बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधिमाथि छलफल

बिहीबार, ०३ फागुन २०८०, १६ : १८
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । उद्यमी व्यवसायीहरुबिच स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधिका विषयमा काठमाडौँमा छलफल भएको छ । 

स्टार्टअप कार्यविधि २०८० सरकारले पारित गरेसँगै अहिले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रस्ताव आव्हान समेत गरेको छ । सोही कार्य विधि र कर्जाका विषयमा जानकारी गराउने उद्देश्यले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड ईन्नोभेशन फोरमले छलफल गरेको हो ।

प्रत्यक्ष र भर्चुअल दुवै माध्यमबाट संचालन गरिएको कार्यक्रममा महासंघका कार्यकारिणी सदस्य, स्टार्टअप, नवउद्यमी, साना तथा लघु उद्यमी, आदि गरी करिब १ सय जनाको सहभागिता रहेको थियो । महासंघको स्टार्टअप एण्ड ईन्नोभेशन फोरमले स्टार्टअपका विषयमा निरन्तर काम गरिरहेको छ । फोरमले, स्टार्टअपमा लागेका र नयाँ व्यवसाय थालनी गर्ने योजना बनाएकाहरुबाट निरन्तर यस विषयमा छलफल गर्न आग्रह र जिज्ञासा आएपछि कार्यक्रमको आयोजना गरिएको हो ।

छलफल कार्यक्रममा स्टार्टअप परियोजना कर्जाका विषयमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले सहभागीहरुलाई स्पष्ट पारे । सहुलियत कर्जा लिएका स्टार्टअप, नवउद्यमी, लघु तथा साना उद्योगीहरुले पुन प्रस्ताव पेस गर्न पाउने वा नपाउने र आमा बुवाको नाममा दर्ता भएको तर छोराछोरीले संचालन गरेको हकमा के हुने लगायतका विषयमा जानकारी दिइएको थियो । यसबाहेक, शैक्षिक संस्था, होस्टेल र सबसिडरी उद्यम यसको दायरामा पर्ने नपर्ने, प्यान भ्याटमा दर्ता हुन पर्ने नपर्ने लगायतका जिज्ञासाको कार्यकारी निर्देशकले स्पष्ट पारेका थिए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष सुरकृष्ण वैधले प्रदेश, जिल्ला र स्थानीयस्तरसम्म यस्ता छलफल चलाउनु पर्नेमा जोड दिए । स्थानीयतहसम्म यस्ता विषयमा सूचीत गराउन सकियो भने स्टार्टअप नव उद्यम विस्तार हुन सहयोग पुग्ने र सरकारले आव्हान गरेको स्टार्टअप उद्यम कर्जा आव्हानमा आम सहभागिता बढ्ने विश्वास व्यक्त गरे । महासंघले प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालयसँग मिलेर पनि स्टार्टअपका विषयमा सहकार्य गर्न नीतिगत निर्णय गरिसकेको सो अवसरमा जानकारी गराए । 

महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले स्टार्टअप फोरमको निरन्तर प्रयासका कारण स्टार्टअप उद्यम कर्जा परियोजनाले सार्थकता पाउनेमा महासंघ विश्वस्त रहेको बताइन् । महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरमका सभापति जुना माथेमाले महासंघले स्टार्टअप नेशनल सन्जाल बनाएको र त्यसबाट पनि सदस्यहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्ने काम भैरहेको जानकारी गराउँदै यो कार्यक्रम, परियोजना कर्जा लिई स्टार्टअपलाई अगाडि बढाउन चाहानु भएका सबै यूवा उद्यमीहरुका लाभदायी भएको विश्वास प्रकट गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप