विशाल योगफल बनाएको नेदरल्यान्ड्सले नामिबियालाई हरायो
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । जारी शृंखलामा नेदरल्यान्ड्सको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो । कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो ।
नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।
यसका अतिरिक्त जारी शृंखलामा कुनै पनि टोलीले बनाएको पनि यो सबैभन्दा ठूलो योगफल हो । नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले एक सय ३५ रन बनाएका थिए ।
जारी शृंखलामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन पनि हो । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकी पाली खेलेका थिए ।
साइब्रान्डले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएका थिए । तेजा निदामनुरुले पनि टोलीको खातामा १८ रन थपेका थिए । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८८ रनमात्र बनाउन सक्यो । ठूलो लक्ष्य पछ्याएको नामिबियाका दुबै ओपनर सस्तैमा पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकले सर्वाधिक ४२ रन बनाए ।
नामिबियाका लागि तल्लो क्रमका ब्याट्सम्यान जेन ग्रिनले पनि अविजित ४२ रनको योगदान गरे । उनले केवल २० बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । नामिबियाका लागि जिन पियर कोट्जीले २६ रन बनाए ।
नेदरल्यान्ड्सका बलर टिम भान डर गगटेनले दुई विकेट लिए । जारी शृंखलामो दोस्रो खेल खेलेको नामिबियाको यो पहिलो हार हो । यसअघि शृंखलाको उद्घाटन खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो । दुई खेल खेलेको नेपालले भने हालसम्म जित हात पार्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण