सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्दै बंगलादेश, नेपाल प्राथमिक्तामा

मङ्गलबार, २२ फागुन २०८०, १७ : ३२
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । बंगलादेशले छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्ने प्रक्रिया अघि बढाएको छ । बंगलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्री नसरुल हमिदका अनुसार आन्तरिक माग धान्नका लागि छिमेकी मुलुकबाट ठूलो परिमाणमा बिजुली खरिद प्रक्रिया अघि बढाउने भएको हो ।

उनले बंगलादेश र भारतले आपसी सहकार्य गर्नका लागि पर्याप्त अवसर रहेको समेत बताए । ‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्न चाहन्छौँ,’ उनले भने, ‘नेपाल र भुटानबाट बिजुली आयातको प्रक्रियामा समेत अन्तिम चरणमा छ ।’

बंगलादेशको ढाका ट्रिब्यूनका अनुसार नेपाल र बंगलादेशबिच ४० मेगावाट बिजुली किनबेचको सम्झौता आगामी महिना हुने सूचना भारतीय पक्षलाई मन्त्री हमिदले दिइसकेका छन् । यसबाहेक, भारतको जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट बिजुली किन्ने प्रक्रिया समेत अन्तिम चरणमा छ ।

भारतीय कम्पनीको माध्यमबाट नेपालबाट किन्ने ५०० मेगावाट बिजुली नवीकरणीय ऊर्जा हो । बंगलादेशले भारतको मेघालयम, त्रिपुरा र आसामको प्रसारणलाइन प्रयोग गरेर बिजुली किन्नेगरी छलफल गरिरहेको छ । ‘हामी छिमेकी मुलुकसँगको कनेक्टिभिटीलाई जोड्न चाहन्छौँ,’ मन्त्रीले भने, ‘यसका लागि भारतीय सहकार्य चाहिन्छ ।’

भारतले नेपालसँग हुने बिजुली किनबेचका लागि ‘डेडिकेटेड प्रसारणलाइन’ निर्माणमा सहयोगी भूमिका खेल्नेमा बंगलादेश आसाबादी रहेको बताइएको छ । यसबाट भारतलाई समेत फाइदा पुग्ने बंगलादेशको आँकलन छ । -ढाका ट्रिब्यूनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप