बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बझाङ १ उपनिर्वाचन

माओवादीलाई फकाउँदै कांग्रेस, को–को छन् आकांक्षी ?

जिल्ला अधिवेशन सारेर उपनिर्वाचनको तयारीमा एमाले
बुधबार, १६ फागुन २०८०, २२ : ३२
बुधबार, १६ फागुन २०८०

धनगढी । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन गराउने निर्णय गरेसँगै राजनीतिक माहोल तात्न थालेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभा सदस्यका लागि बझाङ–१ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो ।

बझाङ–१ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

आयोगको निर्णयसँगै सुदूरपश्चिममा राजनीतिक दलहरु उपनिर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । उम्मेदवारको पहिचानसँगै चुनावी रणनीतिक योजनामा राजनीतिक दलहरु जुट्न थालेका हुन् ।

२०७४ को विरासत फर्काउने दाउमा एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपनिर्वाचनलाई आफ्नो गुमेको विरासत फर्काउने अवसरको रुपमा लिएको छ । २०७४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट माओवादीसँग चुनावी तालमेलपछि एमालेका अर्जुन बहादुर थापा निर्वाचित भएका थिए ।

उपनिर्वाचनलाई लक्षित गर्दै एमालेले आफ्नो जिल्ला अधिवेशनलाई नै पछाडि सारेको छ । यसअघि प्रतिकूल मौसमका कारण जिल्ला अधिवेशन पछाडि सारेको एमालेले उपनिर्वाचनका कारण अझै पछाडि धकेल्ने निधोमा पुगेको हो ।

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले उपनिर्वाचनको कारण एमालेको केन्द्रीय निर्वाचन विभागले जिल्ला अधिवेशनलाई उपनिर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको जानकारी दिए । उपनिर्वाचनको लागि एमालेले आन्तरिक गृहकार्य सुरु गरिसकेको प्रदेश अध्यक्ष जैशीले जानकारी दिए ।

अघिल्लो प्रदेश सभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडा पराजित भएका थिए । कांग्रेस माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सम्मिलित सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहसँग ओखेडा पराजित भएका थिए ।

अघिल्लो हारलाई शक्तिमा बदल्न एमाले लागिपरेको हो । एमालेभित्र पुनः अफिलाल ओखेडाको नाम चर्चामा छ । संविधान सभा सदस्यसमेत भइसकेका ओखेडा एमालेको केन्द्रीय सदस्य पनि हुन् ।

ओखेडासँगै एमाले बझाङ जिल्ला अध्यक्ष दमन भण्डारीको नाम पनि चर्चामा रहेको प्रदेश अध्यक्ष जैशी बताउँछन् ।

फेरि जित पोल्टामा पार्न माओवादीलाई फकाउँदै कांग्रेस
अर्कोतिर सत्तारुढ गठबन्धनभित्र पनि आन्तरिक तयारी सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पकड क्षेत्रको लिँदै पुनः जित सुनिश्चित गर्ने रणनीतिमा लागेको छ । कांग्रेसभित्र हाल दुई जनाको नाम चर्चामा छ । कांग्रेसका एक थरी नेता निधन भएका पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहलाई अगाडि सार्नुपर्ने पक्षमा छन् । अर्कोथरी नेताहरु कांग्रेसको महासमिति सदस्य जगत प्रसाद जोशीलाई अगाडि सार्नुपर्ने पक्षमा देखिएका छन् ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहले स्वर्गीय सिंह वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार भइ निर्वाचित भएकाले पुनः गठबन्धनकै आधारमा उम्मेदवार तय गर्नुपर्ने बताउँछन् ।

कांग्रेसले माओवादीलाई विश्वासमा लिएर आफ्नै पोल्टामा जित पार्न प्रयास गरिरहेको बताइन्छ ।

अस्तित्वको लडाइँमा माओवादी
सत्तारुढ घटक माओवादी केन्द्रभित्र पछिल्लो समय गठबन्धन गरेर चुनावमा जाने वा एकल रुपमा जानेबारे बहस छेडिएको छ । अघिल्लो दुई पटकको आमनिर्वाचनदेखि कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा भोगेको पराजयपछि माओवादीभित्र कांग्रेससँगको गठबन्धन फलदायी नभएको भन्दै बहस चलिरहेको हो ।

यसैबिच इलाममा एकल रुपमा निर्वाचनमा लड्ने आवाज उठिरहेको बेला बझाङमा पनि एकल रुपमा जानुपर्ने भन्दै माओवादीका एकथरी नेताहरु लागेका छन् ।

२०७४ को आमनिर्वाचनमा एमालेसँगको गठबन्धन हुँदा एमालेका अर्जुनबहादुर थापाले टिकट पाए । थापा प्रदेशसभाको सभामुख पनि भए । अघिल्लो निर्वाचन २०७९ मा कांग्रेससँग माओवादीले गठबन्धन गर्दा कांग्रेसका पृथ्वीबहादुर सिंहले टिकट पाउँदा माओवादीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।

माओवादी केन्द्रबाट उपनिर्वाचनमा आकांक्षी देखिएका संविधानसभा सदस्य तथा माओवादी केन्द्र सुदूरपश्चिम सचिव जनक बुढा भन्छन्, ‘दुई पटक निर्वाचन भइसक्यो । तर हाम्रा मान्छेले हाम्रो चुनाव चिह्नमा तथा उम्मेदवारलाई भोट हाल्नै पाएका छैनन् । हाम्रोमा भोट हाल्नै भुलिसकेका छन् । अझै पनि यस्तै हुने हो भने बझाङमा पार्टी विघटन गरे फरक पर्नेवाला छैन ।’

पार्टीको अस्तित्वको लागि पनि अब एकल रुपमा चुनावमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

माओवादीको जस्तै आन्तरिक विवाद र बहस एकीकृत समाजवादीमा पनि देखिएको छ । पार्टीको अस्तित्व जोगाउने वा अरुलाई बोकेर जाने भन्ने बहस एकीकृत समाजवादीभित्र देखिएको छ । तर आन्तरिक दबाबका बिच पनि गठबन्धन जारी रहेकाले गठबन्धनकै साझा उम्मेदवार बनाउनुपर्ने समाजवादीका सुदूरपश्चिम अध्यक्ष हर्क बहादुर सिंहको भनाइ छ ।

उपनिर्वाचनमा समाजवादीका केन्द्रीय सदस्य एवं बझाङ इन्चार्ज दिलबहादुर सिंहले पनि उम्मेदवारीको आकांक्षा व्यक्त गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप