सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
महासमिति बैठक

कांग्रेस महासमितिको तयारी : कस्तो बन्यो तीन प्रतिवेदनको मस्यौदा ?

मङ्गलबार, ०१ फागुन २०८०, ०९ : ५१
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा पेस हुने प्रतिवेदनको मस्यौदालाई अन्तिमरुप दिने गृहकार्य भइरहेको छ । उपसभापति पूर्णबहादुर खड्का नीतिगत, महामन्त्री गगन थापा साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्मा समसामयिक राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गरिरहेका छन् ।

कांग्रेसले महासमिति बैठकमा पेस हुने प्रतिवेदनको मस्यौदा अनुमोदन गर्न फागुन ३ मा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आगामी फागुन ७-१० मा ललितपुरको गोदावरीमा हुने महासमिति बैठकमा पेस हुने नीतिगत, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदनको मस्यौदालाई अन्तिमरुप दिने काम भइरहेको छ । 

जसमा पार्टीले लिने समग्र नीतिसहित उपसभापति खड्काको करिब ४० पेजको प्रतिवेदनको मस्यौदा केन्द्रीय समितिमा पेस हुने छ । उपसभापति खड्काको नीति प्रतिवेदनको मस्यौदा तयार पार्न गठित टोलीलाई महामन्त्रीद्वय थापा र शर्माले संयोजन गरिरहेका छन् । कांग्रेसको आगामी नीति बनाउन योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेल, साहित्यकार डा.नवराज लम्साल, परराष्ट्रविज्ञ गेजा शर्मा वाग्ले, उपप्राध्यापक दीपेश घिमिरे, मदन कट्टेल लगायत खटिएका छन् ।

उनीहरुको टिमले कांग्रेसको आगामी राजनीतिक, आर्थिक, परराष्ट्र लगायतका नीतिको मस्यौदा तयार पारिरहेको छ । नीतिगत प्रतिवेदनको मस्यौदामा कांग्रेसले पृथक् कुरा राखेको छैन । पार्टीको वर्तमान राजनीति, आर्थिक परराष्ट्र नीतिलाई समयसापेक्ष रूपमा व्याख्या मात्र गर्न खोजेको प्रतिवेदन लेखनमा सहभागी सदस्यहरूको भनाइ छ ।

कांग्रेस महामन्त्री थापाका अनुसार कार्यकर्ता तहदेखि पार्टीका विभिन्न कमिटीबाट औपचारिक र अनौपचारिक रूपमा आएका सुझावका आधारमा प्रतिवेदन मस्यौदा भइरहेको छ ।

महामन्त्री थापाबाट करिब २५ पेज लामो सांगठनिक प्रतिवेदनको मस्यौदा केन्द्रीय समितिमा पेस हुने छ । सांगठनिक प्रतिवेदनको मस्यौदा लेखनमा सहभागी प्रताप पौडेलले भने, ‘सांगठिनक हिस्सामा पार्टी ठिकठाक अवस्थामा छ । चुनाव जितेर ठुलो पार्टी भएको छ । तर, आम कांग्रेसजनमा अलमल सिर्जना भएको छ ।’

उनका अनुसार अलमलको कारण महासमिति बैठकले खोज्ने गरी महामन्त्री थापाले सांगठनिक प्रतिवेदनको मस्यौदा गरिरहेका छन् । ‘पार्टी संगठन बाहिर रहेर पार्टीलाई मत दिने ठुलो तप्का छ । यो तप्काले पछिल्ला दिनमा निराशा व्यक्त गरिरहेको छ । महासमितिमा त्यसको कारण खोज्ने गरी संगठन प्रतिवेदनको मस्यौदा भइरहेको छ,’ पौडेलले भने ।

पार्टीप्रति निराशा पैदा हुनमा चुनावी गठबन्धन कारक बनेको प्रतिवेदनको मस्यौदामा उल्लेख छ । वर्तमान विधान कार्यान्वयनको समस्या र त्यसको उपायमाथि महासमिति बैठकमा छलफल हुने उनको भनाइ छ ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनको मस्यौदामा पार्टीमा ‘ल्याट्रल इन्ट्री’को प्रस्ताव राखिएको छ । कांग्रेसमा अहिले नयाँ मान्छेलाई केन्द्रीय सदस्य बन्न वडादेखि महाधिवेशन प्रतिनिधि जितेर आएपछि मात्र ढोका खुल्छ । महामन्त्री थापाले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त मान्छेलाई पार्टीभित्र ल्याउने वातावरण बनाउन ‘ल्याट्रल इन्ट्री’को प्रस्ताव छलफलमा ल्याउन खोजेका छन् ।

केन्द्रमा बसेर कांग्रेसका लागि दिनरात काम गरेको मान्छे वडामा जाँदा गुट-उपगुटले वडा तहमै पराजित गरिदिन्छन् । कांग्रेसको वर्तमान सांगठनिक संरचनामा भूगोलबाट मात्रै पार्टीको नेतृत्व तहसम्म पुग्ने अवस्था छ ।

यसले क्षमतावान् मान्छेलाई पार्टीमा ल्याउन अवरोध सिर्जना गरेको भन्दै पार्टीप्रति बौद्धिक वर्गको आकर्षण बढाउनका लागि महामन्त्री थापाले ल्याट्रल इन्ट्रीको विषय प्रतिवेदनको मस्यौदामा राखेको बताइन्छ ।

सांगठनिक प्रतिवेदनको मस्यौदामा महाधिवेशनको कार्यतालिकाको विषय पनि उल्लेख छ । महाधिवेशन हुने तिथिमिति सहितको तालिका प्रतिवेदनको मस्यौदामा राख्ने विषयमा घनिभूत छलफल भइरहेको छ । भ्रातृ संस्था गठनको अधिकार सभापतिलाई दिने विषयमाथि छलफल भए पनि त्यसले अन्तिम स्वरूप पाएको छैन ।

उक्त छलफलले मूर्तरुप पाए पार्टीका सम्बन्धित तहका सभापतिले भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने छन् । यस पटक महासमिति बैठकबाट कांग्रेसको विधान संशोधन हुने गरी अहिलेसम्म छलफल भएको छैन । सांगठनिक प्रतिवेदनमा पनि विधान संशोधनको प्रस्ताव नरहेको पौडेलको भनाइ छ । कांग्रेसले विधान संशोधन मस्यौदा तयारी समितिसमेत नबनाएकाले विधान संशोधनबारे छलफलमात्र हुने छ ।

यस्तै महामन्त्री शर्माको पनि करिब २५ पेजको समसामयिक राजनीतिक प्रतिवेदनको मस्यौदा तयार भएको छ । शर्माको प्रतिवेदन समकालीन समाज, युवामा छाएको निराशा, आक्रोश र त्यसको समाधानको उपायमाथि केन्द्रित छ ।

राजनीतिक प्रतिवेदन लेखनमा सहभागी दिनेश थापा मगरले त्यसलाई अन्तिमरुप दिन बाँकी रहेको बताए । ‘समकालीन नेपाली समाज कस्तो छ ? हामीले परिकल्पना गरेजस्तो नेपाली समाज बनाउन सकेका छौँ कि छैनौँ ? नारामा मात्र सीमित राख्यौँ कि व्यवहारमा लागु ग¥यौँ ?,’ उनी भन्छन्, ‘नेपाली समाजमा निराश किन भयो ? राजनीतिक दलहरूप्रतिको वितृष्णा किन भयो ? त्यसलाई सुधार्न के गर्नुपर्छ ? समीक्षासहित समाधानका उपाय प्रतिवेदनमा उल्लेख गरिएको छ ।’

उनका अनुसार सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदनमा दुवै महामन्त्रीको स्वामित्व रहने छ । ‘महामन्त्री पद एउटै हो । महामन्त्री मात्र दुई वटा हो । त्यसैले दुवैको ओनरशिप हुने छ । त्यही अनुसार केन्द्रीय समितिमा पेस हुन्छ,’ उनले भने ।

  • व्यवस्थापकीय तयारीमा जुटे उपसमिति

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको महासमिति बैठक तयारी मूल समितिमा केन्द्रीय समिति, प्रदेश समितिका सभापति, उपत्यकाका कांग्रेस जिल्ला सभापति सदस्य छन् । कांग्रेसले महासमितिका तयारीका लागि ९ वटा उपसमिति बनाएको छ ।

प्रचार–प्रसार उपसमिति संयोजकमा पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा छन् भने आर्थिक उपसमिति संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य अनिल रुंगटालाई दिइएको छ ।

आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदय शमशेर राणा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमिति संयोजकमा उर्मिला नेपाल ‘केसी’ छन् ।

यस्तै प्रदेश समन्वय उपसमिति संयोजकमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमिति संयोजकमा ललितपुर सभापति जितेन्द्र श्रेष्ठ छन् । कांग्रेसले ९ वटै उपसमितिलाई विस्तार गरिसकेको छ । उपसमितिहरुले महाधिवेशनको तयारीका लागि धमाधम काम गरिरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप