पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति कोइरालाको बिदाइ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. यादवराज कोइरालाको बिदाइ गरिएको छ । फागुन १८ गते कार्यकाल पुरा गर्न लागेका उपकुलपति कोइरालाको बिदाइ गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय र डीन कार्यालयहरूले केन्द्रीय कार्यालय गोठगाउँमा एक समारोहका बिच उनको बिदाइ गरेका हुन् । परीक्षा व्यवस्थापन कार्यालयले आफ्नै कार्यालयमा र कर्मचारी संघ केन्द्रीय समितिले विराटनगरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी उपकुलपति कोइरालाको बिदाइ गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै उपकुलपति कोइरालाले विश्वविद्यालयमा हुने राजनीतिक र भातृसंस्थाको हस्तक्षेप रोक्नुपर्नेमा जोड दिए । राजनीतिक हस्तक्षेपले शैक्षिक उन्नयनको गतिलाई अवरोध गर्ने भन्दै उपकुलपति कोइरालाले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न राजनीतिक दल र तीनका भातृसंस्थाहरूसँग आग्रह गरे । विश्वविद्यालयको शैक्षिक उन्नयन तथा विश्वविद्यालयले आफ्नो विज्ञताको आवश्यकता महसुस गरे जुनसुकै समयमा पनि आफू सेवा गर्न तयार रहेको उपकुलपति कोइरालाको भनाइ छ । विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने कुरा धेरै अगाडि बढेको प्रसङ्गको चर्चा गर्दै उपकुलपति कोइरालाले यसलाई चाँडै टुङ्ग्याउनु पर्नेमा जोड दिए ।
रजिष्ट्रार प्रा. निलमणी पोखरेल, परीक्षा नियन्त्रक बालेन्दु हमाल, व्यवस्थापन संकायका डीन डा. सन्देश दास श्रेष्ठ, कर्मचारी संघका अध्यक्ष रुपेश बस्नेत लगायतले उपकुलपति कोइरालाको कार्यकालमा भएका शैक्षिक उन्नयन र संरचनात्मक सुधारको चर्चा गरेका थिए ।
यही फागुन १८ गते उपकुलपति कोइरालाको कार्यकाल सकिँदै छ । नयाँ उपकुलपति छनौटका लागि सरकारले सिफारिस समिति प्रक्रिया सुरु गरिसकेको छ । नयाँ उपकुलपतिका लागि १८ जनाले आवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य