बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बुधबार, २३ फागुन २०८०, १९ : ५४
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति रासहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् ।  योसँगै मन्त्रीमण्डल २० सदस्यीय बनेको छ ।  

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएको छन् । यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ । 

sapath

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् । 

यता रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने गरी कार्यविभाजन भएको छ । 

नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बनेका छन् ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुङ्गिएका छैनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप