शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘म पनि विदेश जाँदै छु’

शुक्रबार, १८ फागुन २०८०, ११ : १०
शुक्रबार, १८ फागुन २०८०

कक्षा ५ मा पढ्दा शिक्षकले कक्षाकोठामा सबैलाई सोधेका थिए— तिमीहरू ठूलो भएपछि के बन्छौ ? विद्यार्थीबाट अनेक जवाफ आए— डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, कलाकार, गायक, नायक आदि–इत्यादि बन्छु । कतिले ‘विदेश जान्छु’ पनि भनेका थिए । 

म केही बोलेकी थिइनँ । शिक्षकले मलाई इङ्गित गर्दै सोधे, ‘अनि तिमीचाहिँ के बन्छ्यौ त ?’ मैले जुरुक्क उठेर भनेँ, ‘सर ! म त सरकारी कर्मचारी बन्छु ।’ 

यसो भन्ने कक्षा कोठाभरि म मात्रै थिएँ । सरले अचम्भित हुँदै भने, ‘ए ! सरकारी जागिरे बन्ने तिमी ! राम्रो विचार ।’

एउटा साथीले कराउँदै भने, ‘सर ! मेरो बाबाले भन्नुभएको— सरकारी जागिर गर्ने मान्छे त नराम्रा हुन्छन् रे । अरूको पैसा पनि खान्छन् रे ।’ 

मैले जवाफ दिएँ, ‘मैले अरूको पैसा खादिनँ, देशका लागि राम्रो काम गर्छु ।’ 

शिक्षकले भने, ‘जे बने पनि असल बन्नू ।’ 

सानै उमेरदेखिको सरकारी जागिरे बन्ने सपनालाई साकार पार्न कक्षा १२ उत्तीर्ण भएदेखि नै मैले तयारी गर्न थालेँ । पहिलोपल्ट नासुको परीक्षामा सफल हुन सकिनँ, त्यसपछि भूगर्भशास्त्र विषय लिएर स्नातक तहमा भर्ना भएँ । लोकसेवाको न कहिल्यै समयमा परीक्षा हुन्थ्यो, न त नतिजा प्रकाशित । फारम भरेको दुई वर्षमा बल्लतल्ल परीक्षा भए पनि नतिजा प्रकाशन हुन फेरि अर्काे एक–डेढ वर्ष लाग्ने । स्नातक तह अध्ययनरत हुँदासम्म मैले दुईपटक परीक्षा दिएँ तर सफल हुन सकिनँ । इच्छा र सपना अझै मरेको थिएन, स्नातक सकिएपछि आफ्नै मूल विषयअन्तर्गत सरकारी सेवामा कार्यरत हुने चाहना बढ्दै थियो । दुर्भाग्यवश, मेरो स्नातक नसकिँदै भूगर्भशास्त्रअन्तर्गतको सरकारी सेवाका लागि न्यूनतम योग्यता नै स्नातकोत्तर हुनुपर्ने नियम बन्यो । त्यसपछि स्नातकोत्तरको पढाइ सुरु गरियो । 

सामान्य प्रशासनतिरको परीक्षामा पनि फारम भर्दै थिएँ, सरकारी जागिरे बन्ने सपना जो थियो तर सफलता मिलिरहेको थिएन ।  अहिले स्नातकोत्तर सकिनै लागेको छ, शोधपत्र मात्र बाँकी छ । हुन त दुई वर्षमा सकिनुपर्ने तीन वर्ष हुन लाग्दा पनि सकिएको छैन । सेमेस्टर प्रणालीमा अध्ययन हुने विषयकै हालत यस्तो छ विश्व विद्यालयमा !  यसै कारण यसपालि पनि अधिकृत स्तरको विषयगत लोकसेवाको परीक्षा दिन नपाइने भइयो । 

भर्खरै नायबसुब्बा स्तरको विज्ञापनमा दुईजना भूगर्भशास्त्री मागेको देखेँ । मनमा झिनो आशा पलाइरहेको छ, परीक्षाको तयारी गरिरहेकै छु । कहिलेकाहीँ आत्मविश्वास नै हराउँछ, जम्मा दुईजना त मागेको छ ! यसमा भिड््न कति वर्ष अघिदेखि तयारी गरिरहेका आउने होलान्् । म त पहिलोपटक कोसिस गर्दै छु । त्यही पनि यो मौकालाई हातबाट उम्किन नदिन प्रयास गर्दै छु । 

दिनहरू बित्दै छन्, अब विवाह गर्नुपर्ला । घर परिवर्तन, थर परिवर्तन भएपछि मैले बुवाआमालाई खुसी बनाउन देखेका सपना पूरा गर्न सकँुला कि नसकुँला ! यो पनि चिन्ता छ ।

उमेर पनि बिस्तारै बढ्दै छ । सोच्दै छु, सक्दो प्रयास गर्दा पनि सफल हुन सकिनँ भने अब के गर्ने ? फेरि एक–डेढ वर्ष लोकसेवाको परीक्षा भन्दै कति बस्ने ? आफन्त र छर–छिमेकीले घरमा बाआमालाई भन्ने गर्छन्—  त्यत्रो डिग्री पढेकी छोरी छ, अब केको चिन्ता ! जागिर राम्रै गरेकी होलिन्, आम्दानी राम्रै होला क्यारे । बाहिरबाट हेर्नेलाई घरको भित्री कुरा के थाहा होस् । 

प्राइभेट कम्पनीमै जागिर गरौँ भने पनि जागिर पाउन कहाँ सजिलो छ र यो देशमा ! चिनेको दुई–चार ठाउँमा बायोडाटा नबुझाएको होइन, तर आफन्ती र इष्टमित्रहरू भनेका मुखले ठिक्क पार्ने मात्रै हुँदा रहेछन् । हिजो नपर्दासम्म सबैले भन्थे— ‘म सहयोग गरिहाल्छु नि, पहिले पढाइ सक ।’ अहिले आएर सबै टाढा भएका छन् । 

दिनहरू बित्दै छन्, अब विवाह गर्नुपर्ला । घर परिवर्तन, थर परिवर्तन भएपछि मैले बुवाआमालाई खुसी बनाउन देखेका सपना पूरा गर्न सकँुला कि नसकुँला ! यो पनि चिन्ता छ । 

त्यसैले अहिलेको अवस्था देख्दा यस्तो लाग्छ, त्यो बेला बालमस्तिष्कमा सरकारी जागिरे बन्ने सपना किन आयो होला ? सरकारी सेवामा आबद्ध भएर देशको सेवा गरी देशमै जीवन बिताउने त्यो बाल्यकालदेखिको सपना अहिले तुहिँदै गइरहेको छ । १२ सकाएर अस्ट्रेलिया, अमेरिका गएका साथीहरूको ठुलै प्रगति भइसक्यो । देशको अवस्था देख्दा अहिले नै झिटी–गुन्टा कसेर यो देशबाट टाढा पुग्न पाए हुन्थ्यो झैँ हुन्छ । 

समय बित्दै छ, परिवारका लागि गर्नुपर्ने कर्तव्य धेरै बाँकी छन् । घामपानी, दिनरात केही नभनी मेरै भविष्यका लागि जीवन समर्पण गर्नुभएका बुबा–आमाका लागि केही नभए नि काठमाडौँमा एउटा सानो घर बनाइदिने धोको छ । अनि भन्न मन छ— अब आराम गरेर बस्नुस्, हामी छौँ नि !

आफ्नै वर्तमान र भविष्यका बारेमा पनि सोच्नैप¥यो । आजसम्म पुस्तक पढ्दैमा जीवन बिते । देशको अवस्था हेर्दा लाग्छ, कतै सरकारी जागिर आकाशको फल आँखा तरी मर जस्तो हुने त होइन ! त्यसैले अब स्नातकोत्तरको शोधपत्र सकिनासाथ परदेश जाने सोचमा छु । अब पनि लोकसेवा र सरकारी जागिर भनेर नबस्ने सोचेकी छु । केही समयअघिसम्म मैले अरूलाई भन्थेँ— परदेशी नहोऊ, देशमै केही गर्नुपर्छ । 

के गर्छाै भनेर कसैले सोध्दा अचेल यी ओठले भन्न थालेका छन्, ‘म पनि विदेश जाँदै छु, प्रकिया पूरा हुँदै छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजिता पन्त
सुजिता पन्त
लेखकबाट थप