

बादलले जूनलाई छेक्छ, जूनले बादललाई छेड्छ । बादलका केस्रा केस्रा टेकेर पनि धर्तीमा ओर्लन्छ जून । केस्रा केस्रा जोडिँदै आकाशमै छोपिदिन्छ जूनलाई बादलले । अँध्यारो र उज्यालोको जुहारी चलिरहेछ । देउडा र जूनको पनि जुहारी चलिरहेछ । उता जून र बादलले संसारको रीत दर्शाइरहेछन् । यता देउडाका गीत र नृत्यहरूमा जिन्दगीका सारा स्वरूपहरू प्रकट भइरहेछ ।

karnali (5)

उन्मत्त ठण्डी अलमलिएको छ जून र देउडाको जुहारीमा ।

धामीहरूले धामी विद्याको महत्त्व बारेमा बोले ।

‘धामी देवताका दूत हुन्,’ तिनले भने, ‘धामी रिसाए भने देवता रिसाउँछन् र अनिष्ट हुन्छ संसारमा । घर घरमा मान्छे र पाल्तु पशु बिरामी हुनु, घरमा अभाव र अन्योल बढ्नु, परदेसिएकालाई सञ्चो नहुनु, आँटेको नपुग्नु सबैै देवता लागेर हुने हो । देवता खुसी पार्न धामी खुसी पार्नुपर्छ ।’

सोझा जनताहरूले ती सबैै कुरा पत्याए । धामीलाई पूज्ने र ढोग्नेको तँछाडमछाड चल्यो । धामीको पाउ भेट्नु देवता नै भेट्नु हो भन्ने भ्रम बेस्सरी मौलायो, एमोनियम सल्फेट पाएको धानको गाँजजस्तो ।

पल्लोपट्टि पाँडमा हामी ५–६ जना बसेका थियौँ । 

मैले देवता होइन प्रकृति ठूलो कुरा हो भन्ने अथ्र्याएँ । पौष्टिक खाना नपुगेर, फोहोर र खराब खानेकुरा खाएर र सरसफाइ नपुगेर रोग लाग्छ । बाढीपहिरो, भुइँचालो, चट्याङ सबैै प्राकृतिक कुरा हुन् । हरेक कुराको कारण हुन्छ, दुःखलाई पनि प्रयासले निराकरण गर्न सकिन्छ । धामी पुज्दैमा, बोका कुखुरा काट्दैमा कहाँ हुन्छ र जीवनका समस्याको समाधान भन्ने अथ्र्याएँ । उपस्थित युवाहरूलाई मेरो कुरा ठीकै लाग्यो तर एकैपटक समाजको विश्वास परिवर्तन गर्न गाह्रो हुने राय थियो उनीहरूको । पूरै अन्धकारले ढाकेको हुम्लालाई चेतनाको चाँदनीले धेरै उज्यालोतिर उचालिसकेको भनाइ रह्यो भाइहरूको ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दामोदर पुडासैनी ‘किशोर’
डा. दामोदर पुडासैनी ‘किशोर’
लेखकबाट थप