आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नेपालमा क्यान्सरको उपचार सम्भव

हरेक वर्ष थपिन्छन् २० देखि ३० हजार क्यान्सरका बिरामी
आइतबार, २१ माघ २०८०, १९ : ४३
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय क्यान्सरको रोग बढ्दो क्रममा छ । प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए । 

नेपालमा क्यान्सर रोगको अवस्था भयावह बन्दै गएको उनले बताएका छन् । ‘नेपालमा देखिएको कमन क्यान्सर फोक्सोको क्यान्सर हो,’ उनले भने, ‘पुरुषमा पहिलो नम्बरमा फोक्सोका क्यान्सर, दोस्रो नम्बरमा पेटको क्यान्सर, तेस्रो नम्बरमा ठुलो आन्द्राको क्यान्सर, चौथोमा मुखको क्यान्सर, पाँच नम्बरमा कलेजो क्यान्सर पाइएको छ भने पहिला–पहिला महिलामा स्तन क्यान्सर पहिलो नम्बरमा पाइन्थ्यो भने हाल पाठेघरको मुखको क्यान्सर एक नम्बर बनेको छ र दोस्रोमा ब्रेस्टको क्यान्सर भएको पाइएको छ, तेस्रोमा फोक्सोको क्यान्सर, चौथोमा पेटको र पाँचौँमा ठुलो आन्द्राको क्यान्सर छ ।’ 

जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूम्रपान, मद्यपान, मोटोपनालगायतका कारण नेपालमा क्यान्सर रोग बढ्दो रहेको डा. शाहीले बताए । ‘९० प्रतिशत क्यान्सर ५० वर्षमाथि उमेरकालाई देखिन्छ, त्यो खानपिनका कारणले हो,’ उनले भने, ‘५ देखि १० प्रतिशत वंशाणुगत क्यान्सर देखिन्छ जुन सानो उमेरमा देखिन्छ ।’

खानपिनकै कारणले स्तन क्यान्सर हुने समस्या देखापरेको डा. शाहीले बताए । यस्तै, पाठेघरको मुखको क्यान्सरको मुख्य कारण असुरक्षित यौन सम्र्पक, एक वा एक भन्दा बढी व्यक्तिसँग शारीरिक सम्बन्ध राख्नु रहेको उनले बताए । फोक्सो, कलेजो, मुख र आन्द्राको क्यान्सर हुनुमा धूम्रपान, मद्यपान मुख्य कारण रहेको डा. शाहीले उल्लेख गरे । 

हरेक वर्ष थपिन्छन् २० देखि ३० हजार क्यान्सरका बिरामी

नेपालमा पछिल्लो समय क्यान्सर रोग भयावह बन्दै गएको छ । डा. शाहीका अनुसार नेपालमा प्रत्येक वर्ष २० देखि ३० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । त्यसमध्ये १५ देखि २० हजार जनाको वार्षिक रुपमा निधन हुने गरेको छ । ‘हाल स्तन क्यान्सरका प्रत्येक वर्ष २५ सय बिरामी देखापर्छन्,’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सरहरूका बिरामी वार्षिक २१ देखि २२ सय जना, फोक्सो क्यान्सरका बिरामी २५ सयदेखि ३ हजार जना वार्षिक रूपमा देखापर्छन् । बाँकी अन्य क्यान्सरका बिरामी रहेका छन् ।’ 

नेपालमा ६० देखि ७५ हजार क्यान्सरको बिरामी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

९९ प्रतिशत क्यान्सरको नेपालमै उपचारबाट निको हुन्छ 

बढ्दो क्यान्सर रोगलाई नियन्त्रण र निर्मूल पार्न उपचारभन्दा पनि क्यान्सर लाग्न नदिनु नै उत्तम हुने चिकित्सकले बताएका छन् । क्यान्सर भइसकेपछि पनि नेपालमा उपचार हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘क्यान्सरको महँगो उपचार छ, अहिले लगभग ९९ प्रतिशत क्यान्सरका उपचार नेपालमै हुन्छ,’ उनले भने, ‘हामीसँग जनशक्तिको कमी छ, पहुँचको कमी छ, उपकारणको कमी छ । तैपनि भक्तपुर, भरतपुर सरकारीलगायत निजी स्तरका अस्पतालबाट क्यान्सरको उपचार हुन्छ ।’ 

क्यान्सरको उपचार तुलनात्मक रूपमा महँगो पर्ने गरेको छ । क्यान्सर भइसकेपछि सरकारले केही मात्रमा आर्थिक सहयोग पनि गरेको बुढाथोकीले बताए । ‘प्रति क्यान्सर बिरामीलाई सरकारले एक लाख रुपैयाँ खर्च गर्दिरहेको छ,’ उनले भने, ‘ तर यो खर्च बिरामीका लागि यथेष्ट होइन, उपचारको सुरु गरेपछि बाँकी बिरामी आफैले खर्च बेहोर्नु पर्ने हुन्छ ।’

बुढाथोकीका अनुसार ८० प्रतिशत क्यान्सर खानपान र जीवनशैलीबाट लाग्ने गर्छ । क्यान्सर रोकथामका लागि खानपान र जीवनशैलीमा सुधार गर्नुपर्ने सुझाए । यस्तै, पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २० हजार किशोरीलाई खोप दिएको बताए । कलेजोको क्यान्सरका लागि हेपाटाइटिस बीको खोप लगाउनु सकिने पनि उनले सुझाए । 

बुढाथोकीले क्यान्सर भएकालाई जीवन निर्वाह भत्ता पनि मासिक ५ हजार रुपैयाँ दिने गरेको उल्लेख गरे ।  

क्यान्सर रोग पहिचान गरी सुरुकै अवस्थामा उपचार गरेमा २० देखि ३० हजार रुपैयाँ मात्रै खर्च लाग्ने तर क्यान्सर बल्झिँदै गएमा अन्तिम अवस्थामा जानकारी भएमा लाखौँ खर्च हुने चिकित्सकले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप