बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड

आइतबार, ०६ फागुन २०८०, १२ : ३५
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ युवाको प्रहरीको गोलीबाट हत्या भएको विषयमा छानबिन समितिले आफूलाई अध्ययन प्रतिवेदन बुझाएको बताएका छन् । 

सो प्रतिवेदन आफूले अध्ययन गरिनसकेको बताउँदै उनले अध्ययनपछि आवश्यक कारबाही गर्ने बताए । 

उनले भने– ‘बालकुमारी घटनालाई सरकारले गम्भीर रूपमा लिएर तत्काल त्यसमा संलग्नहरूलाई निलम्बन गर्ने, छानबिन प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई १० लाख दिएर मात्र सरकार बसेको छैन, मेरै प्रस्तावमा छानबिन समिति बनाएको हो । छानबिन समितिले बनाएको प्रतिवेदन गृह मन्त्रालयबाट भर्खर मेरो हातमा परेको छ, त्यसलाई मैले हेर्न पाएको छैन, त्यसको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, म विश्वास दिलाउन चाहन्छु । सरकारले १० लाख दिएर चुप लागेर बस्यो भन्नु ठिक होइन ।’

प्रचण्डले रोजगारीको निम्ति विदेश जान आएका दुई युवाको हत्यालाई गम्भीर रूपले लिएर उनका परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय गरेको जानकारी गराए । संसदमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दोषी देखिएको भन्दै उनलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप