आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छ : सभामुख घिमिरे

शनिबार, १२ फागुन २०८०, १६ : ४३
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् । राजनीतिक दल र जनप्रतिनिधिहरूको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाई थियो । 

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद् भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पारे । उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। 

सभामुख घिमिरेले भने, ‘अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभूति के छ भने स्वास्थ्य जाँच गर्न जाने, बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाका राम्रोसँग विकास हुन थालेको छ । तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाइ छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ । स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरूकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन । यो जानकारी राजनीतिक दलहरूले आफ्ना प्रतिनिधिमार्फत अथवा जनप्रतिनिधिहरूले आम जनताको बिचमा यो स्वास्थ्य बीमा भनेको के हो ? र यो बीमालाई उपयोग गर्नका लागि हामीले अपनाइरहेका नीतिहरू के हुन् ? यो नीतिलाई कार्यान्वयन गरिरहँदा त्यस भित्र देखापरेका विकृतिहरू के हुन् ? यसको बारमा पनि मसिनोसँग तल जनताको बिचमा लगियो भने यी धेरै कुराहरू नियन्त्रण हुन सक्छन् ।

जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरले बताए । उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानुन बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन् । क्यान्सर रोगको पीडाबाट मुक्त भएकी उनले किशोरीहरूलाई पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराए । उनले काठमाडौँ उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि बताए । सांसद सुवालले क्यान्सर रोगबाट गरिब बढी मर्ने भएकाले उनीहरूका लागि विशेषे सेवा, सुविधाको व्यवस्था गर्न पनि सरकारले गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप