मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रवि लामिछानेविरुद्ध जाहेरी लिन नमानेपछि पुन: जाहेरी दिने सहकारी पीडितको तयारी

सोमबार, २२ माघ २०८०, ०९ : ५१
सोमबार, २२ माघ २०८०

पोखरा । पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरुको जाहेरी कास्की प्रहरीले लिन मानेको छैन । संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार रवि लामिछाने लगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी पीडितहरुलाई फर्कादिएको हो ।

‘हामीले ८० जना विरुद्ध जाहेरी दिन लागेका छौँ,’ संयोजक श्रेष्ठले भने, ‘तीन पटकसम्म जाहेरी दिन गयौँ, प्रहरीले तीनै पटक फर्कायो । कहिले पारिवारिक विवरण नखुलेको भनेर फर्कायो । कहिले सहकारी ऐन अन्तर्गत भएन भनेर फर्कायो ।’

उनले छानबिन समितिको प्रतिवेदन पढेर सम्भावित दोषीहरुविरुद्ध जाहेरी दिन लागेको बताएका छन् । ‘प्रतिवेदन पढेर हामीले जाहेरी लेखेका हौँ । छानबिनको कुरा त प्रहरीले गर्ने हो । विज्ञले गर्ने हो नि,’ उनले भने, ‘हामीलाई पारिवारिक विवरणसहित दिनुस् भन्छन् । हामी कहाँ खोज्न जाने ?’

उपाय नलागेपछि पीडितहरुले कम्पनी र पारिवारिक विवरण प्राप्त भएकाविरुद्ध मात्रै अर्को जाहेरी बनाएका छन् ।

‘कम्पनीको हकमा पारिवारिक विवरण नचाहिने रहेछ । प्रहरीकै सल्लाहमा कम्पनी र पारिवारिक विवरण भएकाको जाहेरी लेख्यौँ, फेरि भएन भने । अहिले सरकारी वकिल कार्यालयसँग समन्वय भइरहेको छ,’ पीडितहरु भन्छन्, ‘यो सहकारीको छानबिन नै निकै फितलो छ । अनुसन्धान र अभियोजन पनि कमजोर छ । सच्याएर जानुपर्छ ।’

पीडितहरुले पूरक अनुसन्धानको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन, पोखरा महानगरपालिका, पोखराको सहकारी महाशाखा, उच्च अदालत, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा पूरक अनुसन्धानको मागपत्र बुझाएका छन् ।

‘पत्रको आधारमा प्रहरीले केही काम अघि बढाएको छ । अदालतलाई चिठी लेखेर थुनामा रहेका भविश्वर अर्याललाई झिकाएको रहेछ,’ श्रेष्ठले भने, ‘पोखरा महानगरसँग पनि उपकरण र विज्ञ माग गरेको छ ।’

३ सयभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाउनुपर्ने सूर्यदर्शन सहकारी पीडितहरुको माग छ ।

‘करोडौँ रकम लगेर वर्षौंसम्म अपचलन गरेको पनि देखियो । ऋण नतिर्ने पनि सहकारी डुबाउने मतियार हुन् । पुलेसो कर्जामा रवि लामिछाने पनि छन्,’ उनीहरु भन्छन्, ‘५० लाख लगेकाहरुको करोड पुगिसक्यो । यत्रो विषय आइसकेपछि लामिछानेमाथि पनि अनुसन्धान हुनुपर्छ ।’

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न सूर्यदर्शक सहकारीबाट पैसा लगेको र उक्त टेलिभिजनको प्रवन्ध निर्देशकको भूमिकामा त्यतिबेला रवि लामिछाने रहेका कारण उनी पनि छानबिनको दायरामा आउनुपर्ने पीडितको भनाइ छ ।

उक्त सहकारीबाट करोडभन्दा बढी रकम चलाउने ३० जनाभन्दा बढी छन् । ‘कसैको ३ करोड छ, कसैको ४ करोड छ । कसैको ५० लाख लगेको अहिले १ करोड पुगिसकेको छ,’ पीडितहरुले भने, ‘कसैले ५ वर्षअघि पैसा लगेकाको १ रुपैयाँ पनि व्याज देखिँदैन । शून्य प्रतिशतमा कर्जा लगानी भएको छ ।’

सूर्यदर्शनमा १ हजारभन्दा तल बचत भएका १० हजार ६ सय ५४ वटा खातामा ३१ लाख ८६ हजार रकम छ । १ हजारदेखि ९ हजार ९ सय ९९ सम्म बचत भएका ४ हजार ८ सय ३३ वटा खाताको कुल रकम १ करोड ५२ लाख रुपैयाँ छ । १० हजारदेखि १ लाखसम्म १ हजार ९ सय ४२ वटा खातामा ६ करोड ६८ लाख रकम छ भने १ लाखदेखि १० लाख ९ सयसम्म जम्मा भएका ७० वटा खातामा २९ करोड ९३ लाख, १० लाखदेखि १ करोडसम्म जम्मा भएका २ सय ८५ वटा खातामा ६६ करोड ७० लाख र १ करोडभन्दा माथि जम्मा भएका १६ वटा खाता छन् । यस्तो रकम ३० करोड ३७ लाख जम्मा भएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप