सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान अवस्थामा आर्थिक समृद्धि मुलुकको आवश्यक : राष्ट्रपति पौडेल

शुक्रबार, ०४ फागुन २०८०, १६ : २२
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा आर्थिक समृद्धि मुलुकको आवश्यक रहेको बताएका छन् । राजनीतिक परिवर्तनपछिको मुलुकले आर्थिक विकासमा फड्को मार्नु पर्ने उनले बताए  ।

शुक्रबार काभ्रेमा वृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आर्थिक समृद्धिसँगै शान्ति र विकास मुलुकले खोजेको बताए । उनले देशमा उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । गरिबिको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा रहेकाले सो क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता महसुस भएको उनले बताए ।

‘निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको छ । मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौँ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि हो,’ उनले भने ।

राष्ट्रपति पौडेलले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी युवालाई ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । बढ्दो सहरीकरणको प्रभावबाट छायामा परेको मौलिक वस्तुको उत्पादनलाई बढवा दिनुपर्ने उनले बताए ।

काभ्रेमा कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको भन्दै उनले रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभिवृद्धिमा महोत्सवले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । 

कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण र प्रविधिको उपलब्धतामा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिए । कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्थाका विषय राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलको भनाई छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप