बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका पूर्वउपकुलपतिहरुले भने– आउने उपकुलपतिले आफ्नै टिम बनाउनसक्ने प्रावधान हुनुपर्छ

शुक्रबार, २६ माघ २०८०, १९ : २२
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले नयाँ नियुक्त हुने उपकुलपति आफ्नै टिम बनाउनसक्ने प्रावधान हुनुपर्ने बताएका छन् । शुक्रबार त्रिविका पूर्वउपकुलपतिहरू  महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनजंग शाहले विज्ञप्ति जारी गर्दै अब आउने उपकुलपतिले अन्य पदाधिकारीहरू समेतको आफ्नै टोली बनाउनसक्ने व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ,‘नियुक्त हुने उपकुलपतिले अन्य पदाधिकारीहरू समेतको आफ्नै टोली बनाएर काम गर्न पाएमात्र उपकुलपतिको नेतृत्व प्रभावकारी हुने हुँदा उपकुलपतिले आफ्नो टोली आफैँ बनाउन सक्ने प्रावधानको प्रादुर्भाव हुनु पनि उत्तिकै आवश्यक छ । यस प्रावधानतर्फ पनि सम्बन्धित सबैको ध्यान जाओस्, हाम्रो आग्रह छ ।’

यस्तै पूर्वउपकुलपतिहरूले दलगत राजनीतिबाट मुक्त गर्ने अभिप्रायले उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको भए पनि उपकुलपतिको राम्रो छनोट मात्र सबै समस्याको समाधान नभएको उल्लेख गरेको छन् । उनीहरुले विश्वविद्यालयलाई अहिलेको समस्याबाट मुक्त गर्न व्यापक सुधार गरी अघि बढाउन सबै दलहरूको राजनैतिक सहमति आवश्यक रहेको  बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालय राष्ट्रको एक धरोहर संस्था हो र यसको सुधारले देशको विभिन्न पक्षमा सकारात्मक असर अवश्य पर्नेछ । त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन रहेको लामो समय व्यतीत भइसकेको छ । अब अरू ढिलो नगरी सिफारिस समितिले यथाशीघ्र उत्कृष्ट उम्मेदवारको सिफारिस गर्न पनि हामी आग्रह गर्दछौँ ।’

पूर्वउपकुलपतिहरूले विश्वविद्यालयहरूको नेतृत्व चयनमा अदृश्य रूपमा भागवण्डाले आश्रय पाएमा नेपालको उच्च शिक्षालाई अझ कमजोर बनाउने बताएका छन् । 

Statement with amended date_page-0001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप