आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी कल्याणकारी कोषले पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै महानिरीक्षकलाई ज्ञापनपत्र

बुधबार, २३ फागुन २०८०, १७ : ५५
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणका लागि एकदमै कम रकम दिने गरेको भन्दै असन्तुष्टि जनाएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पूर्वप्रहरी संगठनले प्रहरी कल्याण कोषमा पूर्व प्रहरीहरूको ६० प्रतिशतभन्दा बढी योगदान हुँदाहुदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम मात्र छुट्याई ठुलो रकम हिनामिना भइरहेको बताएको हो । 

‘मूल धनसमेत मासेर कमिसनका लागि ट्याङ्क, जमिन, उपकरण आदि किन्ने र पेट्रोल पम्पहरू लगाई कोषको दुरुपयोग गर्ने काम भएको छ भन्ने बाहिर चर्चा रहेको छ जसको एक उदाहरण पूर्व प्र.म.नि. तथा कोषका संरक्षक ओमविक्रम राणालाई अदालतबाटै कल्याण कोषको दुरुपयोग बापत जेल सजाय भएबाटै पनि प्रमाणित भएको छ,’– पूर्वप्रहरी संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रहरी कल्याण कोषबाट मूल धन नमासी सो कोषको व्याजबाट मात्रै कल्याणका कामहरू गर्नुपर्नेमा मूल धनबाटै जथाभाबी  र बदनियतपूर्वक लगानी हुन थालेको पूर्व प्रहरी संगठनको निष्कर्ष छ ।

नेपाल भूतपूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष वसन्तराज कुँवरले कल्याणकारी कोषमा नेपाली सेनाको ७६ अर्ब, सशस्त्रको ४ अर्बभन्दा माथि हुँदा ३२ वर्षमा नेपाल प्रहरीको ४ अर्बमात्र हुनुले भ्रष्टाचार र अपचलनको आशङ्का गर्ने ठाउँ प्रशस्त रहेको बताए । 

नेपाल प्रहरीको कल्याणकारी कोषले पूर्व प्रहरीहरूका लागि थोरै रकम छुट्याउँदा स्वास्थ्य सेवामा असर परेको उनको भनाइ छ । ‘यो समस्या कहाँबाट आयो भने पूर्व प्रहरीहरूले आफ्नो अस्पतालमा पैसा तिर्नुपर्‍यो । पूर्व प्रहरीहरू ४५ हजार जति पेन्सन खाने छन् । अरू २० हजार बिचमै छाडेका छन् । पूर्व प्रहरीहरूलाई उपचारमा किन पैसा तिर्नुपर्‍यो त भन्दा त्यहाँ कल्याण कोषबाट २ करोड मात्रै दिएको रहेछ,’– उनले भने ।

उनले प्रहरीको उक्त प्रकरणलाई ललिता निवासजस्तै अर्को प्रकरणको संज्ञा दिए । आफूहरूले कोषको उक्त पैसा के–कसो हो छानबिन गह्रौँभन्दा छानबिन समिति गठन गर्नसमेत कोही तयार नभएको बताए ।  आफूहरूले पटक–पटक पूर्वप्रहरीहरूको हकमा कल्याण कोषबाट न्यायोचित वितरण गरियोस् भनी प्रहरी प्रधान कार्यालयमा पत्राचार गर्दा पनि मागहरू सम्बोधन नभएको उनले बताए ।  आफ्ना वर्गमाथि प्रहरी कल्याणकोष व्यवस्थापन सञ्चालक समितिले घोर अन्याय गरेको पूर्व प्रहरी संगठनको ठहर छ । 

आफूहरूले आजकै मिति बाट “प्रहरी कल्याण कोषको न्यायोचित वितरण गर’’ भन्ने नारासहित देशव्यापी आन्दोलन र विरोध कार्यक्रम अघि बढाएको अध्यक्ष कुँवरले बताए । पूर्व प्रहरी संगठनले देशका सबै जिल्ला प्रशासन कार्यालय र अन्य कार्यालयमार्फत प्रहरी महानिरीक्षकलाई ६ बुँदे माग पेश गर्न लागेको उनले बताए । 

Retired Police Organization-1Retired Police Organization-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप