शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बँदेलको आतङ्कले गाउँमा त्रास

आइतबार, २१ माघ २०८०, २१ : ४६
आइतबार, २१ माघ २०८०

अछाम । यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् । मङ्गलसेन  नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो । आक्रमणबाट उहाँ गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो ।

माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो । लसुनबारीबाट फर्किने समयमा बँदेलको आक्रमणबाट उनी सख्त घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई पनि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो ।

बँदेल गाउँमै पस्न थालेपछि बँदेलले आक्रमण गर्ने डरले वडा नं ६ का जनतामा त्रास फैलिएको हो । नजिकैको जङ्गलबाट आएका बँदेलले गाउँमा आतङ्क मच्चाएर मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीय झुमा भण्डारीले बताए ।

त्यसैगरी, मङ्गलसेन–७ को जनालीबण्डालीमा पनि बँदेलले आतङ्क मच्चाएको छ । माघ १६ गते राति ११ बजेको समयमा बँदेलको आक्रमणबाट दुईजना घाइते भएका थिए । गाउँमा बिहेको भोज खाएर फर्किने क्रममा वडा नं ७ का १५ वर्षीय नेत्र जनालालाई र उनका आफन्त १७ वर्षीय महेन्द्र उखेडालाई आक्रमण गर्दा दुवै जना घाइते भएका थिए ।

घाइतेमध्ये उखेडाको जिल्ला अस्पतालमा उपचार पश्चात् घर पठाइएको छ भने अर्का घाइते जनालालाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

अहिले पनि गाउँको वरिपरि तीन÷चारको सङ्ख्यामा दिन र रातको समयमा बँदेल आउन थालेपछि यस ठाउँका नागरिकले आफ्नो सुरक्षाको माग गरेका छन् । गाउँमा बँदेलले आतङ्क मच्चाएको गुनासो आउन थालेपछि बँदेल नियन्त्रणमा लिन प्राविधिक जनशक्ति अछाममा नभएकाले आवश्यक प्राविधिक टोली पठाउन प्रदेश वन निर्देशनालयलाई अनुरोध गरिएको डिभिजन वन कार्यालयका  प्रमुख जनक उपाध्यायले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप