आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डको अध्यक्ष बन्न कति तिर्नुपर्छ शुल्क ?

मङ्गलबार, १५ फागुन २०८०, १८ : १९
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८० जारी भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम आवश्यक कार्यविधि निर्धारण गरेको हो । 

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रिययस्तरको दैनिक पत्रिकामा अनुसूची–१ बमोजिमको सूचना प्रकाशन गरी आवेदन माग गर्नुपर्ने व्यवस्था गरिएको छ । 

उम्मेदवारको योग्यता तथा अनुभवको सन्दर्भमा आवेदकले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम उम्मेदवार नेपाली नागरिक भएको, उच्च नैतिक चरित्र भएको र सम्बन्धित क्षेत्रको ज्ञान भएको हुनुपर्नेछ । 

दरखास्त दिने उम्मेदवारको उमेर दरखास्त दिने मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष पूरा नभएको हुनुपर्नेछ । 

धितोपत्र बोर्डको अध्यक्ष बन्न कति तिर्नुपर्छ शुल्क ?

सोही कार्यविधिले अध्यक्ष नियुक्तिका लागि लिने आवेदनको शुल्क समेत निर्धारण गरेको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८० अनुसार आवेदकले दरखास्तसँगै ५ हजार रुपैयाँ दस्तुर शुल्क बुझाउनुपर्नेछ । अर्थ मन्त्रालयको कार्यालय कोड नं. ३०५००३५०१, राजस्व खाता: १०००१००२०००१०००० तथा राजस्व शीर्षक: १४२२४ मा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंक शुल्क बुझाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । 

अध्यक्षको पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले तोके बमोजिम हुनेछ । 

गत पौस २० गतेदेखि अध्यक्ष रमेश कुमार हमाल आफ्नो २ वर्षे कार्यकाल पुरा गर्दै बिदा भएसँगै धितोपत्र बोर्ड नेतृत्व विहीन बन्न पुगेको छ । सोही अध्यक्ष पदमा पुनः नयाँ नियुक्तिका लागि अर्थ मन्त्रालयले तयारी सुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप