सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

साना दलसँग कांग्रेस : बीआरआई विवादले गठबन्धन भत्कियो, लोकतान्त्रिक शक्ति मिलौँ

ओली नयाँ गठबन्धनमा असन्तुष्ट रहेको बुझाई, एमालेसँग सहकार्य गर्न साना दलको सुझाव
बुधबार, २३ फागुन २०८०, २० : ५५
बुधबार, २३ फागुन २०८०

काठमाडौं । सत्ताविमुख नेपाली कांग्रेसले नयाँ गठबन्धन बाहिर रहेका साना दलसँग छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भत्काएर नेकपा एमालेको हात थामेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार अपराह्न जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरे ।

छलफलका लागि आफ्नो निवास बूढानीलकण्ठ पुगेका जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नाउपाका अध्यक्ष रेशम चौधरीसँग देउवाले सहकार्यको प्रस्ताव समेत गरेका हुन् । नाउपाका अध्यक्ष चौधरीका अनुसार देउवाले वैकल्पिक गठबन्धन बनाउने गृहकार्य भइरहेको भन्दै सहयोग मागेका थिए । राउत, ठाकुर र चौधरीले देउवाको प्रस्तावमा आफू सकारात्मक रहेको जवाफ दिएका थिए । 

छलफलमा नाउपाका अध्यक्ष चौधरीले कांग्रेस र एमाले सहकार्य गरेर जान जोड दिएका थिए । अध्यक्ष चौधरीले भने, ‘उहाँले (देउवा) सहयोग माग्नु भयो । हामी साना दलको सहयोग त रहला । तर, पनि स्थिर सरकारका लागि एमालेसँग सहकार्य गर्नुस् । साना तिना दललाई जोडेर भ्यागुताको धार्नी पुर्‍याउने जस्तो काम गर्नु उचित हुँदैन भन्यौँ ।’

लोसपाका अध्यक्ष ठाकुरले प्रचण्डको धोकालाई गम्भीर रूपमा लिएर कांग्रेस मुभ हुनुपर्ने बताएका थिए । जनमत पार्टीका अध्यक्ष राउतले वैकल्पिक गठबन्धनको गृहकार्यका लागि छलफल भएको रातोपाटीलाई बताए । ‘वैकल्पिक गठबन्धनको आधार बनाउँदै जाऔँ भन्ने छ । देश नै सङ्कटमा परिराखेका हुनाले वैकल्पिक गठबन्धनको आवश्यकता छ,’ उनले भने । सबै लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन कांग्रेस अग्रसर हुनुपर्ने आफ्नो सुझाव रहेको राउतले बताए ।

  • बीआरआई विवादले गठबन्धन भत्कियो

जनमत, लोसपा र नाउपासँगको छलफलमा माओवादीसँग चिनियाँ परियोजना बीआरआईका विषयमा विवाद हुँदा गठबन्धन भत्किएको कांग्रेसको बिफ्रिङ थियो । राउतका अनुसार बीआरआइलाई ऋणका रूपमा नभई अनुदानका रूपमा मात्र लिने कुरामा कांग्रेसले अडान लिएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेको कांग्रेसको भनाई थियो ।

कांग्रेसका कारण गठबन्धन भत्किएको भनेर प्रधानमन्त्री प्रचण्डले कपोलकल्पित आरोप लगाएको कांग्रेसको तर्क थियो । राष्ट्रियसभा अध्यक्ष, मन्त्री हेरफेर र प्रधानमन्त्रीको आलोपालोमा समय थप्न तयार हुँदा पनि प्रचण्ड ब्याक नभएको कांग्रेसले उनीहरूलाई सुनाएको थियो ।

प्रधानमन्त्री प्रचण्डले मुलुकलाई कम्युनिस्ट लबीमा पुराएको भन्दै लोकतान्त्रिक दलहरू मिलेर जानुपर्नेमा आफूहरूले जोड दिएको राउतको भनाइ थियो । नयाँ गठबन्धनको केन्द्रदेखि प्रदेशसम्मकै सरकारमा जनमत सहभागी नहुने उनको भनाइ छ । 

राउतका अनुसार कांग्रेस वैकल्पिक गठबन्धन बनाएर नयाँ सरकार बनाउने मुडमा छ । छलफलमा कांग्रेस नेताहरूले नयाँ गठबन्धनको भविष्य नरहेको विश्लेषण सुनाएका थिए ।

  • एमालेसँग छलफल थाल्ने

एमालेसँगको सहकार्यका लागि पनि कांग्रेसले पहल थाल्ने नेताहरूले बताएका छन् । ‘ओलीजीलाई गठबन्धन भत्काउनु थियो । त्यसमा उहाँ सफल हुनुभयो । तर, नयाँ गठबन्धनमा उहाँ खुसी हुनुहुन्छ जस्तो छैन । एमालेले पठाएका मन्त्री हेर्दा पनि त्यो देखिन्छ,’ कांग्रेस नेताहरूको भनाइ थियो । 

एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको छ । चौधरीका अनुसार गृह, अर्थ, परराष्ट्र, ऊर्जा जस्ता पावरफुल मन्त्रालय छाड्नुले एमालेले प्रचण्डलाई लामो समय नबोक्ने कांग्रेसका नेताहरूको विश्लेषण छ । नयाँ गठबन्धन बनाउन भूमिका खेलेका एमाले नेताहरू सरकारमा सहभागी छैनन् । आज मन्त्री परिषद् विस्तार हुँदा एमाले अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल उपत्यका बाहिर थिए । ‘गठबन्धनको मर्म बुझेको मान्छे सरकारमा गएको छैन । प्रधानमन्त्रीसँग डिल गर्न सक्ने मान्छे सरकारमा नपठाउनुले ओलीको उद्देश्य के छ भन्ने देखिन्छ । एमालेसँगको सहकार्यका लागि हामी तयार छौँ । एक तहको छलफल सुरु हुन्छ,’ चौधरीले कांग्रेसका नेताहरूको भनाइ सुनाए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए । कांग्रेससँग सहकार्य गरेर जान जनमत, नाउपा र लोसपा सकारात्मक देखिएको उनको भनाइ छ । 

  • नाउपाले कांग्रेससँग पनि माग्यो मुख्यमन्त्री

छलफलमा नाउपाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएको थियो । नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको विषयलाई बटमलाइन बनाएको छ । यसअघि एमाले-माओवादीसहितको गठबन्धनमा पनि उसको सोही दाबी थियो । 

कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा नाउपा पनि सहभागी छ । सुदूरपश्चिम प्रदेशमा नाउपाको समर्थन बिना नयाँ गठबन्धनको सरकार बन्ने अवस्था छैन ।

बहुमतका लागि २७ सांसद चाहिनेमा एमालेका १०, माओवादीका (सभामुख बाहेक) १० र एकीकृत समाजवादीका ४ गरी  २४ जना मात्र सांसद छन् ।

गठबन्धनबाहिर कांग्रेसका (एक सिट खाली) १८, नाउपाका ७, राप्रपाका १ सांसद र एक जना स्वतन्त्र सांसद छन् । नाउपाले साथ नदिएको अवस्थामा नयाँ गठबन्धनलाई सरकार बनाउन राप्रपा र स्वतन्त्र सांसदको समर्थन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप