शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने

शुक्रबार, ०८ साउन २०८३, ०८ : २५
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • एसी मिलानका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन्।
  • आगामी सेप्टेम्बरमा ४१ वर्ष पुग्न लागेका क्रोएसियाली खेलाडी मोड्रिच गत सिजन रियाल मड्रिड छाडेर एक वर्षको सम्झौतासहित मिलान आएका थिए।
  • सम्झौता थपिएपछि मोड्रिचले एसी मिलानमै रहन पाउँदा उत्साहित रहेको र टोलीलाई फेरि अघि बढाउने तीव्र इच्छा रहेको बताएका छन्।

मिलान । एसी मिलानका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन्। 

आगामी सेप्टेम्बरमा ४१ वर्ष पुग्न लागेका क्रोएसियाली खेलाडी मोड्रिच गत सिजन रियाल मड्रिड छाडेर एक वर्षको सम्झौतासहित मिलान आएका थिए।

साउन्टियागो बर्नाबेउमा १३ वर्ष बिताएपछि मिलान पुगेका मोड्रिचले पहिलो सिजन ३७ खेल खेल्दै दुई गोल गरे। तर, उक्त सिजन मिलानका लागि उत्साहजनक रहेन। टोली सेरी 'ए' मा पाँचौँ स्थानमा सीमित भयो भने कोपा इटालियाको अन्तिम १६ बाटै बाहिरियो।

सम्झौता थपिएपछि खुसी व्यक्त गर्दै मोड्रिचले भने, ‘एसी मिलानमै रहन पाउँदा म निकै उत्साहित छु, जहाँ मलाई पहिलो दिनदेखि नै स्वागत र माया मिल्यो। हाम्रो अपेक्षाअनुसार नरहेको अघिल्लो सिजनपछि टोलीलाई फेरि अघि बढाउने इच्छा तीव्र छ। हाम्रा अगाडि नयाँ सिजन र नयाँ चुनौती छ, जुन परियोजनामा मलाई विश्वास छ र यसले मलाई प्रेरित गर्छ।’

उनले थपे, ‘यो जर्सीका लागि म फेरि पनि आफ्नो सबै क्षमता दिन तयार छु र यो रङको प्रतिनिधित्व गर्न पाउँदा मलाई गर्व छ। सान सिरो फर्कन र समर्थकहरूको हुटिङ महसुस गर्न म अब धेरै पर्खन सक्दिनँ।’
मोड्रिचले हालै आफ्नो पाँचौँ विश्वकप खेलेका थिए, जहाँ क्रोएसिया अन्तिम ३२ को खेलमा पोर्चुगलसँग पराजित हुँदै बाहिरिएको थियो। सन् २०१६ मा मोड्रिच राष्ट्रिय टोलीको कप्तान बनेयता क्रोएसिया एक पटक विश्वकपको उपविजेता र एक पटक तेस्रो भएको थियो। 

सन् २०१८ का बलोन डी'ओर विजेता मोड्रिचले रियल मड्रिडमा छ वटा च्याम्पियन्स लिग र चार वटा ला लिगा उपाधि जितेका थिए। त्यसअघि उनले लन्डन क्लब टोटनह्याम हट्सपरका लागि चार वर्षमा १६० खेल खेलेका थिए।

यस सिजन मिलानमा उनले म्यानचेस्टर युनाइटेडका पूर्वमुख्य प्रशिक्षक रुबेन अमोरिमको प्रशिक्षणमा खेल्नेछन्। अमोरिमले गत जुनमा बर्खास्तमा परेका मासिमिलियानो एलेग्रीको ठाउँ लिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप