बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नोबेलमा नशा गुजुल्टोको बिना चिरफार सफल उपचार

आइतबार, २१ माघ २०८०, १७ : ०३
आइतबार, २१ माघ २०८०

विराटनगर । मासिकश्राव गडबड हुने र अत्यधिक रक्तश्राव हुने समस्याले महिलाहरूलाई सताउने गर्दछ । महिलाहरूमा हुने यस्तो समस्याले उनीहरूलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ भने गर्भाधानमा समस्या हुने वा गर्भपतन हुने जस्ता समस्या पनि हुन सक्ने हुन्छ । 

यस्तै समस्याबाट ग्रसित एक जना २९ वर्षीया महिलाको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्रसूति तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोलोजी विभागको समन्वयमा विना चिरफार उपचार गरिएको छ । अस्पताल स्रोतले जानकारी दिए अनुसार पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार गरिएको हो ।

 मझरियाका एक जना महिला विगत धेरै वर्ष देखि महिनावारी गडबड हुने, मासिकश्रावको समयमा अत्यधिक रगत बहने समस्याबाट ग्रसित थिइन् । विवाह पछि दुई पटक गर्भ तुहिएको र एक पटक पाठेघरको नलीमा गर्भधारण भई अपरेसन गरी नली नै फालिसकेको र मासिकश्रावको समस्या यथावत् नै रहेकोले स्थानीय एक नर्सिङ होममा उपचार गराउँदै गर्दा उनलाई भारत स्थित एम्स हस्पिटलमा रिफर गरिएको थियो । भारत जान खर्च अभाव भएकाले एक पटक नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल गई जाँच गराउने भनी बिरामी र अभिभावक नोबेल आएका थिए । 

चेक जाँचको क्रममा नोवेलका प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. शान्ति सुवेदीले बिरामीको समस्या र विगतका उपचारको जानकारी लिँदै परीक्षण गर्ने क्रममा अल्ट्रासाउण्ड गर्दा पाठेघरमा रगतको गुजुल्टो रहेको पाएकी थिइन् । डा. सुवेदीका अनुसार बिरामीको अल्ट्रासाउण्ड गर्दा उनको पाठेघरमा पानीको पोखरीमा भुमरी आएको जस्तो देखिने रगतको गुजुल्टो रहेको थियो जसलाई मेडिकल भाषामा आर्टेरियोभेनस मालफरमेशन भनिन्छ । बिरामीलाई यसैले गर्दा रगत बढी बहने र समस्याहरू आएको थियो । 

यसको उपचारको लागि कि त पाठेघर नै फाल्नु पर्ने हुन्थ्यो तर पाठेघर जोगाउन अल्ट्रासाउण्डको रिपोर्ट र बिरामीले नर्सिङ होममा नै गराएर आएको एमआरआईको रिपोर्टको आधारमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाबाट इन्टरभेन्सनल रेडियोलोजी प्रविधिको सहायताले रगतको गुजुल्टोको उपचार गर्न समन्वय भयो । खर्चको हिसाब गर्दा भारत गएर उपचार गर्दा जति खर्च हुन्छ त्यसको आधाको पनि आधा खर्चमा सफल उपचार भएको छ र त्यस पछिको स्क्यानहरूले पनि बिरामीको समस्याको राम्रो उपचार भएको देखाएको छ ।

Dr. Ganesh Devkota

 नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाका अनुसार डा. सुवेदीले बिरामीको बारेमा जानकारी दिएपछि थप जाँचहरू पश्चात् बिरामीको समस्याको उपचारको लागि यूटेराइन आर्टरी इम्बोलाइजेसन भन्ने प्रविधिबाट उपचार गर्ने तयारी गरियो । 

यूटेराइन आर्टरी इम्बोलाइजेसन प्रविधी भनेको केहो भन्ने जिज्ञासामा डा. देवकोटाले भने, ‘यो प्रविधिको उद्देश्य भनेको पाठेघरमा हुने रक्त प्रवाहलाई रोक्नु हो । यो गर्नलाई पेट चिरेर ठुलो अपरेसन गर्नु होइन । निडिल, मसिनो तार र पाइप जसलाई वायर, क्याथेटर र माइक्रोक्याथेटर भन्दछौँ त्यसको सहायताले रगतको नलीबाट छिरेर एन्जियोग्राफिको सहायताले पाठेघरमा जाने रगतको नशाहरू पहिचान गरी जुन रगतको नशालाई थुन्न पर्ने हो त्यसलाई विभिन्न पदार्थहरुको सहायताले थुन्ने गरिन्छ । हाम्रो बिरामीको पनि पाठेघरमा रक्तश्राव गराउने रगतको नशालाई जेलफम प्रयोग गरी दुवै तिरको नशालाई बन्द गरेको छौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप