बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई ओलीको निर्देशन

आइतबार, २१ माघ २०८०, १७ : १६
आइतबार, २१ माघ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले संसद्मा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरूलाई सचेत गराएका हुन् । 

आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसद्मा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदहरूको ध्यानाकर्षण गराएका हुन् । गल्ती बोल्नेका कुरा संसद्मा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो । अध्यक्ष ओलीले संसद्मा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाइपाऊँ भन्नु स्वाभाविक हुने भए पनि अरूले उसको गल्ती सच्याइदिने काम गरिरहन नपर्ने बताउनु भयो ।

उनले भने, ‘कहिले, कहिले हामीलाई कस्तो लाग्छ भने म जत्तिको मानिसलाई किन प्रशिक्षण चाहिन्छ ? मैले नबुझेर के छ र ? भन्ने लाग्न सक्छ । म आफैँ पार्लियामेन्टमा यत्रो वर्षदेखि छु, यति कार्यकालदेखि छु भन्ने पनि लाग्न सक्छ । म आफैँले काम सञ्चालन गरिराखेको छु भन्ने पनि लाग्न सक्छ । तर कतिपय प्राविधिक विषयहरू, कतिपय वैचारिक विषयहरू, वैचारिक विषयहरूमा पनि स्पष्टता झन् बढी झन् स्पष्टताको आवश्यकता पर्दछ । तसर्थ, अझ प्राविधिक विषयहरू, के, कस्ता प्रस्ताव कसरी राख्ने हो, नियमापत्ति कसरी गर्नुपर्ने हो, कस्ता विषयमा गर्नुपर्ने हो ? एउटा हामीहरूको अक्सर चलन छ–त्यो रेकर्डबाट त्यो शब्द हटाइयोस् भन्ने । मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरू हटाउन लगाउनु जरुरी छैन । त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ । विरोध गर्नुपर्छ त्यसको । तर रेकर्डबाट हटाइयोस् भन्न चाहिँ पर्दैन क्या । रेकर्डबाट हटाइयोस् भन्ने उसले माग गर्नुपर्ने हुन्छ नि मलाई भन्नुहुन्छ भने । हामीले गलत बोल्यो, रेकर्डबाट हटाइपाऊँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने । अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र ? त्यस कारण गलत कुराको सख्त आलोचना गर्नुपर्छ, विरोध गर्नुपर्छ । हामीले विरोध गरेपछि पुगिहाल्यो नि । हामीले अस्वीकार गर्‍यौँ, विरोध गर्‍यौँ त्यसको पुग्यो । तर रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ । त्यो चाहिँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाई पाउँ भनेर निजले भन्दा खेरी एउटा कुरा हो । अर्काले उसको गल्ती किन सच्याइदिने ?’

सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा  त्यसलाई संसद्को रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ । ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने पनि स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप