सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी संकट

कोशीका सहकारीमा जीबी राईको ‘कनेक्सन’ !

शुक्रबार, २५ फागुन २०८०, १३ : ५२
शुक्रबार, २५ फागुन २०८०

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको तुलसी बहुउद्देश्यीय सहकारीका सञ्चालक समिति अध्यक्ष केदारनाथ शर्मा र सुनसरी, इटहरीको अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर पनि सहकारी घोटाला प्रकरणमा निकै चर्चामा रहेका जीबी राईबाट दीक्षित रहेको स्रोतले दाबी गरेको छ ।

जीबी राई सहकारीका बचतकर्ताको रकम ठगी गर्ने सबैभन्दा ठुलो गिरोहका नाइकेका रुपमा यतिबेला चर्चामा छन् । प्रहरीले उनको खोजी गर्न इन्टरपोलमा सूचना जारी गरिसकेको छ । कोशी प्रदेशमा पनि उनको ‘कनेक्सन’बारे अध्ययन भइरहेको छ ।

कोशी प्रदेशमा सबैभन्दा धेरै बचतकर्ताको रकम ठगी गर्ने मध्येका हुन् केदारनाथ शर्मा । शर्मा अहिले प्रहरी हिरासतमा छन् । तर, उनले ठगी गरेको रकम फिर्ता पाउने आशामा बसेका बचतकर्ता निरीह छन् । शर्माले ५ हजारभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको बताइन्छ । उक्त रकम कहिले र कसरी फिर्ता हुन्छ भन्नेमा बचतकर्ता अन्योलमा छन् ।

सुनसरीको इटहरीस्थित अम्बे सहकारीका अध्यक्ष फणिन्द्र मगर पनि उनै जीबी राईको चेला रहेको कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय स्रोत बताउँछ । उक्त सहकारीले बचतकर्ताको ६१ करोड रुपैयाँ डुबाएको छ ।

यस्तै, १६ करोड रुपैयाँ डुबाउने रारा बचत तथा ऋण सहकारी संस्थामा पनि उनै जीबी राईबाट दीक्षितहरु हर्ताकर्ता रहेको सो कार्यालय स्रोतको दाबी छ । जीबी राई उदयपुरका स्थानीय हुन् । त्यसैले कतिपयले उनकै शैलीलाई पछ्याएर सहकारीलाई डुबाएको सहकारी रजिष्ट्रार कार्यालय स्रोत बताउँछ ।

‘उदयपुरको कुनै पनि संस्था राम्रो छैन । धरानमा पनि त्यही समस्या हो । युवा स्वरोजगार कोषको पैसा लगेका उदयपुरका सबै संस्थाले डुबाएको मात्रै रेकर्ड भेटिन्छ,’ उक्त स्रोतले भन्यो ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा युवा स्वरोजगार कोष निर्माण भएको थियो । सो कोषको पैसा उदयपुरका धेरैजसो सहकारी संस्थाले लगेका थिए । ‘त्यहाँ धेरैजसो सहकारी संस्थाका हर्ताकर्ताहरु नै ठगीमा रहेको जस्तो लाग्छ । त्यहाँको अवस्था एकदमै अप्ठ्यारो छ । अहिले रजिष्ट्रार कार्यालयमा पनि दुई वटा निवेदन परेका छन् । त्यसमा जोडिएका मानिस पनि सहकारीका अभियानकर्ता नै छन्,’ स्रोतले दाबी गर्यो ।

सहकारीहरु सुदखोर जस्ता भएको सहकारी रजिष्ट्रार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्री बताउँछन् । ‘सहकारीमा सुदखोरहरुको पैसा राख्न दिनुहुँदैन । अहिलेसम्म सहकारीवालाले पनि सुदखोरको पैसा राखिदिए, कालोधन लुकाउन सहकारी माध्यम भए । कस्तो पैसा राख्ने, कस्तो नराख्ने उनीहरुले थाहा नै पाएनन्,’ खत्रीले भने ।

आज सहकारीमा संकट किन आयो भन्ने कुरा सहकारीकै सदस्यहरूलाई थाहा हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘संस्थामा नीति बनाउने, विधि, बजेट र कार्यक्रम बनाउने कुरामा सदस्यहरुको भूमिका नै कमजोर भयो ।’

संकटमा परेका सहकारीहरुमा जीबी राईको प्रत्यक्ष ‘कनेक्सन’ अहिलेसम्म भेटिएको छैन तर कुनै न कुनै रुपमा ‘कनेक्सन’ हुनसक्ने खत्री स्वीकार गर्छन् । ‘जीबी राईको कनेक्सन हुनसक्छ । हामी खोजी गरिरहेका छौँ,’ उनले भने ।

खत्रीले सहकारीको आत्मा नै मरिसकेको दाबी पनि गरे । ‘अब त सहकारी प्यारालाइज भयो । साधरणसभामा विषय प्रवेश नै हुँदैन । भव्य उद्घाटन गर्यो, भाषण गरेर साधरणसभा सकिन्छ,’ उनले भने, ‘२ सय, ३ सय भत्ता लिन सेयर सदस्यहरु लोभिन्छन् तर, लाख डुबेको विचार नै गर्दैनन् ।’

सहकारीको आत्मा भएको भए यस्तो समस्या नै नआउने उनको जिकिर छ । सहकारीको आत्मा मर्नुको कारण कानुन निर्माणदेखि नै जोडिएको उनको भनाइ छ । ‘नेपालको कानुन निर्माणको इतिहासमा सबैभन्दा बढी २७८ वटा संशोधन सहकारी ऐनमै किन परे ? त्यहाँ इच्छाराज तामाङहरु थिए । सबै स्वार्थ समूह रहेका मानिसहरु संसदमा प्रवेश गरेपछि बचतकर्ताको रकम नडुबेर के डुब्छ ? ०४८ सालको सहकारी ऐनमा सहकारीलाई स्वायत्त बनाइयो । तर, स्वायत्त सदस्यहरु नभएर सञ्चालक समितिका सीमित मानिसहरु मात्रै भयो,’ खत्रीले भने ।

उनले सहकारीभित्र गैर सहकारी मानिसहरूको प्रवेशले पनि समस्या आएको दाबी गरे । अहिले आएर अब सहकारी किन चाहियो भन्ने प्रश्न उठ्न थालेको उनको भनाइ छ । ‘यसलाई कसरी सपार्ने भन्नेतिर कसैले सोचेको छैन । अब राष्ट्र बैंकलाई हेर्न दिने हो भने सहकारी किन चाहियो ? बैंक छँदैछन् नि,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप