शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२०७६ सालमा भर्ना भएका त्रिविका विद्यार्थीले पाएनन् छात्रवृत्ति

शुक्रबार, ०४ फागुन २०८०, १९ : १९
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले विद्यार्थीहरूलाई छात्रवृत्ति विवरणमा ढिलाइ गरेको छ । २०७६ सालमा भर्ना भएका विद्यार्थीहरूले चार वर्षसम्म पनि छात्रवृत्ति रकम नपाएका हुन् । 

शैक्षिक सत्र २०७६/०७८ समूहमा २०७६ साल फागुनमा प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरूले चार वर्षमा पनि प्रथम सेमिस्टको छात्रवृत्ति नपाएका हुन् ।

विभागबाट २८ चैत २०७९ मा पहिलो पटक छात्रवृत्तिका लागि सूचना प्रकाशित गरेको थियो । दोस्रो सेमेष्टरको छात्रवृत्ति वितरण नगरी एकैपटक तेस्रो सेमेष्टरको छात्रवृत्ति वितरण गरिएको थियो । चौथो सेमेस्टरको समेत वितरण नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

शैक्षिक सत्र २०७७/०७९ मा भर्ना भई हाल तेस्रो सेमेष्टर अध्ययन पूरा गरी चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले समेत प्रथम तथा दोस्रो सेमेष्टरको छात्रवृत्ति पाएका छैनन् । विभागले १९ वैशाख २०८० मा छात्रवृत्ति वितरणको सूचना प्रकाशित गरेको थियो । सूचना जारी गरेको १० महिना बित्न लाग्दा समेत छात्रवृत्ति वितरण हुन नसकेको हो ।

छात्रवृत्ति वितरणमा भइरहेको ढिलाइबारे विद्यार्थीहरूले पटक पटक जानकारी गराएका थिए । तर, विभागले बेवास्ता गर्दै आएको एक विद्यार्थीले बताए ।

विद्यार्थीहरूले अध्ययन सम्पन्न गर्न शोधपत्र (थेसिस) अनिर्वाय गर्नुपर्ने भएकाले छात्रवृत्ति माग गर्दा विभागले शोधपत्रको काम रोक्न सक्ने डरले विद्यार्थीहरूले विरोध गर्न नसकेको जनाएका छन् ।   

आवेदन दिने सबै विद्यार्थीहरूले एस.एलसीदेखि स्नातक तह सम्मका शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र पेस गर्न भनेको थियो । आरक्षण कोटातर्फको निमित्त पिछडिएका, जनजाति, मधेसी, महिला, आदिवासी, मुस्लिम र सहिद परिवारको हो भनी सम्बन्धित निकायबाट प्रमाणित गरिएको आधिकारिक प्रमाणपत्र समेत पेस गर्न भनेको थियो । छात्रवृत्ति पाउने विद्यार्थीहरूले सोही आधारमा आवेदन दिएका थिए । तर, अहिलेसम्म छात्रवृत्तिको रकम नपाएका हुन् ।

अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा शिवराज अधिकारीले केही विद्यार्थीले डकुमेन्ट पेस नगरेकाले ढिलाइ भएको बताए ।

‘१/२ जना विद्यार्थीले डकुमेन्ट पेस गरेका छैनन् । उनीहरूले पनि डकुमेन्ट पेस गरेपछि सबैलाई एकैपटक दिने भनेर कुरिरहेका छौँ । चाडै वितरण हुन्छ’ प्रमुख अधिकारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप