शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छ : मन्त्री श्रेष्ठ

शुक्रबार, २६ माघ २०८०, १६ : १४
शुक्रबार, २६ माघ २०८०

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले शिक्षामा विशेष लगानी गरेर डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको केही वर्षभित्रै अन्त्य गर्ने बताएका हुन् । शुक्रवार सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ हायुटार स्थित श्री मावि मरिण हायुटारको ६१ औं  वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्वरोजगारमूलक प्राविधिक शिक्षामा पनि जोड दिने बताए । उनले गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्न नसकेको बताए । उनले शिक्षाले ज्ञान, सिप र संस्कृति एकसाथ सिकाउनु पर्ने भएपनि अहिलेको शिक्षाले यी तीनै कुरा राम्रो सँग सिकाउन नसकेको बताए ।

मन्त्री श्रेष्ठले जीवनोपयोगी गुणस्तरीय शिक्षाको लागि शैक्षिक नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक निर्माण गर्न राज्यले संविधानमा व्यवस्था भए अनुसार शिक्षामा कम्तीमा बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने बताए । उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । उनले शिक्षामा गुणस्तर वृद्धि गर्न राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए । 

भौतिक पूर्वाधार गुणस्तरीय शिक्षाको एउटा अंश मात्रै रहेको भन्दै मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार सँगसँगै शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक र अभिभावकहरूलाई अनुरोध गरे । उनले प्राविधिक शिक्षा भन्ने बित्तिकै डाक्टर, इन्जिनियर मात्रै भन्ने बुझाई समाजमा रहेको उल्लेख गर्दै प्राविधिक शिक्षा डाक्टर, इन्जिनियर मात्रै नभएर स्वरोजगार बनाउने शिक्षा पनि भएको बताए ।

मन्त्री श्रेष्ठले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको विषयलाई पाठ्यक्रममा राखेर पढाउनुपर्ने बताए । त्यसरी पढाउन नसक्दा अहिलेको नयाँ पुस्ताले राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण नगर्ने खतरा बढिरहेको उनको भनाई छ । उनले प्रदेश सरकारले नयाँ पुस्तालाई हेरेर हरेक नीति, योजना, कार्यक्रमहरू बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप