शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका निमित्तले गरे सहायक डीनदेखि क्याम्पस प्रमुखसम्मको नियुक्ति

आइतबार, २८ माघ २०८०, २१ : ०७
आइतबार, २८ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति दिइएको छ । उपकुलपतिसहितका निमित्तको भरमा चलिरहेको विश्वविद्यालयले सहायक डीनसहित क्याम्पस प्रमुखसम्म नियुक्त गरेको हो । 

माघ २५ गतेदेखि कार्यभार सम्हाल्नेगरी सहायक डीन, ३ जना विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुख नियुक्त गरिएको हो । 

तीन महिने कार्यकालका लागि प्राडा शिवलाल भुसाललाई दोस्रो पटक उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनले उपकुलपति हुनका लागि आवेदन समेत दिएका छन् भने सर्ट लिष्टमा पनि परेका छन् । 

हाल त्रिविमा उनीसँगै अन्य दुई पदाधिकारी समेत निमित्त नै छन् । शिक्षाअध्यक्ष कृष्णप्रसाद बस्याल र रेक्टर भार्गव धिताल समेत निमित्त नै हुन् । ६ सदस्य रहने त्रिवि कार्यकारी परिषद्मा ३ जना निमित्त छन् ।  

उपकुलपतिको अध्यक्षतामा रहने परिषदमा रजिस्ट्रार र रेक्टरसँगै अध्ययन संस्थान डीनमध्येबाट एक जना, संकायका डीनमध्येबाट एक जना, विश्वविद्यालय शिक्षकमध्येबाट दुई सदस्य रहन्छन् । कार्यकारी परिषदमा रहेकामध्ये उपकुलपति, रजिस्ट्रार र रेक्टर निमित्त छन् । रजिस्ट्रारलाई सदस्य–सचिवको जिम्मेवारी तोकिएको हुन्छ । 

माघ २३ मा बसेको कार्यकारी परिषद् बैठकले प्राध्यापक चिरञ्जीवी आचार्यलाई मानविकी तथा सामाजिक शास्त्र संकायको सहायक डीनमा नियुक्त गरेको छ । उनी नेपाली कांग्रेस निकट मानिन्छन् । 

त्यस्तै नेपाली केन्द्रीय विभाग प्रमुखमा कृष्णप्रसाद न्यौपाने, गणित विभाग प्रमुखमा चेतराज भट्टराई, भूगर्भशास्त्र विभाग प्रमुखमा दिनेश पाठकलाई नियुक्त गरिएको हो । 

त्यस्तै परिषद्ले ६ वटा क्याम्पसको प्रमुख समेत भागबण्डाको आधारमा नियुक्त गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकटकाले क्याम्पस प्रमखुको जिम्मेवारी पाएका हुन् ।  

सबैभन्दा बढी नेकपा माओवादी केन्द्र निकटबाट ३ जनाले क्याम्पस प्रमुखको नियुक्ति पाएका छन् । त्यस्तै नेपाली कांग्रेस निकटबाट २ जना र नेकपा एमाले निकटबाट १ जनाले नियुक्ति पाएका हुन् । 

माओवादी निकटबाट गोरखाको गोरखा क्याम्पस, लमजुङको लमजुङ क्याम्पस र काठमाडौँको नेपाल ल क्याम्पसको प्रमुख नियुक्त भएका हुन् । गोरखा क्याम्पसमा उपप्राध्यापक नवराज पाण्डे, लमजुङ क्याम्पसमा उपप्राध्यपाक मिलन सुवेदी  र नेपाल ल क्याम्पसको प्रमुखमा सहप्राध्यापक श्यामबहादुर कार्की नियुक्त भएका हुन् । 

त्यस्तै काठमाडौँको पब्लिक युथ क्याम्पसको प्रमुखमा कांग्रेस निकट उप–प्राध्यापक रामेश्वर आचार्य नियुक्त भएका छन् भने रामपुर क्याम्पसमा उपप्राध्यापक कपिल काफ्लेलाई नियुक्त भएका छन् । उनी पनि कांग्रेस निकट हुन् । 

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुखमा भने एमाले निकट सहप्राध्यापक गंगाराम पौडेल नियुक्त भएका छन् । 

त्रिवि कार्यकारी परिषद् सचिवालय प्रमुख बैकुण्ठ थपलियाले सम्बन्धित डीनले पठाएको सूचीका आधारमा शिक्षाध्यक्षले त्रिवि कार्यकारी परिषद् समक्ष पेश गर्ने र परिषद्ले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको बताए । त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार नियुक्तिको अधिकार परिषद्लाई दिएको छ । सोही आधारमा परिषद्ले नियुक्ति गरेको उनको भनाइ छ । राजनीतिक भागबण्डाको आधारमा नियुक्ति गरिएको विषयमा आफूलाई जानकारी नभएको उनले बताए । 

त्रिवि उपकुलपति प्राडा शिवलाल भुसालले नियमसँगत नै नियुक्ति गरिएको बताए । संस्थाहरू नेतृत्वविहीन भएर अस्तव्यस्त हुन लागेपछि नियुक्तिको निर्णय गरिएको उनको भनाइ छ । 

निमित्तको भरमा चलेको विश्वविद्यालयमा नियुक्ति गर्न नहुने भन्दै चौतर्फी विरोध सुरू भएको छ । कांग्रेस, एमाले र  माओवादी केन्द्र निकट बाहेकका सरोकारवालाले यसको विरोध थालेका छन् । उनीहरूले प्रधानमन्त्रीको विश्वविद्यालयलाई राजनीतिक भागबण्डा मुक्त गराउँछु भन्ने अठोट गलत साबित भएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप