शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

महासमितिका बैठक : ६ जिल्लामा गेट, गोदावरीमा सेल्फी पोइन्ट

बुधबार, ०२ फागुन २०८०, १७ : ४०
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न फागुन ७—१० मा हुने महासमिति बैठकको तयारीबारे जानकारी गराएको छ । महासमिति बैठकको तयारीबारे पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले महासमिति बैठकको तयारीबारे जानकारी गराएका हुन् ।

कांग्रेसले महासमितिको नारा ‘राजनीतिक स्थायित्वमा, रुपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समनता, नेपाली कांग्रेसको प्रतिबद्धता’ तय गरेको उनले बताए ।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन,  महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने उनले बताए ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा महासमिति बैठक तयारी मूल समिति रहेको छ । जसमा केन्द्रीय समिति, प्रदेश समितिका सभापति, उपत्यकाका कांग्रेस जिल्ला सभापति सदस्य छन् । कांग्रेसले महासमितिका तयारीका लागि ९ वटा उपसमिति बनाएको विश्वकर्माले बताए ।

प्रचार–प्रसार उपसमिति संयोजकमा पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा छन् भने आर्थिक उपसमिति संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य अनिल रुंगटालाई दिइएको छ ।

आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदय शमशेर राणा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमिति संयोजकमा उर्मिला नेपाल ‘केसी’ छन् ।

यस्तै प्रदेश समन्वय उपसमिति संयोजकमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमिति संयोजकमा ललितपुर सभापति जितेन्द्र श्रेष्ठ छन् ।

कांग्रेसले ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म सडकमा पार्टीको झण्डा लगाउने विश्वकर्माले बताए । महासमिति बैठका लागि कांग्रेसले काठमाडौँको आठ वटा गेट बनाएको छ भने ललितपुरमा ६  र भक्तपुरमा ५ वटा गेट बनाएको छ । काभ्रेमा, धादिङ, नुवाकोटमा र मकवानपुरमा दुई—दुई गेट बनाएको छ ।

पाँच सय पोस्टर देशभर लगाइने उनले बताए । उनका अनुसार कांग्रेस महासमिति बैठकमा सेल्फी पोइन्ट बनाइने छ । महासमिति प्रतिनिधिलाई महाधिवेशनस्थलबाट आउन र जान यातायातको व्यवस्था गरेको छ ।

बिहान खाजा—खाना, दिउँसो खाजाको व्यवस्था गरिएको उनले बताए । साँझको खाना र आवासको जिम्मा महासमिति सदस्य आफैँले गर्नुपर्ने विश्वकर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप