आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कलकारखाना

चार महिनादेखि बन्द रहँदै आएको हेटौँडा सिमेन्टले फेरि थाल्यो उत्पादन

बिहीबार, २५ माघ २०८०, ०६ : ०९
बिहीबार, २५ माघ २०८०

मकवानपुर । विगत चार महिनादेखि बन्द रहँदै आएको हेटौँडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ । हेटौँडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार बिहानबाट उद्योगका सम्पूर्ण मेसिन सञ्चालन गरी सिमेन्ट उत्पादन थालेको हो ।

हेटौँडा–९ मा रहेको उद्योग सञ्चालनका लागि कोइला अभाव हुँदा गत मङ्सिरदेखि उत्पादन ठप्प भएको थियो । उद्योग सञ्चालनका लागि आवश्यक कोइला खरिद गर्न समस्या भएपछि उत्पादन ठप्प भएको महाप्रवन्धक पाण्डेले बताए । कोइला सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न नसकेको उनले बताए ।

केही दिन अघिमात्र उद्योगले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भएको र सो कोइलाको प्रयोग गरी उद्योग सञ्चालन गरिएको महाप्रवन्धक पाण्डेको भनाइ छ ।

१५ दिनलाई पुग्छ कोइला

उद्योग सञ्चालनका लागि आयात गरिएको कोइला नियमित उत्पादनका लागि अपुग हुने देखिन्छ । हाल सप्लायर्सबाट खरिद गरेको कोइलाले १५ दिनका लागिमात्र उद्योग सञ्चालन गर्न पुग्नेछ ।

त्यसपछिका दिन उद्योग सञ्चालनका लागि थप कोइला खरिद गरी आयात गर्नुपर्ने महाप्रवन्धक पाण्डेको भनाइ छ । उद्योग सञ्चालनका लागि आवश्यक १ हजार टन कोइला प्राप्त भएको उनले बताए ।

उद्योग सञ्चालनका लागि दैनिक ७० टन कोइला खपत हुने गरेको महाप्रवन्धक पाण्डेले बताए । उद्योगले दैनिक ७०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरेको छ ।

६ महिनामा २५ दिन चल्यो उद्योग

६ महिनाको अवधिमा हेटौँडा सिमेन्ट उद्योग करिब १ महिना मात्र सञ्चालनमा आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा हेटौँडा सिमेन्ट उद्योग २५ दिनमात्र चलेको छ ।

कोइला अभाव र पुराना मेसिनका कारण विभिन्न पार्टपुर्जा बिग्रिँदा उद्योग बन्द हुने गरेको छ । उद्योगमा पुराना प्रविधिका मेसिनहरु प्रयोग भएकाले मर्मतमा पनि उत्तिकै समय लाग्ने गरेको महाप्रवन्धक पाण्डेको भनाइ छ ।

उद्योग बन्द हुँदा करिब १८० स्थायी कर्मचारी र १०० भन्दा बढी ज्यालाका कर्मचारी कामविहीन बन्नु पर्ने बाध्यता छ ।

सिमेन्ट बिक्री घट्दा उद्योगको दायित्व बढ्दै

हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट पर्याप्त मात्रामा बिक्री नहुँदा उद्योगको घाटा बढ्नुको साथै दायित्व समेत थप हुँदै गएको छ । उद्योगले उत्पादन गरेको सिमेन्ट विगतको तुलनामा बिक्री दर घटेको छ ।

सिमेन्ट बिक्रीका लागि सूचीकृत भएका सप्लायर्सहरुले तोकेभन्दा कम मात्रामा सिमेन्ट खरिद गर्ने गर्दा समस्या भएको महाप्रबन्धक पाण्डेले बताए । उनका अनुसार सूचीकृत भएका सप्लायर्सलाई निजी उद्योगहरुले उधारोमा सिमेन्ट दिने गरेको र हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट पहिले रकम बैंक दाखिला गरेर मात्र सप्लायर्सले खरिद गर्नुपर्ने भएकाले कम बिक्री हुने गरेको छ । समयानुकुल बजार रणनीति नहुँदा सिमेन्टको बिक्रीमा कमी आएको महाप्रवन्धक पाण्डेको भनाइ छ ।

उद्योगमा हाल १ लाख बोरा सिमेन्ट स्टक छ । चालु आर्थिक वर्षमा उत्पादन भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट मौज्दात रहेको महाप्रवन्धक पाण्डेले बताए । सिमेन्ट बिक्री घट्दा कोइला र ढुङ्गाको उधारो, बिजुली महसुल, कर्मचारी उपदानलगायत गरी हाल उद्योगको दायित्व बढ्दै गएको उनले सुनाए ।

हाल उद्योगको दायित्व करिब ५० करोड रहेको महाप्रवन्धक पाण्डेले बताए । कोइलाको करिब २५ करोड रुपैयाँ र बिजुली महसुलमा ६ करोड रुपैयाँ, कर्मचारीको अवकास उपदानको रकम बापत करिब १८ करोड रुपैयाँ उद्योगको दायित्व रहेको उनले बताए ।

५ वर्षदेखि लगातार घाटामा उद्योग

हेटौँडा सिमेन्ट उद्योग विगत ५ वर्षदेखि लगातार घाटामा चलिरहेको छ । उद्योगका अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि २०७९÷०८० सम्ममा उद्योगलाई ९० करोड ३ लाख रुपैयाँ नोक्सान भइसकेको छ ।

उत्पादन लागत बढ्दा घाटा बेहोर्नु परेको महाप्रबन्धक पाण्डेले बताए । लागत मूल्यको अनुपातमा हेटौँडा सिमेन्ट उद्योगको प्रतिबोरा बिक्री मूल्य ८०० रुपैयाँसम्म पर्न आउने उनको भनाइ छ । हाल हेटौँडा सिमेन्ट उद्योगले उत्पादित सिमेन्ट प्रतिबोरा ६४९ रुपैयाँमा बिक्री गरिरहेको छ ।

निजी क्षेत्रका सिमेन्ट उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागतको अनुपातमा बिक्री मूल्य अत्यन्त न्यून रहेको उनले बताए ।

२०४२ मङ्सिर २५ गतेबाट व्यावसायिक उत्पादन थालेको हेटौँडा सिमेन्ट उद्योग १२० बिघा क्षेत्रमा फैलिएको छ । उद्योगको कच्चा पदार्थका लागि मकवानपुरको ओखरे, भैंसे, मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी सञ्चालनमा छ । खानी क्षेत्रमा समेत गरी उद्योगको स्वामित्वमा ३ सय ३८ बिघा जग्गा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप