सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत विमानस्थलबारे खड्का, ‘महेन्द्रबहादुरको कार्यकालमा १ अर्ब बजेट छुट्दा असहयोग गर्ने को हो ?’

मङ्गलबार, १५ फागुन २०८०, १८ : ४५
मङ्गलबार, १५ फागुन २०८०

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलबारे आफूमाथि लागेको आरोपको विषयमा प्रस्ट पारेका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित कर्णाली एक्सपोको उद्घाटन समारोहमा खड्काले विमानस्थलबारे आफूमाथि लागेका आरोपको विषयमा जवाफ दिएका हुन् । 

यसअघि खड्कालाई अहिलेको विमानस्थललाई कमजोर पार्न आफ्नो निर्वाचन क्षेत्र (सुर्खेत–१,) को रामघाटनमा नयाँ विमानस्थल सुरु गरेको आरोप लागेको थियो । साथै नयाँ विमानस्थलबारे वन मन्त्रालयले तयार पारेको डकुमेन्ट्रीमा नयाँ विमानस्थल सञ्चालनमा आए वर्तमान विमानस्थललाई जंगलका रूपमा विकास गर्न सकिने विषय उल्लेख भएपछि क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस सांसद हृदयराम थानी र एमाले नेता, प्रदेश सभा सदस्य यामलाल कँडेलले खड्कामाथि सत्ताको आडमा वीरेन्द्रनगरलाई कमजोर पार्ने रणनीति अपनाएको आरोप लगाउँदै आएका छन् । 

आजकै कार्यक्रमका पनि खड्का बोल्नभन्दा अघि बोलेका थानी र कँडेलले विमानस्थल र भेरी कोरीडोरको कार्यालयको विषयमा बोलेका थिए । थानीले भेरी कोरीडोरको कार्यालय बोटेचौर (खड्काको क्षेत्र) सार्नु गलत भएको बताएका थिए । साथै सत्ता र पहुँचको भरमा वीरेन्द्रनगरबाट सारिएका कार्यालयहरू, विमानस्थल सार्ने नीति कार्यान्वयन गर्न नदिने बताए । 

थानी र कँडेललाई जवाफ दिँदै खड्काले विमानस्थलको विकासमा को–कसले कति गर्‍यो समीक्षा गर्दा हुने बताए । ‘महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा १ अर्ब बजेट विनियोजन गर्दा किन काम हुन सकेन ? कसले सहयोग नगरेको हो ?,’ थानी र कँडेललाई लक्षित गर्दै खड्काले भने । त्यो बेला विमानस्थल विस्तारमा सहयोग नगरेको आरोप यामलाल कँडेलमाथि नै लाग्दै आएको छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समेत कँडेलले त्यो बेला सहयोग नगर्दा नै विस्तार कार्य रोकिएको बताउँदै आएका छन् । खड्काले वर्तमान विमानस्थलको विकासमा आफू अग्रसर नै रहेको कुरा बताए ।

रामघाटमा विमानस्थल बनाउने विषयमा खड्काले भने, ‘यो विषय म, हृदयराम थानी न यामलाल कँडेलले कसैले अगाडि बढाएको होइन, तत्कालीन पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माको पालामा अघि बढेको हो ।’ 

अहिले वर्तमान विमानस्थललाई कमजोर पार्न रामघाटमा बनाउन थालिएको आरोप आफूमाथि लागेको उल्लेख गर्दे खड्काले ठुलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उक्त ठाउँ उपयुक्त रहेको कुराको पनि जोड गरे । उनले अगाडि भने, ‘अहिले चलिरहेको भन्दा ठुलो जहाज चाहिँदैन, ठुलो विमानस्थल चाहिँदैन, त्यसैले रामघाटमा बन्न थालेको विमानस्थलको काम बन्द गरौँ भन्नुहुन्छ भने निर्णय गर्नुस् म सबैभन्दा पहिला ताली बजाउँछु, त्यो प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले निर्णय गरोस् अनि च्याप्टर क्लोज गरौँला ।’ भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन कार्यालय आफ्नो निर्वाचन क्षेत्रमा सारेको आरोपमाथि पनि खड्काले प्रस्ट पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप