शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

खतरामा मन्त्री ज्वालाको पद, डीएसपी र पीएसओलाई विभागीय कारबाहीको सिफारिस

डीएसपीको बयान–अश्रुग्याँस सकिएपछि गोली चलाउनु पर्‍यो
आइतबार, ०६ फागुन २०८०, १५ : ०६
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । ललितपुरको बालकुमारीमा दुई जना युवकको मृत्यु भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला मुख्य जिम्मेवार रहेको जाँचबुझ आयोगको निष्कर्ष निकालेसँगै उनको पद धरापमा परेको छ । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताइसकेका छन् । जाँचबुझ आयोगले दिएको प्रतिवदन अध्ययन गरेर आवश्यक निर्णय लिने प्रचण्डको भनाइ छ । 

 ‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो।  छानबिन समितिले प्रतिवेदन दिएको छ । तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले आइतबार संसदमा भने, ‘अध्ययन गरेपछि दोषीमाथि आवश्यक कारबाही गरिन्छ ।’ 

आयोगले मन्त्री ज्वालाले घटनाको जिम्मेवारी नलिएको उल्लेख गर्दै उनलाई ‘नैतिक जिम्मेवारी’ लिन प्रतिवेदनमा सुझाएको छ । ४ फागुनमा पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । नैतिक जिम्मेवारी लिन सुझाउँदै आयोगले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘प्रधानमन्त्रीले उहाँ (प्रकाश ज्वाला)बारे आवश्यक निर्णय लिन सक्नुहुन्छ ।’

जाँचबुझ आयोगले घटनास्थलमा खटिएका अपरेसन कमान्डर (डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पिएसओ) बोधराज दनुवारलाई भने विभागीय कारबाही गर्न सिफारिस गरेको छ । दनुवार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) हुन् ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीको दमनबाट दैलेख घर भएका सुजन रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाएका थिए । सो घटनापछि ललितपुरका प्रजिअ र एसएसपी फेरिएका छन् । बालकुमारी क्षेत्रमा गोली हान्न आदेश गर्ने डिएसपी उमेश लम्साल र मन्त्रीका पिएसओ दनुवार निलम्बनमा छन् ।

प्रदर्शन स्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको आयोगको निष्कर्ष छ । मन्त्री ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

ग्वार्को चोकमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भाग्दै गरेको भिडले ‘गलत दिशा’ तर्फ मन्त्रीको झण्डावाल गाडी देखेर बाटो छेकेको र मन्त्री र प्रदर्शनकारीको बिचमा भनाभन भएको आयोगको निष्कर्ष छ । मन्त्रीले वैकल्पिक बाटो हुँदाहुँदै ‘रङ वे’मा सवारी दौडाउन आदेश गर्नु ‘कमजोरी’ भएको आयोगको निष्कर्ष छ ।

वीरेन्द्र शाहले प्रहरीको गोलीबाट ज्यान गुमाएका हुन् । किष्ट अस्पतालमा मृत्यु भएका सुजन रावतलाई गोली नलागेको पुष्टि भएको छ । रावतको मृत्युको कारण  ‘ब्लन्ट फोर्स इन्जुरी’बाट भएको चिकित्सकहरूले पोस्टमार्टम रिपोर्टमा उल्लेख गरेका छन् । प्रहरीले प्रहार गरेको अश्रुग्याँस सेल ‘बाउन्स’ भएर छातीमा लागेको र त्यसैकारण राउतको मृत्यु भएको आयोगको निष्कर्ष छ । आयोगका पदाधिकारीले त्यसबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सिसिटिभीको फुटेज देखाएका छन् । 

डीएसपीको बयान–‘अश्रुग्याँस सकिएपछि गोली चलाउनु पर्‍यो’

जाँचबुझ आयोगले घटनास्थलमा अन्धाधुन्ध गोली चलाएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ । प्रहरी कन्ट्रोल रुमबाट मन्त्रीको गाडी जल्न थालेको कुरा सञ्चार हुँदा घटनास्थलमा अश्रुग्याँस सकिएको हुनाले गोली चलाउनुपरेको डीएसपी उमेश लम्सालले आयोगमा बयान दिएका छन् ।

तर, लम्सालले गोली चलाउनुअघि आदेश नमागेको जाँचबुझ आयोगको निष्कर्ष छ । आयोगका एक जना पदाधिकारीले रातोपाटीसँग भने–‘भिड नियन्त्रणको विधि अनुसार अश्रुग्याँस र गोली चलाएको देखिएन ।’

घटनास्थलमा ११४ राउन्ड अश्रुग्याँस प्रहार गरेको छानबिनबाट थाहा भएको छ । घटनास्थलमा प्रहरीले सेल्फ लोडिङ्ग राइफल (एसएलआर)बाट ३० राउन्ड गोली चलाएको छ । घटनास्थलमा २१ राउन्ड रबर बुलेट प्रहार गरिएको छ । ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले आफूले गोली चलाउने आदेश नदिएको आयोगमा बयान दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप