शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माइग्रेन : कारण, लक्षण र रोकथामका उपाय

मङ्गलबार, २९ फागुन २०८०, १६ : १७
मङ्गलबार, २९ फागुन २०८०

माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो । क्रोनिक (लामो समयसम्म रहिरहने) यस रोगका लक्षण बेलाबेला बल्झिरहन्छन्, यो रोग पूर्णरूपमा निको हुन गाह्रो हुन्छ । 

टाउकाको कुनै एक भागमा दुख्नु, टाउकाको फरक–फरक भागमा दुख्नु वा कुनै कुनै बिरामीमा टाउकाको दुवैपट्टि दुख्नु यसका लक्षण हुन् । दुखाइ भने सामान्य हुँदैन । कसैलाई टाउकै  फुट्लाझैँ गरी दुख्छ । टाउको बुरुक्–बुरुक् भएर पनि दुख्छ (बाहिरबाट हेर्दा नसा चलेकै देखिन्छ) । कहिलेकाहीँ आँखाका गेडा, निधारतिर र घाँटीतिर समेत दुख्ने गर्छ । 

माइग्रेनमा टाउको दुखाइका साथै वाक्वाकी लाग्ने; बान्ता हुने; उज्यालो प्रकाश, हल्ला र आवाज सहन नसक्ने; हातखुट्टा चिसो हुने हुन्छ । त्यसैले प्रायः बिरामीलाई अँध्यारो कोठामा कसैसँग नबोली बस्दा र हो–हल्लाबाट एकान्तमा बस्दा आराम भएको महसुस हुन्छ । 

माइग्रेनको टाउको दुखाइमा आँखावरिपरि चम्किला प्रकाशका उज्याला आएझैँ हुने, रिङ्गटा लाग्ने, आँखावरिपरि कालो धब्बा देख्ने वाक्वाकी लाग्ने पनि हुन सक्छ । 

  • कारण

हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लागिसकेको छैन । माइग्रेनको टाउको दुखाइ हो कि होइन भन्ने लक्षणका आधारमा चिकित्सकले पत्ता लगाउन सक्छन् । यसका लागि कुनै पनि निश्चित जाँच छैन । चिकित्सकले गर्ने विभिन्न जाँचमा पनि प्रायः खराबी नदेखिने हुन्छ ।

मानसिक वा शारीरिक तनाव, अनिद्रा, खाली पेट, मद्यपान तथा धुम्रपान, चक्लेटको सेवन, चम्किलो र झिलिमिली बत्तीको उज्यालो, पुरानो अचारको सेवन, चिसो फ्रिजमा राखेका खानेकुराको सेवन, महिनावारी हुँदा हर्मोनको गडबडी आदि विभिन्न कारणले माइग्रेन निम्त्याउन सक्छ ।

बिरामी अनुसार लक्षण फरक–फरक हुन्छ । कमैले मात्र मलाई यही कारणले माइग्रेन भएको भनेर थाहा पाउँछन् । त्यसैले नजिकको स्वास्थ्य संस्थामा गई डाक्टरको परामर्श लिनुपर्छ । 

माइग्रेनमा आफ्नो डाक्टर आफैँ हो भनिन्छ । के खाँदा टाउको दुख्छ, केको बास्नाले टाउको दुख्छ, के गर्दा टाउको दुख्छ, कहिले टाउको दुख्छ— यी कुरा ख्याल गरी त्यसबाट जोगिनाले केही हदसम्म राहत मिल्छ । 

यस्तै,  बढी मानसिक चिन्ता लिनाले, चिया र कफी धेरै पिउनाले र समयमा नसुत्नाले पनि माइग्रेन निम्त्याउन सक्छ भनिन्छ ।

  • के गर्ने ?

१) शान्त र एकान्त ठाउँमा बस्ने । 

२) टाउको दुख्लाजस्तो भयो भने सुत्ने कोसिस गर्ने ।

३) सधैँ ताजा खानेकुरा मात्र खाने । 

४) शारीरिक व्यायाम गर्ने ।

५) पानी प्रशस्त मात्रामा पिउने ।

६) चिकित्सकले दिएको औषधि मात्र प्रयोग गर्ने ।

  • के नगर्ने ?

१) चिसोजन्य कुरा नखाने वा कम मात्रामा खाने । 

२) पुरानो बट्टाको अचार र गाढा चक्लेट कम खाने । 

३) धुम्रपान तथा मद्यपान नगर्ने । 

४) मोबाइल फोन र टीभी लामो समयसम्म नचलाउने । 

५) खालि पेट अथवा भोको नबस्ने ।

६) मनमा धेरै कुरा नखेलाउने । 

७) धेरै हो हल्ला हुने ठाउँमा कानमा एयरफोन लगाएर मात्र जाने । 

८) चर्को घाममा नजाने, जानै परेमा घामबाट जोगिने गरी मात्र निस्किने । 

९) धेरै बास्ना आउने चिज (जस्तै ः पफ्र्युम, जेल, तेल)को बढी  प्रयोग नगर्ने ।

१०) धेरै सोचमग्न भएर नबस्ने, धेरै अनावश्यक चिन्ता नलिने ।

११)  स्वास्थ्यकर्मीको सल्लाहविना औषधि सेवन नगर्ने ।

(लेखक जनरल मेडिसियन हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्करराज जोशी
पुष्करराज जोशी
लेखकबाट थप