शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०२३ मा १ हजार २ जना बालिका बलात्कृत, ३ सय ७३ जनामाथि यौन दुर्व्यवहार

बिहीबार, २४ फागुन २०८०, २० : १८
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ ।  इन्सेकले गरेको अभिलेख अनुसार नेपालमा सन् २०२३ मा १ हजार ४ सय ४६ जना बालिका पीडित भएका छन् । जसमध्ये बलात्कारका घटनामा १ हजार २ जना, यौन दुर्व्यवहारका घटनामा ३ सय ७३ जना, बेचबिखन तथा ओसारपसारका घटनामा ४३ जना र बाल विवाहका घटनामा २८ जना बालिका पीडित भएको अभिलेख गरिएको जानकारी दिइएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त रूपमा आयोजना गरेको ‘महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरण’ सम्बन्धी अन्तर्क्रियामा प्रस्तुत प्रतिवदेनमा सन् २०२३ मा बेचबिखन तथा ओसारपसारका घटनामा ३० जना, बेचबिखन तथा ओसारपसार प्रसासका घटनामा २५ जना, घरेलु हिंसाका घटनामा ४ हजार ९ सय ६३ जना, ‘बोक्सी’को आरोपका घटनामा २५ जना, बलात्कारका घटनामा ६ सय ५१ जना, बलात्कार प्रयासका घटनामा १ सय ५२ जना, यौन दुर्व्यवहारका घटनामा ५४ जना महिला पीडित भएको उल्लेख छ ।

image002

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार र न्यायिक प्रक्रियाबारे समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले घरपरिवार र आफन्तबाटै महिला र बालिका पीडित हुने गरेका घट्ना सार्वजनिक भएकामा चिन्ता व्यक्त गरे ।

image003

कार्यक्रममा मानव अधिकार आयोगकी सदस्य लिली थापाले विभेद अन्त्य गर्न महिलाको हातमा शक्ति पुर्‍याउनुपर्ने बताइन् । उनले महिलाको क्षमता र दक्षता बढाउन लगानी गर्नुपर्नेमा जोड दिइन्। आयोगका सदस्य मनोज दवाडीले साधनस्रोतमा महिलाको पहुँच बढाउनुपर्ने बताए ।

कार्यक्रममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पीडितको संरक्षणमा संवैधानिक आयोगहरूले ध्यान दिन जरुरी रहेको बताए । उनले पीडित महिला र बालिकासँग सम्बन्धित घटनाबारे जानकारी दिँदा गोपनियतालाई ध्यान दिनुपर्नेमा सो हुन नसकेको बताए । 'पीडितको नाम ठेगाना त गोप्य राख्नु पर्नेमा फोटो नै सार्वजनिक हुँदा पीडित र पीडितका परिवारलाई थप पीडा हुन्छ । यतातिर सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु,' अध्यक्ष अर्यालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप