शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा ओपन हार्ट सर्जरीबाट झिकियो मुटु ढाकेको बाक्लो झिल्ली

शनिबार, २६ फागुन २०८०, ०६ : ३६
शनिबार, २६ फागुन २०८०

विराटनगर । मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरीरको अङ्गहरूमा समस्या आएको मोरङ सुन्दरहरैचा १० का एक जना बिरामीको केही दिन अगाडि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सफल शल्यक्रिया भएको छ । नोबेलको कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले बिरामीको पेरिकार्डियोक्टोमी नामक शल्यक्रिया गरेको हो ।

उनमा करिब चार पाँच महिना अगाडि देखि पेट फुल्लिने, सुन्निने समस्या देखा परेको र हिँडडुल गर्दा थकान हुने भए पछि विभिन्न स्थानमा उपचार गराउँदा ग्यास्ट्रिकको औषधी सुरु भएको थियो । तर समस्या समाधान नभए पछि उनी नोबेल शिक्षण अस्पताल आएका थिए । सुरुमा इण्डोस्कोपी गरिएको थियो तर चिकित्सकले उनलाई एक पटक मुटुरोग विभागमा गई जाँच गर्न सुझाएका थिए । मुटुरोग विभागमा जाँचको क्रममा उनको मुटुमा पानी जमिएको थाहा भयो । 

Dr. Lokesh Yadav

सि. टि. भि. एस. सर्जन डा. लोकेश यादवका अनुसार उनको मुटुलाई बाक्लो झिल्लीले ढाकेको कारण मुटुले राम्ररी काम गर्न नसकेको हुँदा शरीरमा समस्या देखा परेको थियो । यो समस्यालाई कन्स्ट्रीक्टिभ पेरिकार्डाइटिस (Constrictive Pericarditis) भनिन्छ । उपचारको क्रममा सुरुमा डायग्नोष्टिक पेरिकार्डियोटोमी गरियो । पछि ओपन हार्ट सर्जरी (Open Heart Surgery) मार्फत उनको मुटु वरपर भएको बाक्लो झिल्ली हटाउने शल्यक्रिया भयो । यो शल्यक्रियालाई पेरिकार्डियोक्टोमी भनिन्छ । हाल बिरामीको अवस्था सामान्य रहेको र डिस्चार्ज भई सकेको छ ।  

बिरामीहरूमा यस्तो समस्या हुने कारणको बारेमा कुरा गर्दा डा. लोकेश बताउँछन् । यो नेपालमा प्राय क्षयरोगको कारणले हुने गरेको पाइएको छ । विभिन्न सङ्क्रमणले गर्दा पनि यस्तो समस्या उत्पन्न हुन सक्दछ । मुटु र नशा वरपरको झिल्लीले एक किसिमको सुरक्षाको कार्य गर्दछ । तर झिल्ली बाक्लो भएमा मुटु र नशाको तन्किने खुम्चिने कार्य अर्थात् लचकपन कम हुन्छ । अनावश्यक दबाब बढ्न जान्छ । अनि विभिन्न समस्या उत्पन्न हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप