बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम विश्वविद्यालय खेलकुद : पहिलो दिन एथलेटिक्समा त्रिविलाई पाँच स्वर्ण

सोमबार, २२ माघ २०८०, १९ : १४
सोमबार, २२ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टीयू) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन सोमबार एथलेटिक्समा पाँचवटा स्वर्ण पदक जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी एक स्वर्ण भने सुदूरपश्चिम विश्वविद्यालयले हात पार्‍यो  ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष एक हजार पाँच सय मिटर दौडमा टीयूका शेरबहादुर अधिकारी पहिलो भए । उनले निर्धारित दूरी चार मिनेट ३०.१ सेकेन्डमा पूरा गरे । टीयूकै विकेश घिमिरे दोस्रो र सुदूरपश्चिमका खेमराज जोशी तेस्रो भए ।

सोही स्पर्धाको महिलातर्फ टीयूकी राज्यलक्ष्मी रावलले निर्धारित दूरी पाँच मिनेट २५.५ सेकेन्डमा तय गर्दै पहिलो स्थान हासिल गरिन् । काठमाडौँ विश्वविद्यालयका आल्षा रेग्मी दोस्रो र लुनिया त्वायना तेस्रो भए । दशरथ रंगशालामा भएको पुरुष चार सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ५६.३५ सेकेन्ड समय खर्चिएका थिए । टीयूका दिवस रेग्मीले रजत र गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य जिते ।

उक्त स्पर्धाको महिलातर्फ टीयूकी अनामिका देवकोटा पहिलो भइन् । उनले निर्धारित दूरी एक मिनेट १५.३५ सेकेन्डमा पूरा गरिन् ।  सुदूरपश्चिमकी भावना पाण्डे दोस्रो र गण्डकीकी कृति गिरी तेस्रो स्थानमा रहे । पुरुष लङजम्पमा टीयूका दिवस रेग्मी पहिलो भए । उनले ६.२७ मिटर जम्प गरे ।

उक्त स्पर्धामा सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोस्रो र लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेस्रो भए । सोही स्पर्धाको महिलातर्फ टीयूकी संचिता घिमिरेले स्वर्ण चुमिन् । संचिताले ४.२४ मिटर जम्प गरिन् । लुम्बिनीकी रमिता रावत दोस्रो र सुदूरपश्चिमकी भावना पाण्डे तेस्रो भए ।

यसैगरी, टेबलटेनिसको पुरुष डबल्समा टीयूका रजोजमान ढकु र आदित्य धौनियाको जोडीले स्वर्ण पदक जित्यो । उक्त जोडीले फाइनलमा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र विदुर खनालको जोडीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पोखराका विवेक ढकाल र देवबहादुर भुजेल तथा गण्डकीका अनुष कुँवर र दिपेश रानाभाटको जोडी संयुक्त रुपमा तेस्रो भए ।

पुरुष सिंगल्समा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहालले टीयूका आदित्य धौनियालाई ३–० र टीयूका रजोजमान ढकुले काठमाडौंका प्राञ्जयप्रकरण श्रेष्ठलाई ३–० ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्समा टीयूकी लस्ता महर्जनले सुदूरपश्चिमकी रेखा विष्टलाई ३–० र पोखरा विश्वविद्यालयकी मनीषा श्रेष्ठले टीयूकी गीताञ्जली गुरुङलाई ३–२ ले पन्छ्याउँदै फाइनलमा स्थान बनाए ।

यसैगरी, जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा जारी भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विश्वविद्यालयले टीयूसँग र पोखराले मध्यपश्चिम विश्वविद्यालयसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । भलिबलमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले एक कार्यक्रमबिच उद्घाटन गरेका थिए । सो अवसरमा राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, बिना श्रेष्ठ, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

दुई दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी चार खेल समावेश छन् । भलिबलमा छात्र टोली मात्र सहभागी छ । विभिन्न १० विश्वविद्यालयका दुई सय ८० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप