आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
खानपान

नेपालमा खानपानकै कारण हुने क्यान्सरबाट दैनिक १२ देखि १४ जनाको मृत्यु

रङ्गीन खाद्यवस्तु हुन्छन् घातक
मङ्गलबार, १५ फागुन २०८०, ११ : १२
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । क्यान्सर रोगका कारण प्रत्येक दिन ४० जना नेपालीको मृत्यु हुने गरेको छ । यसमध्ये दैनिक १२ देखि १४ जना खानपानकै कारण क्यान्सर भएर मृत्यु हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए ।

विभिन्न प्रकारका रङ प्रयोग गरिएका खानेकुरा, पोलेको, तारेको, भुटेको परिकारका कारण पनि क्यान्सर हुन सक्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्यका लागि घातक हुने रङ प्रयोग गरिएको भन्दै पछिल्लो समय कटन क्यान्डी उत्पादन, बिक्री वितरणमा विभिन्न क्षेत्र तथा पालिकामा रोक लगाइएको छ । तनहुँ जिल्ला प्रशासन कार्यालय, चाँगुनारायण नगरपालिका, काठमाडौँ महानगरपालिका लगायतले सूचना जारी गरी कटन क्यान्डी बिक्री वितरणमा रोक लगाएका हुन् ।

खासगरी बालबालिकाले रुचाउने कटन क्यान्डी विभिन्न सार्वजनिक स्थल, सडक पेटी, बजार, मेला लगायतका स्थानमा खुला रूपमा बिक्री वितरण हुने गर्दछ । कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ ‘रोडा माइन बी’ को प्रयोग हुने गर्दछ, जो स्वास्थ्यका लागि निकै घातक हुने विज्ञ बताउँछन् ।

कटन क्यान्डीजस्तै विभिन्न मिठाइमा पनि अखाद्य रङ प्रयोग भइरहेको खाद्य स्वच्छता विशेषज्ञ निर्भिक श्रेष्ठले बताए । ‘यस्ता अखाद्य वस्तु बजारमा छ्यापछ्याप्ती छन्,’ उनले भने, ‘होटलका खाने कुरा र मिठाइमा यस्ता अखाद्य रङ प्रयोग गरिन्छ तर नियमन र अनुगमन हुन सकेको छैन ।’ श्रेष्ठले अखाद्य रङ प्रयोग गरी तयार गरिएको वस्तुको उपभोगले तत्काल समस्या नदेखिए पनि दीर्घकालीन रूपमा क्यान्सरसमेत गराउने उल्लेख गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले स्थानीय तहसँग सहकार्य गरी त्यस्ता खाद्यवस्तुबारे अनुगमन भइरहेको जानकारी दिए । उनले भने, ‘कतिपय ठाउँमा त्यस्ता खाद्यवस्तु नष्ट गर्ने, बिक्री वितरण गर्ने व्यक्तिलाई कारबाही गर्ने लगायत प्रचारप्रसारको काम पनि गरेका छौँ ।’

खाद्यवस्तुमा विभिन्न रङको प्रयोग र मात्रा ‘खाद्य नियमावाली २०२७’ मा उल्लेख छ । उत्पादकहरूले सोही अनुसार रङ प्रयोग गर्नुपर्ने विभागका प्रवक्ता महर्जनले उल्लेख गरे । ‘विशेष गरेर प्राकृतिक रूपमा पाइने खाद्यवस्तुको रङ स्वास्थ्यका लागि राम्रै हुन्छ । जस्तैः फर्सी, गाजर, हरियो सागपातको रङ प्राकृतिक रूपमा राम्रो हुन्छ,’ उनले भने, ‘भरसक कृत्रिम रङ नखानु राम्रो हुन्छ, यदि प्रयोग नै गर्नु परेमा खाद्य नियमावलीमा तोकिएको रङ र तोकिएको मात्रा प्रयोग गर्नुपर्छ । यसबाहेक अरु अखाद्य रङ प्रयोग गरिएमा कारबाही गछौँ ।’

  • अखाद्य वस्तुले कसरी हुन्छ शरीरमा क्यान्सर ?

क्यान्सर रोग विशेषज्ञ डा. शाहीका अनुसार अखाद्य वस्तुमा पाइने केमिकलले शरीरका कोषिकाहरुलाई परिवर्तन गरिदिन्छ, जसलाई म्युटेशन भनिन्छ । ‘हामीलाई चाहिने भन्दापनि नचाहिने कोशिका अनियन्त्रित भएर विभाजन हुन्छ,’ उनले भने, ‘त्यो विभाजन भएर देखिने समस्यालाई नै क्यान्सर भनिन्छ ।’

विश्वमा हुने अधिकांश क्यान्सर खानपिनका कारण हुने गरेको पाइएको छ । त्यस्ता वस्तुको खानपानबाट तत्कालै कुनै समस्या नदेखिए पनि पछि स्वास्थ्यमा समस्या देखिने गरेको डा. शाहीले बताए ।

‘अखाद्य वस्तुको कारणले पेटको क्यान्सर पहिलो नम्बरमा, ठुलो आन्द्राको क्यान्सर दोस्रो, पित्त थैलीको क्यान्सर तेस्रो, कलेजोको क्यान्सर चौथो र आमाशयको क्यान्सर पाँचौँ नम्बरमा पर्छ,’ उनले भने, ‘खानपानको क्यान्सर भएका कारणले दैनिक १२ देखि १४ जनाको मृत्यु हुने गरेको छ ।’

  • हरेक वर्ष थपिन्छन् २० देखि ३० हजार क्यान्सरका बिरामी

नेपालमा पछिल्लो समय क्यान्सर रोग भयावह बन्दै गएको छ । डा. शाहीका अनुसार नेपालमा प्रत्येक वर्ष २० देखि ३० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । नेपालमा क्यान्सरका बिरामी ६० देखि ७५ हजारको सङ्ख्यामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूम्रपान, मद्यपान, मोटोपना लगायतका कारण नेपालमा क्यान्सर रोग बढ्दो रहेको डा. शाहीले बताए । ‘९० प्रतिशत क्यान्सर ५० वर्षमाथि उमेरकालाई देखिन्छ, त्यो खानपिनका कारणले हो,’ उनले भने, ‘५ देखि १० प्रतिशत वंशाणुगत क्यान्सर देखिन्छ, जुन सानो उमेरमा देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप