बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
विधान अधिवेशन

हलको मागमा प्रचण्डको अंकुश : के भन्छन् टोली नेताहरू ?

शुक्रबार, ०४ फागुन २०८०, १८ : ४६
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन ‘मस्यौदा विधान– २०८०’ लाई परिमार्जनसहित पारित गरी बिहीबार सकिएको छ । फागुन(१–३)सम्म प्रज्ञा भवन कमलादीमा चलेको अधिवेशनमा करिब १३ सय प्रतिनिधिले समूहगत बहस गरे ।

पदाधिकारीसहित सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने निष्कर्ष २० समूहबाट आएको थियो । केन्द्रीय निकाय अनुशासन आयोग, निर्वाचन अयोग र लेखा आयोगलाई शक्तिशाली बनाउनुपर्ने सुझाव पनि आएको थियो ।

प्रदेश, जिल्ला, जनवर्गीय संगठनलाई स्वायत्तता दिनुपर्ने मुद्दा प्रतिनिधिले जोडदार रुपमा उठाए । पार्टीलाई संघीय मर्मअनुसार चलाउनुपर्ने, विधान चुस्त दुरुस्त बनाउनुपर्ने, सबै समिति समावेशी हुनुपर्ने, सांगठनिक संरचना पिरामिड आकारको हुनुपर्ने लगायत नीतिगत र सांगठनिक सिद्धान्तमाथि सघन बहस भयो ।

समूहगत रुपमा आएका सुझावलाई संश्लेषण गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन हुनुपर्ने सुझाव अस्वीकृत गरे । सबै तहका समिति प्रत्यक्ष निर्वाचनबाट हुने बाटो उनले खोलिदिए पनि सिङ्गो हलको मागमाथि भने आंशिक अंकुश लगाए । पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव तत्कालका लागि उनले अस्वीकृत गरिदिए ।

२० समूहका टोली नेताले अधिवेशनको निर्णयबारे आ–आफ्ना तर्क पेस गरेका छन् ।   

समूह १५ का नेता हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिए । शर्माले सांगठनिक प्रणाली कस्तो हुने भन्ने मुख्य मुद्दा अधिवेशनले अनुमोदन गरेको बताए ।

‘हामीले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचित हुनुपर्छ भनेका थियौँ । यद्यपि त्यो कार्यान्वयन हुन सकेन । समिति प्रत्यक्ष निर्वाचित हुने भएपछि त्यसले एउटा आधार दिएको छ । मुख्य मुद्दा प्रणाली कस्तो हुने भन्नेमा बहस थियो, त्यो कार्यान्वयन चरणमा गएको छ । अहिलेलाई बाटो खुलेको छ । तीन वटा केन्द्रीय आयोग पनि शक्तिशाली भएका छन्’, उनले भने ।

समूह ९ बाट बहस गरेका रञ्जित तामाङले अधिवेशनबाट ९० प्रतिशत मुद्दा हल भएको निष्कर्ष निकाले । बाँकी विषय महाविधेशनसम्म बहस गर्दै जाने उनको भनाइ छ ।

तामाङले भने, ‘नामकाजी विधान होइन, कामकाजी विधान बनाउनुपर्छ । विधान नेताहरूले होइन, कार्यकर्ताहरूले बनाउनुपर्छ । सार्वभौम हलले नै बनाउनुपर्छ । बलियो पार्टी, व्यवस्थित पार्टीले मात्र देशलाई नेतृत्व गर्न सक्छ ।’

उनले बलियो पार्टी बनाउन बलियो विधान चाहिने भन्दै प्रत्यक्ष निर्वाचित, समावेशिता, युवाहरूको सहभागिता, आयोगलाई स्वायत्तता भन्ने विषय सम्बोधन भएको जनाए ।

यस्तै समूह ८ बाट बहस गरेका ओम शर्माले योपटक प्रवासका मुख्य मुद्दाहरू हल भएकोमा खुसी व्यक्त गरे । अधिवेशनको निर्णयले प्रवासका ९९ प्रतिशत मानिस सन्तुष्ट भएको उनको दाबी छ ।

सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने मागमा आंशिक सफलता हासिल भएको उनको निष्कर्ष छ । ‘सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने सिङ्गो हलको सुझाव थियो । तर आंशिक सफलता प्राप्त भएको छ । सिङ्गै हल सन्तुष्ट हुन सकेन, यद्यपि आंशिक सन्तुष्ट हुने ठाउँ छ,’ शर्माले भने, ‘बाँकी ८० प्रतिशत मुद्दा हल भएको छ । प्रवासको हकमा हामीले मध्यपूर्वदेखि युरोपसम्म तीनवटा प्रदेश हुनुपर्छ भनेका थियौँ, त्यसमा प्रवासका साथीहरू ९९ प्रतिशत खुसी भएका छन् ।’

समूह ६ बाट समूहगत सुझाव पेस गरेका झक्कुप्रसाद सुवेदीले प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने सुझाव संश्लेषण भएको जिकिर गरे । केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रावधान संश्लेषणबाट १९९ राख्ने निर्णय भएको उनको बुझाइ छ ।

‘मेरो समूहबाट सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने मत कमजोर थियो । त्यसलाई अध्यक्षले संश्लेषण गर्नुभएको छ । प्रस्तावित मस्यौदामा १५१ केन्द्रीय सदस्य राख्ने प्रस्ताव संश्लेषण भएर १९९ राख्ने भएको छ । हलको निर्णय समग्रमा सही छ’, सुवेदीले निष्कर्ष निकाले ।

समूह १ बाट बहस गरेका सरल सहयात्रीले अधिवेशनले सर्वसम्मत प्रक्रियालाई अन्त्य गरी निर्वाचन प्रक्रियामा लगेरमात्र हल गर्नुपर्ने विषय कार्यान्वयन भएको बताए । पदाधिकारी संख्या पनि ११ मा सीमित गर्दै छरितो बनाइएको उनको भनाइ छ । सबै आयोग स्वायत्त ढङ्गले काम गर्ने, त्यसलाई नियमावली बनाउने र विधानलाई शक्तिशाली बनाउने विषय उपलब्धिपूर्ण रहेको उनले बताए ।

समूह १० का नेता युवराज चौलागाईले सापेक्षमा विधान अधिवेशन सफल भएको बताए । विषय अनगिन्ती उठे पनि मुख्य विषय विधान लागु हुन्छ कि हुँदैन, त्यसमा ध्यान दिनुपर्ने उनले बताए ।

‘पार्टीको नेतृत्व समूह कसरी बन्छ ? कमिटीको फर्मेसन, नेताहरूको निर्माण कसरी गर्ने ? यी दुईवटा विषय मुख्य हुन्’, चौंलागाईँले निर्णय कार्यान्वयनमाथि संशय व्यक्त गर्दै भने, ‘विधान लागु हुने नहुने आधारभूत प्रश्न हो । लागु भएपछि नेतृत्व निर्माण कसरी गर्ने भन्ने विषय नेतृत्व समूह, समिति व्यवस्थापन कसरी गर्ने भन्ने समस्या थियो । त्यो सापेक्षिक रुपमा हल भएको छ ।’ विधान कार्यान्वयन भयो भनेमात्र उपलब्धि मान्न सकिने उनले प्रस्ट पारे ।

समूह १७ बाट रामदीप आचार्यले पार्टीलाई प्रवलीकरण गर्ने कि पुनर्निर्माण गर्ने भन्नेमा स्पष्ट पार्नुपर्ने बहस गरेका थिए । कार्यान्वयन गरिहाल्नेभन्दा पनि बहसको विषयको सुरुवात भएको उनको निष्कर्ष छ ।

‘संगठन सम्बन्धी हाम्रो पार्टीमा सघन ढङ्गले बहस भएको पहिलोपटक हो । तर केही जटिलता छन् । ग्राउण्डले के चाहेको छ भन्ने कुरा सशक्त ढङ्गले यो पटक मुखरित भयो । समय सापेक्षित पार्टी निर्माणको ढोका खुला भएको छ’, उनले भने, ‘अहिलेसम्म प्यानल प्रस्तुत गर्ने चलन थियो । केन्द्रीय समिति पनि निर्वाचन प्रक्रियाबाट आउने चलन थिएन । अब ढोका खुला भएको छ । निर्वाचित भएर पदाधिकारी बन्न नेताहरूको मुख ताक्नु परेन । मतदाताको मुख ताके भयो । पार्टी अब तलतिर फर्केको छ ।’

समूह ११ का नेता युवराज दुलालले प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्छ, पार्टीको प्रस्तावना खँदिलो हुनुपर्छ, नाम फेर्न हुँदैन भन्ने विषय कार्यान्वयन भएको बताए ।

‘हामीले सबै तहमा प्रत्यक्ष निर्वाचन गर्दा बेथिति, गुटबन्दी बढ्ने भएकाले आन्तरिक निर्वाचनबाट गर्न सकिन्छ भनेका थियौँ । केन्द्रीय आयोगलाई स्वायत्तता दिनुपर्छ भन्ने थियो, त्यो पारित भयो’, उनले भने ।

यस्तै समूह १८ का नेता कृष्णध्वज खड्काले पार्टीलाई जनताको बिचमा लानुपर्छ र कार्यक्रम बनाउनुपर्छ भन्ने विषय कार्यान्वयन भएको भन्दै बाँकी कुरा पनि समेटिने विश्वास व्यक्त गरे ।

‘निर्वाचन प्रणालीबाट जानुपर्छ भन्ने थियो त्यो कार्यान्वयनमा जाने भएको छ ।  केन्द्रीय समिति संख्या १५१ बाट बढाएर १९९ भएको छ । पार्टी जनताको बिचमा जाने विषय कार्यान्वयन भएको छ’, उनले भने ।

समूह १९ का नेता सुमन देवकोटाले पदाधिकारीसहित सबै तह, जनवर्गीय मोर्चा र संसदीय दलमा समेत प्रत्यक्ष निर्वाचन प्रक्रिया अपनाउनु पर्छ भन्ने सुझावमा संश्लेषणसहित सफलता प्राप्त भएको निष्कर्ष निकाले ।  

‘पार्टी प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको छ । यो निर्णयले जनवादी केन्द्रीयतालाई पनि अङ्गीकार गरेको छ । सबै तहमा प्रत्यक्ष निर्वाचन गर्दा लालरहित हुने खतरा हुन्छ । त्यसमा ध्यान दिनु सही छ । अहिलेकै प्रणालीमा जाँदा पनि केन्द्रीय अध्यक्ष हुन प्रत्यक्ष निर्वाचन जित्नुपर्छ । विधि कस्तो बनाउने भन्ने विषय पार्टीको आन्तरिक विषय हो,’ उनले भने, ‘पार्टी सदस्यले प्रतिनिधि चुन्नुपर्छ । प्रतिनिधिले आफ्नो केन्द्रीय नेता चुन्नुपर्छ ।’

केन्द्रीय समितिलाई अनुशासन र अनुगमनमा राख्न केन्द्रीय आयोग स्वायत्तता हुनुपर्ने भन्दै उनले त्यो समाधान भएको बताए । उनले भने, ‘अहिलेसम्म केन्द्रीय समितिको मातहतमा आयोग थियोे । अब राष्ट्रिय परिषदसँग उत्तरदायी हुनेछ ।’

त्यसैगरी समूह ३ का नेता कुमार पौडेलले आफूहरूले उठाएको मुद्दा सम्बोधन भएको भन्दै बाँकी महाविधेशनसम्ममा सम्बोधन गरेर जाने बताए ।

समूह १२ का नेता परशुराम रम्तेलले आफ्नो समूहबाट उठेका अधिकांश विषय अध्यक्षले सम्बोधन गरेको बताए । समूह १३ का नेता वामदेव क्षेत्रीले प्रत्यक्ष निर्वाचन आफ्नो माग भएकोमा त्यो पूरा भएको भन्दै खुसी व्यक्त गरे । ‘प्रत्यक्ष निर्वाचन प्रणाली हाम्रो माग थियो, त्यो पूरा भएको छ । यस्तै २२ जना पदाधिकारी भएकोमा घटाएर ११ बनाइएको छ’, उनले भने ।

समूह २० बाट बहस गरेका हरिराज अधिकारीले पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव अस्वीकार भएको बताए । तर सापेक्षित रुपमा समस्या हल भएको उनको निष्कर्ष छ ।

‘कार्यान्वयन हुन बाँकी छ । तर उपलब्धि धेरै भएका छन् । अहिलेको उपलब्धि सापेक्षित हो । कम्तीमा पनि समितिलाई प्रत्यक्ष निर्वाचित हुने बनाइयो । जिम्मेवारी नीतिगत रुपमा स्पष्ट भयो । विशेष महाधिवेशनसम्म पुग्दा छलफल गर्दै जाने वातावरण बनेको छ’, उनले भने ।

समूह १४ का नेता निर्मल आचार्यले आफ्नो समूहले संगठनात्मक सिद्धान्त र नीतिगत विषय बढी उठाएको बताए । पार्टी सदस्य नवीकरण र अनलाइन सिस्टम गर्नुपर्छ भन्ने सुझाव कार्यान्वयन भएको उनको बुझाइ छ । निर्वाचन प्रणालीमा प्यानल प्रस्ताव रोक्नुपर्ने, समिति निर्वाचित हुनुपर्ने र समितिले पदाधिकारी चुन्नुपर्छ भन्ने प्रस्ताव पारित भएको उनले बताए ।

समूह २ का नेतृ कञ्चन खनालले अधिवेशनको निर्णयलाई विश्वासको आँखाले हेर्नुपर्ने बताइन् । यो पटकको निर्णय ‘आइसब्रेक’ भएको उनको निष्कर्ष छ ।

‘हाम्रो लागि आइसब्रेक भएको छ । निर्णय कार्यान्वयन गर्दा हामीले फट्को हान्छौँ । अध्यक्षले यी सबै विषय समेट्छु भन्ने प्रतिबद्धता जनाउनुभएको छ । विधान कार्यान्वयन हुनेमा विश्वस्त छौं’, उनले भनिन् ।

समूह ४ बाट बहस गरेकी कमला नहर्कीले धेरै विषय समेटिएको बताइन् । पार्टीको नाम यथावत राख्ने प्रस्ताव कार्यान्वयन भएकोमा उनले खुसी व्यक्त गरिन् । समूह ७ का प्रेम बयकले आफ्नो समूहले उठाएकामध्ये धेरै विषय समेटिएको बताए ।

यस्तै समूह १६ का राजकाजी गुरूङले पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने बाहेक आफ्नो समूहबाट गएका सबैजसो सुझाव कार्यान्वयनमा जाने भएको बताए ।

समूह ५ बाट बहस गरेका दिलीपकुमार प्रजापतिले विधान अधिवेशनको निर्णय उपलब्धिपूर्ण भएको निष्कर्ष निकाले । पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने उनको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप