सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

दुर्गा प्रसाईंको जनमत तान्न लिङ्देनको एकता कार्ड

प्रसाईंको प्रश्न : वार्ता गर्न राप्रपासँग के छ ?
बुधबार, ०२ फागुन २०८०, १७ : ४५
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । राजतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाको एजेण्डासहित भ्रष्टाचारविरोधी अभियान चलाइरहेका मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईंको पक्षमा देखिएको जनमतमा लोभिएको राप्रपाले अप्रत्याशित रूपमा ‘एकताको कार्ड’ फ्याँकेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंबिचको सम्बन्ध त्यति सुमधुर नरहेको चर्चाका बिच राप्रपाको तर्फबाट एकाएक एकताको कार्ड अघि सारिएको हो । सुरुमा व्यवस्था विरोधी आन्दोलनमा कार्यगत एकता र त्यसपछि पार्टी एकतासम्मै पुग्ने योजनाका साथ राप्रपाले वार्ता समिति गठन गरेको नेताहरूको भनाइ छ ।

त्यसका लागि राप्रपाले उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्री डा धवलशमशेर राणाको नेतृत्वमा वार्ता समिति बनाइसकेको छ । उपाध्यक्ष गुरुङले तत्कालका लागि प्रसाईंसँग मिलेर आन्दोलनमा जाने गरी पार्टीको तर्फबाट वार्ता समिति बनाइएको रातोपाटीलाई जानकारी दिए । ‘हाम्रो समान उद्देश्य भएकाले आन्दोलनमा मिलेर जाऔँ भनेर संवादका लागि वार्ता समिति बनाइएको हो,’ उनले रातोपाटीसँग बुधबार भने, ‘वार्ता समितिले मंगलबार प्रसाईंसँग सामान्य संवाद गरेको छ । यो संवादलाई निरन्तरता दिन्छौँ ।’

उनका अनुसार वार्ता समितिले तत्कालका लागि मिलेर आन्दोलन गर्ने बारेमा प्रसाईंसँग छलफल गरेको छ । आगामी दिनमा एकताको चरणसम्म पनि पुग्न सकिने ढोका पनि खुला रहेको उनको भनाइ छ । अहिले नै एकता गर्ने भनेर भन्नुभन्दा पनि अहिलेको आवश्यकताअनुसार दुवै पक्ष मिलेर आन्दोलनमा जाने विषय प्रमुख रहेको उनको भनाइ छ ।

राप्रपाले आफ्नो तर्फबाट वार्ता समिति बनाए पनि प्रसाईंको तर्फबाट कुनै समिति बनाइएको छैन । बरु प्रसाईंले राप्रपाले गठन गरेको समिति र नेतृत्वलाई नै चिढ्याउन बनाउने गरी अभिव्यक्ति दिएका छन् । प्रसाईले आफू राप्रपामा भित्रने कुरा कल्पनाबाहिरको कुरा भएको मात्रै बताएका छैनन् ‘रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ ?’ भन्दै कटाक्ष समेत गरेका हुन् ।

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपा संघीय संसद्को पाँचौँ ठुलो पार्टी हो भने प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा अभियान सञ्चालन गर्दै आएका छन् । लिङ्देन र प्रसाईंको समान एजेन्डा भए पनि दुई समूहले छुट्टाछुट्टै अभियान मात्रै गर्दै आएका छैनन्, विगतदेखि नै एकले अर्कालाई नटर्ने गरेको उदाहरण समेत छन् ।

  • लिङ्देन–प्रसाईंबिचको टकराब

राजावादी पार्टी र समूहबिच ‘को पूर्वराजा ज्ञानेन्द्र शाहको निकट’ बन्ने भन्ने होडबाजी देखिन्छ । मिलेर अभियानलाई अघि बढाउनुभन्दा पनि राजावादी शक्तिहरुबिच एकले अर्कालाई नस्विकार्ने प्रवृत्ति हावी छ । सोही प्रवृत्ति राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंमा पनि देखिने गरेको हो । दुवै नेताले एकअर्काविरुद्ध सार्वजनिक रूपमा टिप्पणी गरेर बेलाबेलामा एकअर्कालाई कटाक्ष गर्दै आएका छन् ।

gyanendra durga

पछिल्लो समय दुर्गा प्रसाईंले गत मङ्सिरमा राजधानी केन्द्रित आन्दोलन गर्दा राप्रपाले संस्थागत साथ दिएन भने बरु प्रसाईंलाई देखाइदिने शैलीमा लिङ्देनले झापामा पूर्वराजालाई लगेर शक्ति प्रदर्शन गराएका थिए । पृथ्वीनारायण शाहको सालिक अनावरणको नाममा भएको उक्त कार्यक्रमलाई सफल बनाउन लिङ्देनले सबै शक्ति प्रयोग गरेका थिए । साथसाथै लिङ्देन प्रसाईंको आन्दोलनलाई असफल बनाउन भित्रभित्रै लागिपरेको समेत प्रसाईंले आरोप लगाउने गरेका छन् ।

उसो त लिङ्देन र प्रसाईंले एकअर्कालाई लक्षित बेलाबेला गर्ने टिप्पणीले पनि उनीहरूबिच राम्रो सम्बन्ध नरहेको छनक दिन्छ ।  गत वर्षको फागुनमा इलाममा आयोजित एक कार्यक्रममा लिङ्देनले भनेका थिए, ‘पाँच अर्बभन्दा बढी ऋण लिएर, ब्याज र किस्ता नतिरेर, अहिले त ८ अर्ब पुग्न लागेको छ । कति पैसा विदेशमा पठाएर बसेको छ । त्यो मान्छेले अब बैंकको ब्याज नतिर्ने, ऋण नतिर्ने भन्दाखेरी ताली बजाएर कुद्छन् मान्छे । उसले राजा ल्याइदिन्छ, हिन्दु राष्ट्र ल्याइदिन्छ भनेर मान्छे कुद्छन् !’

त्यतिबेला उनले ‘बैंक ठग’लाई राप्रपाले समर्थन नगर्नेसमेत बताएका थिए । त्यही व्यवहार लिङ्देनले प्रसाईंलाई गर्दै आएको घटनाक्रमले पनि देखाउँछ ।

दुर्गा प्रसाईंले माघको आन्दोलन सफल हुन नसकेपनि अर्को चरणको आन्दोलनको उद्घोष गरिसकेका छन् ।  मंगलबार काठमाडौँमा आफ्नो समर्थकलाई भेला गराएर पहिलो वार्षिकोत्सव सम्पन्न गरेका प्रसाईंले त्यसअघि आन्दोलनको माहौल बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहदेखि राप्रपाका नेताहरू र राजावादी अन्य संगसंगठनका प्रतिनिधिसँग पनि भेट गरेका थिए । सोही सिलसिलामा उनले राप्रपाका अध्यक्ष लिङ्देनसँग समेत भेट गरे पनि संवाद सकारात्मक हुन नसकेको राप्रपाका नेताहरू बताउँछन् ।

प्रसाईंले नै पनि आफूले लिङ्देनलाई भृकुटीमण्डपको कार्यक्रममा निम्ता दिएपनि अनुपस्थित भएको बताएका छन् । लिङ्देनलाई देखाइदिने शैलीमा गत माघ १५ गते प्रसाईंले पूर्वराजासँग भेट गरेका थिए । उक्त भेटमा उनले पूर्वराजासँग आफ्नो अर्थपूर्ण संवाद भएको बताएका थिए । यस्तै प्रसाईंले पूर्वराजासँगको भेटपछि रातोपाटीसँग कुराकानी गर्दै राजेन्द्र लिङ्देनले राजतन्त्र फर्काउन नसक्ने जिकिर समेत गरेका थिए ।

पूर्वराजाले लिङ्देनलाई विश्वास नगरेको जिकिर गर्दै उनले भनेका थिए, ‘राजेन्द्र दाइको एजेन्डा साँढेको टाङमुनि बाल्टी थापेजस्तो हो । राजासँग उहाँले बेलाबेला लन्च मिटिङ मात्रै गर्नुभएको हो, राजसंस्था फर्काउन सक्नुहुन्न ।’

  • एकता कार्डको रणनीतिक अर्थ

निरन्तर ओरालो यात्रामा ब्रेक लगाउँदै पूर्वपञ्चहरुको बाहुल्यता रहेको पार्टी राप्रपाले राजेन्द्र लिङ्देनको नेतृत्वमा गत निर्वाचनमा सुधारिएको नतिजा हासिल गर्न सफल भयो । अझै पनि पार्टीलाई गति दिन राप्रपाका लागि कैयन चुनौती रहेको राप्रपाकै नेताहरू बताउँछन् । यही बिचमा प्रसाईंको पक्षमा पनि केही जनमत देखिएपछि त्यसमा लोभिएर राप्रपाले मिलेर आन्दोलन गर्ने र भविष्यमा एकता गर्नेसम्मको रणनीति बनाएको विश्लेषकहरूको टिप्पणी छ । त्यसमाथि दुवै पक्षले करिब एकै समयमा आन्दोलन गर्दा जनमत बाँडिने भय पनि राप्रपालाई छ । राप्रपाले वर्तमान व्यवस्थाविरुद्ध आन्दोलन गर्नका लागि तयारी तीव्र बनाइरहेको छ ।

सोहीअनुसार सो पार्टीले राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री प्रचण्डलाई फागुन ९ गते मागपत्र बुझाउने निर्णय गरेको छ । बुधबार बसेको राप्रपा आन्दोलन परिचालन समितिको बैठकले सोही दिन जिल्लाहरूमा पनि प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यसपछि सरकारबाट प्राप्त हुने ‘रिस्पोस्स’को आधारमा अघि बढ्न राप्रपाको भनाइ छ ।

राप्रपाका एक नेताले अध्यक्ष लिङ्देनले रणनीतिक उद्देश्यका साथ सहकार्य र एकताको कार्ड फ्याँकेको आफ्नो बुझाइ रहेको बताए । तर, दुई पक्षबिचको वार्ता परिणाममुखी बन्नेमा शंका गर्ने ठाउँ धेरै रहेको उनको बुझाइ छ । ‘दुर्गा प्रसाईं र राप्रपाको आन्दोलन एकसाथ भए भने हाम्रै कार्यकर्ता पनि प्रसाईंतिर जाने देखियो । त्यही भएर यो रणनीतिक पहल हो । मलाई यो इमानदार पहल जस्तो लाग्दैन,’ ती नेताले भने ।

राप्रपाकै ती नेताको भनाइलाई बल पुग्ने गरी बुधबारको पत्रकार सम्मेलनमा प्रसाईंले पनि आफ्नो धारणा राखेका छन् । ‘दुर्गा प्रसाईं राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो’, प्रसाईंले भने, ‘म एमालेको केन्द्रीय सदस्य छँदै थिए नि । राप्रपाभन्दा त एमाले अलि गतिलो पार्टी हो नि ।’

उनले आफू राप्रपामा भित्रिनु त के राप्रपाका मान्छेसमेत आफ्नो आन्दोलनमा सहभागी नगराउने जिकिर गरे । ‘राप्रपामा म भित्रिने त कुरै छाडिदिनुस् न । रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ ?’, आफ्नो आन्दोलनलाई बिथोल्ने प्रयास गरिएको आरोप लगाउँदै उनले भने, ‘वार्ता गर्न ‘राप्रपासँग के छ ?’ उनले गरिबहरूलाई बचाउने आफ्नो आन्दोलन भएको भन्दै निरन्तर त्यसैमा केन्द्रित हुने बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विवादमा तान्न नचाहेको समेत जिकिर गरे । उनले भने, ‘राजा आफ्नै ठाउँमा हुनुहुन्छ हामी आफ्नो ठाउँमा छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप