सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी संकट

विराट विशिष्टीकृत सहकारीको एक करोड रुपैयाँ प्याजसँगै डुब्यो !

९० हजार किलो प्याज डुबेको झुठो विवरण पेस
सोमबार, १४ फागुन २०८०, १४ : ०५
सोमबार, १४ फागुन २०८०

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा दर्ता रहेको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संकटग्रस्त अवस्थामा पुगेको छ । उक्त सहकारी हालका राष्ट्रिय सहकारी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश पोखरेलको पहलमा खुलेको हो ।

सो सहकारीका अध्यक्ष देवेन्द्र पौडेल, सचिव राकेश दाहालको मिलेमतोमा ३२ वटा सहकारीको झण्डै १ करोड ३ लाख ८४ हजार ८४४ रुपैयाँ जोखिममा छ । सहकारीका अध्यक्ष पौडेल र सचिव दाहाललाई सेयर सदस्यहरूले हाम्रो पैसा खोइ भनेर सोध्छन् । तर, जवाफ आउँछ– ‘बाढीले डुबायो ।’

सहकारी डुब्नु र बाढीले डुब्यो भन्ने जवाफ दिनुको गज्जबको संयोग छ । २०७७ असार ९ गते स्थापना भएको उक्त सहकारीले प्रदेशका कृषकहरुले उत्पादन गरेको कृषि उपजको उचित मूल्य र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्य राखेको थियो ।

सोही उद्देश्य अनुरुप तत्कालीन अवस्थामा संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको कटहरीको कृषि तथा थोक बजार बिक्री केन्द्र सोही सहकारीमार्फत सञ्चालन गर्ने योजना सहकारी अभियन्तासमेत रहेका पोखरेलले बनाए । उनकै योजना अनुसार कोशी प्रदेशभरका ३२ वटा सहकारी मिलेर १ करोड २३ लाख रुपैयाँ सेयरपुँजी जम्मा गरे । ‘सुरुमा निकै नाफा हुने र छिटो लाभांश पाइने भनिएको थियो,’ उक्त सहकारीका सेयर सदस्य धनकुटाका खगेन्द्र सुवेदीले भने, ‘अहिले सहकारीको हिसाब किताब पनि दिँदैनन्, दिएको पैसा फिर्ता पनि गर्दैनन् ।’

अर्का सेयर सदस्य बलबहादुर घिमिरे भन्छन्, ‘म त उजुरी बोकेर बसेको छु । के के न गर्ने भनेर विभिन्न प्रलोभन दिएर सहकारी खोलियो । अहिले जिम्मेवारहरु सबै पन्छिएका छन् । सहकारीको नेता आफैँ जिम्मेवारी लिन छोडेर भाग्दै गरेको देखिन्छ । सहकारी डुबाएको जस–अपजस रमेश पोखरेलले पनि बोक्नु पर्छ ।’

कसरी डुब्यो सहकारी ?

उल्कै नाफा हुने दाबी गरेर खोलिएको सहकारी संघ अहिले नाफा दिने होइन, बन्द अवस्थामा छ । सहकारी संघले चलाएको कृषि बजार पनि बन्द अवस्थामा छ । सहकारीले उक्त बजारलाई जसोतसो २०७८ कार्तिकसम्म चलाउँदै थियो ।

कार्तिक ३ र ४ गते बेमौसमी वर्षापछि गोदाममा पानी पस्यो र त्यहाँ राखेको प्याज डुबेको सञ्चालक समितिका अध्यक्ष र सचिवको दाबी छ ।

तर, कति प्याज डुब्यो भन्ने कुनै तथ्याङ्क छैन । ‘बाढी पसेको, बाढीले डुबाएको वा त्यति धेरै क्षति भएको कसैलाई थाहा भएन । तर, एक्कासी मंसिर १५ गते (४१ दिनपछि) बसेको सञ्चालक समिति बैठकमा अध्यक्षले ९० हजार किलो प्याज डुबेको प्रतिवेदन प्रस्तुत गरे,’ सेयर सदस्य समेत रहेका बल्लभ घिमिरेले भने ।

सोही बैठकले टीकादत्त पन्तको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति बनायो । तर, अध्यक्ष र सचिवले समितिलाई कुनै कागजात दिएनन् । सदस्यहरुले लगातार विशेष साधरणसभा बोलाउन माग गरे । बाढीले डुबाएको भए मुचुल्का वा प्रमाण पेस गर्न अनुरोध गरे । त्यतिधेरै परिमाणमा प्याज खरिद गरेको बिल, भौचर माग भयो । तर, त्यस दिनदेखि सहकारीको वार्षिक साधारणसभा पनि भएन । हिसाबकिताब पनि दिइएन ।

एकै पटक २०७९ साउन ४ गते सुपरीवेक्षण समितिको बैठकले अध्यक्ष र सचिवलाई दबाब दिँदै ५ दिनको समयसीमा भित्र लेखा अभिलेख विवरणसहित स्पष्ट हुन नसकेका बेहोरा दिन चेतावनी दियो । त्यसपछि प्राप्त विवरण हेर्दा सहकारीको ‘प्याज डुबेर’ नभइ अध्यक्ष र सचिवले मनपरी गरेको खुलासा भएको घिमिरे बताउँछन् ।

‘मिति २०७८ कार्तिक ३ र ४ गते आएको अविरल वर्षाका कारण आएको बाढीले कटहरी फलफूल तथा थोक बजार विकास समितिको बजारभित्र बाढीका कारण विद्युत ट्रान्सफर्मर र जेनेरेटर घर समेतमा पानी पसेर लगभग ३ दिन विद्युत् आपूर्ति हुन सकेन र संघले भण्डारण गरेको ९० हजार केजी प्याज (करिब ५० लाख रुपैयाँ बराबरको) पूरै क्षति भएको भन्ने व्यहोरा खुलाइ सञ्चालक समितिको मिति २०७८ मंसिर १५ गते बसेको बैठकमा अध्यक्षज्यूले प्रतिवेदन दिनु भएको पाइयो,’ सुपरीवेक्षण समितिको प्रतिवेदनमा उल्लेख छ, ‘आर्थिक रुपमा ठुलो क्षति हुँदै गरेको अवस्थामा संघका व्यावसायिक कारोबार गर्ने अख्तियारी प्राप्त गरेका जिम्मेवार पदाधिकारीहरुले सञ्चालक सदस्य लगायतका निकायहरुलाई तत्कालै जानकारी नगराउनुले क्षति भएको भनिएको परिमाणमा प्याज भण्डारण गरिएको थियो भन्ने कुरामा सहमत हुन सकिएन ।’

यस्तै ३ दिन मात्रको विद्युत आपूर्ति बन्द हुँदाको अवस्थामा भण्डारणमा रहेको सबै प्याज क्षति भएको भन्ने ब्यहोरालाई पनि मान्न नसकिने प्रतिवेदनमा उल्लेख छ । रोचक पक्ष त के छ भने वर्षाका कारण आएको बाढीबाट भएको क्षतिको यकिन गर्न ६७ दिनपछि मात्रै वडा प्रहरी कार्यालयमा सहकारी संघका अध्यक्ष र सचिवले निवेदन दिए ।

प्याजको नामो निशाना मेटिइसकेपछि दिएको निवेदनकै आधारमा प्रहरीले पनि हचुवाको भरमा मुचुल्का गरिदियो । वडा प्रहरी कार्यालयको सर्जमिन मुचुल्का गराउँदा पनि विराटनगरमा उपलब्ध भएका सञ्चालक समितिका सदस्य, लेखा सुपरीवेक्षण समिति र सल्लाहकारलाई जानकारी दिइएन ।

‘जिम्मेवार पक्षले घटना भएकै समयभित्र सम्बन्धित निकायमा निवेदन दिइ क्षतिको सर्वपक्षीय सर्जमिन र स्थलगत अनुगमन अवलोकन नगराई बाढी आएको दिनबाट ६७ दिनपछि वडा प्रहरी कार्यालयमा निवेदन दिइ क्षति भएको भनिएको प्याजको अवशेष समेत नभएको अवस्थामा हचुवाको भरमा सर्जमिन मुचुल्का तयार गराएको देखिन्छ,’ सुपरीवेक्षण समितिले भनेको छ, ‘वास्तविक क्षति भएकै हो भन्ने बेहोरा शङ्कास्पद देखिन्छ ।’

सहकारीले यत्रो कारोबार गर्दा पनि सहकारी ऐन र नियमावली, मापदण्ड र प्रचलित लेखा प्रणाली अनुसार अभिलेखीकरण नगरेको पाइएको छ । ९० हजार किलो प्याज पनि हचुवाको भरमा डुबेको मौखिक रुपमा जानकारी गराइएको समितिले जनाएको छ । ‘करिव ९० हजार के.जी. प्याज भण्डारण गरिएको र बाढी आएकै कारणले क्षति भएको भन्ने बेहोरालाई लेखा सुपरीवेक्षण समितिले स्वीकार गर्न सकिने अवस्था देखिएन,’ समितिले भनेको छ ।

यस्तै उक्त सहकारीले बाढीले त्यति ठुलो मात्रामा क्षति गर्दा पनि सञ्चालक समितिको बैठक र विशेष साधारणसभा नगरेको, बजारमा रहेको उधारो रकम समेत नउठाइ अध्यक्ष पौडेल र सचिव दाहाल निष्क्रिय रहनुले सदस्य सहकारी संस्थाले संघमा गरेको लगानी उच्च जोखिममा परेको समितिले जनाएको छ ।

सहकारीका अध्यक्ष पौडेलले सञ्चालक समितिको निर्णय बिना नै ४ लाख रुपैयाँ लगेको, सहकारी संघ र को–मार्टको बिचमा भएको भाडा सम्झौता अनुसार भाडा उठाउनुको साटो हचुवाको भरमा ५ लाख ६८ हजार रुपैयाँ दिएको, बजारबाट उठाउन बाँकी भनेर हचुवाको भरमा ३८ लाख ८५ हजार रुपैयाँ देखाएको सुपरीवेक्षण समितिले जनाएको छ ।

‘संघका जिम्मेवार पदाधिकारीले हदैसम्मको गैरजिम्मेवार कार्य गरी लापरवाही गरेको यस समितिले ठहर गरेको छ,’ उक्त समितिले निष्कर्ष दिएको छ, ‘अख्तियार दुरुपयोग गरी रकम अपचन गरेको लेखा सुपरीवेक्षण समितिले ठहर गरेको छ ।’

१ करोड २३ लाख ७५ हजार रुपैयाँ सेयरपुँजीमध्ये सहकारीको नाममा अहिले राष्ट्रिय सहकारी बैंकमा १९ लाख ९० हजार १५५ रुपैयाँमात्रै छ । सहकारीको कार्यालय, सहकारीका सम्पत्ति तथा हिसाबकिताब विवरण अन्यौलपूर्ण अवस्थामा रहेको घिमिरे बताउँछन् ।

सहकारीको संघको सञ्चालक समितिको बैठकले अध्यक्ष देवेन्द्र्र पौडेल, उपाध्यक्ष खोमप्रसाद बगाले र सचिव राकेश दाहाललाई नै खरिद तथा भण्डारण गर्ने र बिक्री वितरण गर्ने अधिकार दिएको थियो । यस्तै सहकारीको व्यवस्थापकको रुपमा गणेश ढकाल नियुक्त भएका थिए । सहकारी संघका सचिव दाहालले छिट्टै साधारणसभा बोलाएर नयाँ ढंगले सहकारी अगाडि बढाउने प्रतिक्रिया दिए । अध्यक्ष पौडेल भने पटक–पटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप