सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ आर्थिक वर्षको बजेट भाषण संसद्को नयाँ भवनबाट हुनेमा सांसदहरुलाई शंका

बिहीबार, २५ माघ २०८०, १८ : १७
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण भइरहेको संघीय संसद् भवनको काम छिटो सक्न संसदीय समितिले ताकेता गरेको छ । बिहीबार राष्ट्रियसभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले सहरी विकास मन्त्रालय अन्तर्गत रहेको विशेष भवन निर्माण परियोजनाका कर्मचारीहरुलाई बैठकमा बोलाएर संसद् भवन निर्माणको काम छिटो सक्न ताकेता गरेको हो । 

छलफलमा निर्माणको काम गरिरहेको आयोजनाका कर्मचारीहरुले आगामी जेठमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा र राष्ट्रिय सभाको हल तयार पार्ने दाबी गरेका छन् । तर संसद् सचिवालयले भने उनीहरुको कुरालाई विश्वास गर्ने अवस्था नरहेको बताएको छ । बैठकमा उनीहरुले सभा हलमा लागि आवश्यक पर्ने सबै सामग्री खरिद गरिसकेको र जाडो याम सकिन लागेकोले काम गर्ने समय बढाएर भएपछि सभा हल निर्माणको काम छिट्टै सक्ने दाबी गरे । 

समितिले आगामी बजेट भाषण संसद्को आफ्नै हलबाट गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिएको छ । समितिका सभापति प्रकाश पन्थले भने,‘संघीय संसद्को नवनिर्मित भवनको हामीले स्थलगत अवलोकन गर्दा निर्धारित समय आगामी चैत १२ भित्र काम सकिने देखिँदैन । आगामी २०८१ सालको बजेट अधिवेशन यही नयाँ भवनबाट कम्तीमा राष्ट्रिय सभा र प्रतिनिधि सभा यहीँबाट चलाउन सकिने गरी तीव्र रुपमा काम गर्न सरकारलाई निर्देशन दिएका छौँ ।’ 

समितिका सचिव कान्छा दुलालले बजेट प्रस्तुत गर्ने समय आउन ३ महिना बाँकी रहेकोले सो अवधिभित्र उनीहरुले काम सक्छन् भन्नेमा आंशका व्यक्त गरे । उनले भने, ‘बजेट प्रस्तुत गर्ने समय आउन अब ३ महिना बाँकी छ । अहिले भवनमा भएको काम हेर्दा सो अवधिमा उनीहरुले काम सक्छन् भन्न सक्ने अवस्था छैन । रातारात अर्कै हिसाबले काम गरे भने सम्भव पनि छ । अहिले हामीले दुई हललाई मात्र प्राथमिकता राखेर काम गर्न भनेका छौँ ।’

संघीय संसद् भवन निर्माणका टिम लिडर राजुमान मानन्धरले हालसम्म ६२ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । यस्तै ७२ प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भएको उनले बताए । अब झन्डै २ अर्ब रुपैयाँ खर्च गर्न बाँकी रहेको र दिइएको म्यादभित्र काम पूरा गर्न नसकिने अवस्था रहेको उनले बताए । अबको झन्डै २ महिनामा काम पूरा गर्न नसकिने भएकोले अब चौथो पटक म्याद थप गर्नुपर्ने अवस्था रहेको बताए । 

निर्माण व्यवसायीले काम गर्ने समय बढाएर र जनशक्ति थप गरेर काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 

मानन्धरले भने,‘नयाँ संसद् भवनको भौतिक संरचनामा निर्माण अन्तर्गत ३ वटा भवनमा छाना लगाउन बाँकी छ । अरु भवनमा ९५ प्रतिशत काम भइसकेको छ । अब भवन भित्रको काम गर्न बाँकी छ । बिजुली, खानेपानीको काम बाँकी छ । एसीका लागि लगभग सबै सामान आइसकेको छ । ट्वाइलेट, टायल, फिनिसिङको काम बाँकी छ ।’

झन्डै साढे ५ अर्ब लागतमा संघीय संसद् भवन निर्माण भइरहेको हो । २०७६ साल असोज १ गते शिलान्यास गरिएको यो भवन निर्माणको काम ३ वर्षभित्र सक्ने लक्ष्य लिइएपनि निर्धारित समयमा काम हुन सकिरहेको छैन । 

यसअघि सभामुख देवराज घिमिरेले तथा राज्य व्यवस्था तथा सुशासन समितिले छुट्टाछुट्टै रुपमा भवनको स्थलगत अवलोकन गरेर काम छिटो सक्न निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप