आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव : तिवारीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

सोमबार, २९ माघ २०८०, १३ : ४२
सोमबार, २९ माघ २०८०

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका हुन् । 

यसैगरी उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनीय योगदान पुर्‍याउने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेललाई प्रशंसापत्र प्रदान गरे । साथै उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार समेत प्रदान गरेका थिए । उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जद्वारा प्रकाशित ‘प्रेरणा-२०८०’ को लोकार्पण समेत गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले अख्तियार गरेका नीतिको सफल कार्यान्वयन तथा संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न व्यावसायिक तवरले प्रशिक्षित जनशक्तिद्वारा स्वतःस्फूर्त रूपमा प्रदर्शित हुने निःस्वार्थ सेवा भाव र कर्तव्य बोधद्वारा प्रेरित कामकारबाहीबाट मात्र सम्भव हुने बताए । समग्र संगठनको श्रीवृद्धि गर्न, समय, समाज र संगठनको आवश्यकता अनुसारको जनशक्तिको उत्पादन प्रहरी प्रशिक्षण र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख ध्येय हुनुपर्ने उनले बताए । 

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्न सक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताए । साथै उनले प्रतिष्ठानले प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधार तथा प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताए ।

समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, पूर्व प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व समादेशकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप