शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कृषि उपज

मधेसमा हरेक वर्ष धान उत्पादन घट्दो

खेतीयोग्य जमिन पनि घट्दै
शुक्रबार, २६ माघ २०८०, १२ : १८
शुक्रबार, २६ माघ २०८०

वीरगञ्ज । मधेस प्रदेशमा धान उत्पादन बर्सेनि घट्दै गएको देखिएको छ । प्रदेशका आठ वटै जिल्लामा हरेक वर्ष उत्पादन हुने धानको परिमाण ओरालो लाग्ने क्रममा छ ।

प्रदेशको कृषि विकास निर्देशनालयले दिएको पछिल्लो पाँच वर्षको तथ्याङ्कमा उर्वर भूमिमै धान उत्पादनमा हरेक वर्ष ह्रास आउँदै गएको पाइएको छ ।

प्रदेशभरिमा धान उत्पादनसँगै खेतीयोग्य जमिन पनि घट्दै गएको देखिएको छ । पाँच वर्ष यता प्रत्येक वर्ष धान उत्पादनसँगै खेतीयोग्य जमिन पनि घट्दै गएको तथ्याङ्क छ ।

निर्देशनालयका अनुसार यसरी धान उत्पादनसँगै खेतीयोग्य जमिन पनि घट्दै जानुले गम्भीर अवस्थाको सङ्केत मात्रै गरिरहेको छैन, चिन्ताको विषय बनेको छ ।

पछिल्ला पाँच वर्षमा मधेस प्रदेशमा धानको कुल उत्पादन ८५ लाख मेट्रिक टनको हाराहारीमा छ भने यो धान २३ लाख १८ हजार ९६७ हेक्टर क्षेत्रफलबाट उत्पादित भएको विवरण छ ।

आर्थिक वर्ष ०७५-०७६ देखि चालु आर्थिक वर्षसम्ममा ८५ लाख ७६ हजार २ सय ७४ मेट्रिक टन धान उत्पादन भएको प्रदेशको कृषि विकाश निर्देशनालयको तथ्याङ्क छ ।

यो वर्ष मधेस प्रदेशका आठ जिल्लामा मात्रै वर्षे धान करिब १३ लाख मेट्रिक टन उत्पादन भएको छ । मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेसमा यो वर्ष १२ लाख ९६ हजार ६ सय ७ मेट्रिक टन धान उत्पादन भएको छ । आठ वटै जिल्लामा गरी कुल ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।   

आर्थिक वर्षको ०८०-८१ को जिल्लागत तथ्याङ्क

धनुषा : यो वर्ष धनुषामा १ लाख १७ हजार ६०० मेट्रिक टन धान उत्पादन भएको छ । धनुषाका ४२ हजार हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको सरकारी तथ्याङ्क छ ।

सिरहा : यहाँ चालु आर्थिक वर्षमा ४५ हजार ९०० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो, जसबाट १ लाख ६६ हजार ४८६ मेट्रिक टन उत्पादन भएको छ ।

महोत्तरी : यो वर्ष यहाँ ३९ हजार ८७० हेक्टर क्षेत्रफलमा १ लाख २२ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको छ ।

सप्तरी : यहाँ २ लाख १७ हजार ६०० मेट्रिक टन धान उत्पादन भएको छ । सप्तरीमा यो वर्ष ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।

रौतहट : रौतहटमा ३५ हजार ६३० हेक्टर क्षेत्रफलमा १ लाख ४१ हजार २३३ मेट्रिक टन धान उत्पादन भएको छ ।

सर्लाही : सर्लाहीमा ४५ हजार ८०० हेक्टर क्षेत्रफलमा १ लाख ४१ हजार ९८० मेट्रिक टन वर्षे धान उत्पादन भएको विवरण छ ।

बारा : बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा १ लाख ९१ हजार ६२ मेट्रिक टन धान यो वर्ष उत्पादन भएको तथ्याङ्क छ ।

पर्सा : पर्सामा यो वर्ष ५७ हजार हेक्टर क्षेत्रफलमा १ लाख ९७ हजार ९४६ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ । यो तथ्याङ्कलाई केलाउने हो भने गत वर्षको तुलनामा यो वर्ष वर्षे धानको उत्पादनमा निकै कमी देखिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्ने हो भने मधेस प्रदेशमा यो वर्ष ७४ करोड १२ लाख ८० हजार ८४८ किलो चामल चाहिन्छ । तर यो वर्ष मधेसमा भने १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताका अनुसार यस वर्ष मधेसमा १ लाख २५ हजार ८२९ मेट्रिक टन कम उत्पादन भएको छ । उनी भन्छन्, ‘प्रदेशमा यस वर्ष समयमा वर्षा भएन, पानी नपर्दा नै वर्षे धान उत्पादन घटेको हो । साथै स्थायी सिँचाइ तथा मलखादको अभावले पनि उत्पादनमा ह्रास आएको हो ।’

यसका अलावा पोखरी खन्नाले क्षेत्रफलमा कमी र बाँझो छाडिएको हुनाले धान उत्पादनमा कमी आएको उनको विश्लेषण छ ।

५ वर्षमा कति क्षेत्रफलमा कति उत्पादन ?

आर्थिक वर्ष ०७५-०७६ देखि चालु आर्थिक वर्षसम्मको तथ्याङ्कमा एक वर्षमा मात्रै धान उत्पादन र क्षेत्रफल बढेको पाइएको छ । अरु वर्षमा भने उत्पादन र क्षेत्रफलमा कमी हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

मधेस प्रदेशमा ०७५-०७६ मा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादनको छ । उक्त वर्ष मधेसको ४ लाख १ हजार ९ सय ६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।

यो पाँच वर्षको अवधिमा गत वर्षमात्रै धान उत्पादन बढेको थियो । त्यस अलावा अन्य सबै वर्ष धान उत्पादनमा कमी आउँदै गएको देखिन्छ । खेतीयोग्य जमिनमा पनि बर्सेनि कमी हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।

०७६-०७७ मा ३ लाख ७७ हजार ६११ क्षेत्रफलमा १४ लाख २० हजार ४३६ मेट्रिक टन, ०७७-०७८ मा ३ लाख ८२ हजार २७५ हेक्टर क्षेत्रफलमा १४ लाख ३२ हजार ८१८ मेट्रिक टन, ०७८-०७९ मा ३ लाख ८१ हजार ८९८ हेक्टर क्षेत्रफलमा १३ लाख ८९ हजार २०५ मेट्रिक टन धान उत्पादन भएको छ ।

यसैगरी ०७९÷०८० मा ४ हजार ४ हजार ९२७ हेक्टर क्षेत्रफलमा १५ लाख ४२ हजार १६४ मेट्रिक टन धान उत्पादन भएको छ भने चालु आर्थिक वर्षमा ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको रेकर्ड छ ।  

यो पाँच वर्षको अवधिमा गत वर्षमात्रै धान उत्पादन बढेको थियो । त्यस अलावा अन्य सबै वर्ष धान उत्पादनमा कमी आउँदै गएको देखिन्छ । खेतीयोग्य जमिनमा पनि बर्सेनि कमी हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।

धानमा कति आत्मनिर्भर मधेस ?

राष्ट्रिय जनगणना २०७८ का अनुसार मधेस प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या छ ।  कृषि मन्त्रालयको एक आँकडा अनुसार नेपालीले औसत प्रति वर्ष १३७ किलो चामलको भात खान्छन् । यद्यपि, अन्तर्राष्ट्रिय खपत मापदण्डमा चामल प्रतिव्यक्ति वार्षिक १२१ किलोमात्रै छ । अर्थात् एक वर्षमा एक जनालाई १२१ किलो चामल चाहिन्छ ।

यही अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्ने हो भने मधेस प्रदेशमा यो वर्ष ७४ करोड १२ लाख ८० हजार ८४८ किलो चामल चाहिन्छ । तर यो वर्ष मधेसमा भने १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको छ । यसलाई किलोमा हेर्दा यो १ अर्ब २९ करोड ६६ लाख ७ हजार किलो धान हुन्छ, जसबाट चामल उत्पादन भने ४० प्रतिशत हुने एक चामल उद्योगी बताउँछन् ।

वीरगञ्जका चामल उद्योगी राजनकुमारका अनुसार ८ प्रतिशत ब्राण्ड, ८ प्रतिशत कनिका, २२ प्रतिशत भूस र २ प्रतिशत डट्समा खेर गएर ६० प्रतिशत मात्रै चामल उत्पादन हुन्छ । यो हिसाबले मधेसमा उत्पादित धानबाट तयार हुने चामल मधेसको समग्र जनसंख्यालाई अपुग हुने अवस्था रहेको चामल व्यवसायी राजन बताउँछन् ।

त्यसकारण समयमै धान उत्पादन बढाउन र खेतीयोग्य जमिनतर्फ ध्यान केन्द्रित गर्न जरुरी रहेको चामल व्यवसायी राजनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप